काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन् । कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन् । नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू ।
यसै त वसन्त ऋतुमा सिंहदरबारका बगैँचामा फूलहरू ढकमक्क छन् । त्यसैमा अहिलेको सजावटले ‘सुनमा सुगन्ध’ थपिदिए जस्तै भएको छ । यसो हेर्दा लाग्छ, सिंहदरबारमा फुलेका फुलहरू पनि नयाँ सरकारको स्वागतार्थ लामबद्ध छन् ।
निर्वाचनको अन्तिम परिणाम आइसकेको छ र सांसदहरूको शपथ चैत १२ गतेका लागि तोकिएको छ । त्यसलगत्तै सरकार गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहकार्यमै छ । त्यसैले केही दिनमै बन्ने सरकारको स्वागतका लागि सिंहदबारभित्र तयारी भइरहेको हो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मुहार पनि यसै मेसोमा फेरिँदै छ, सिँगारिँदै छ । मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार जेनजी आन्दोलनका बेला टेलिफोनका जलेका टेलिफोनका तारहरू व्यवस्थित हुँदैछन् ।
युवा खेलकुद मन्त्रालयमा पनि नयाँ मन्त्रीको स्वागतका तयार गरिँदै छ ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि नयाँमन्त्रीसँगै नीतिगत कार्य सम्पादनको पर्खाइमा छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर रानामगरले कार्यकारी अर्थात मन्त्री नहुँदा नियमित सामान्य कामसमेत प्रभावित भइरहेको अवस्थामा नयाँ मन्त्रीको स्वागत गर्न मन्त्रालयका कर्मचारी उत्साहित रहेको बताए ।
उनले विगतमा जस्तै भौतिक संरचनाको हिसाबले मन्त्रीकक्ष पूर्ण व्यवस्थित नै रहेको सुनाए । “मन्त्री हुँदा पब्लिक चहलपहल हुने गर्थ्यो । अहिले सुनसान जस्तै छ,” उनले भने ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि जलेको अघिल्लो भाग पेन्टिङ गरेर चिरिच्याट्ट पारिएको छ । मन्त्रालयका एक कर्मचारीले भने “अब नयाँ सरकार आएसँगै चहलपहल बढ्ला, अहिले त सुनसानै छ ।” मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले नयाँ मन्त्रीको आगमनसँगै मन्त्रालयमा सेवाग्राहीले चाप बढ्ने हुनाले आवश्यक सबै तयारी सकिएको बताए । जेनजी आन्दोलनका क्रममा मन्त्रालयको क्षतिग्रस्त भवनको पुनः निर्माण सम्पन्न भइसेको छ । नियमित प्रशासनिक कामबाहेक नीतिगत मन्त्रिस्तर निर्णयका लागि मन्त्रालय प्रतिक्षारत रहेको उनको भनाइ छ ।
जेनजी आन्दोलनले पूर्ण रूपमा क्षति भएको मन्त्रालयमध्ये, बेला रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थियो । भवनको क्षति भएसँगै कार्यालय व्यवस्थित बनाउने सङ्घर्षमै रहेको छ ।
मन्त्रालयको आधा कार्यालय अहिले सिंहदबारस्थित अस्थायी टहरामा सीमित छ । यद्यपि आगामी सरकार गठनले ल्याउने स्वास्थ्यमन्त्रीको स्वागत गर्न मन्त्रालय प्रशासन चुस्त छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार भवन जलेपछि स्वास्थ्य मन्त्रालयको आफ्नो स्थायी संरचना छैन । उनका अनुसार हालका स्वास्थ्यमन्त्री डा सुधा गौतमले आइतबारदेखि अत्यावश्यक कामबाहेक मन्त्रालयमा नियमित उपस्थित नहुने गरी धन्यवाद दिएर बिदा भइन् । आगामी बजेटको तयारीमा लागेको मन्त्रालयले बेलैमा नयाँ मन्त्रीको स्वागत गर्न पाए प्रभावकारी हुने आशा रहेको मन्त्रालयका प्रवक्ता बुढाथोकीको धारणा छ ।
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले नयाँ मन्त्रीको स्वागतका लागि खास तयारी आवश्यक नभएको बताइन् । उनले भवन संरचना पूर्ण तयार रहेकाले पनि तयारी आवश्यक नभएको बताइन् । नियमित प्राशासनिक काम सञ्चालन भइरहेको र नीतिगत कामहरू सम्पादन गर्न मन्त्रीको पर्खाइमा रहेको उनले सुनाइन् ।(रासस)