काठमाडाैँ । फागुन २१ को चुनावी नतिजाले कुनै पार्टीमा रडाको मच्चिएको छ भने त्यो हो– नेपाली कांग्रेस । चुनावमा लज्जास्पद पराजय भोगेपछि कांग्रेसका नेताहरु घात अन्तर्घातको आरोप प्रत्यारोपमा उत्रिएका छन् । आरोप प्रत्यारोप मात्रै होइन, कांग्रेसमा अर्को विद्रोहको तयारी सुरु भएको छ । त्यसको संकेत नेविसंघले गरेको छ । नेविसंघको विद्रोहलाई साथ दिने गरी निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सक्रियता बढाएका छन् ।
अहिले कांग्रेसमा के के पाकिरहेको छ ?
कांग्रेस एउटा पार्टी हो कि दुईटा ? छुट्याउन गाह्रो छ । विशेष महाधिवेशनअघिको कांग्रेस र विशेष महाधिवेशनपछिको कांग्रेस । विशेष महाधिवेशनपछिको कांग्रेसको नेतृत्व गगन थापाले गरिरहेका छन् । थापाकै नेतृत्वमा कांग्रेस चुनावमा गयो । विशेष महाधिवेशनमा सहभागी भएका मात्रै होइन, नभएका नेताहरु पनि गगनको हस्ताक्षरसहितको टिकट लिएर चुनावमा गए ।
एकथरी नेताहरुले त विशेष महाधिवेशनलाई स्वीकार गरेकै छैनन् । चौधौं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा चुनावको आठ दिनअघि सिंगापुर उडे । देउवाले कार्यबाहक दिएका पूर्णबहादुर खड्का चुनावी प्रचारमा कतै निस्केनन् । केबल भोट हाल्न सुर्खेत पुगे । खड्काजस्तै देउवा पक्षीय थुप्रै नेताहरु यो चुनावमा सक्रिय भएनन् ।
चुनाव भयो, प्रत्यक्षतर्फ कांग्रेसले जम्मा १८ सिट जित्यो, समानुपातिकमा २० सिट । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेस ३८ सिटमा खुम्चियो ।
फागुन २१ मा चुनाव, भोलिपल्ट देखि चुनावी परिणाम सार्वजनिक हुन थाल्यो । जब मतपरिणाम सार्वजनिक हुन थाल्यो, एकथरी कांग्रेस निराश देखिन थाले, एकथरी कांग्रेसले खुच्चिङ भन्न थाले । यस्तो अवस्था किन आयो ? थोरै पृष्ठभूमि हेरौं ।
भ्रष्टाचार र कुशासनबाट वाक्क दिक्क भएका नवयुवाहरुले भदौ २३,२४ मा विद्रोह गरे । जेनजी विद्रोहको असर कांग्रेसमा पनि पर्यो र त्यहाँ पनि विद्रोह सुरु भयो । करिव ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको साथ लिएर तत्कालीन महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पुस अन्तिम साता विशेष महाधिवेशन बोलाए । महाधिवेशन भयो । गगन सभापतिमा चुनिए, नयाँ केन्द्रीय समिति बन्यो । तत्कालीन सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनले अपदस्थ गर्यो । पहिलो विद्रोह यही थियो ।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दियो । यसको अर्थ गगन नेतृत्वको कांग्रेसले आधिकारिकता पायो। पुस ३० को मध्यराति विशेष महाधिवेशन सकियो । माघ ६ गते उम्मेदवारी दर्ता, फागुन २१ को चुनाव । समयको चाप र दबाब थियो । तै पनि सबै क्षेत्रमा उम्मेदवारी दियो ।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ को नारा बोकेर चुनावमा गएको कांग्रेसलाई जनताले पत्याएनन् । उल्टै उसको हैसियतलाई जनताले बदलिदिए । रास्वपालाई दुई तिहाई नजिक पुर्याउँदा जनताले कांग्रेसलाई ३८ सिटमा सीमित गरिदिए । स्वयम् बदलिएको कांग्रेसको नेतृत्व गरेका सभापति गगन थापाले नै सर्मनाक हार बेहोर्नु पर्यो ।
गगन आफैं हारे । पार्टी पनि हार्यो । चुनाव सकिएको एक सातापछि उनले पदबाट राजीनामा दिए । राजीनामा पनि यसरी दिए कि, पहिले दिउँ कि नदिउँ भनेर पदाधिकारीहरुसँग सल्लाह गरे, त्यसलाई मिडियाबाजी गरियो । नैतिकता देखाएर राजीनामा दिनु नै थियो भने किन पदाधिकारीहरुसँग सल्लाह गर्नुपर्यो ? किन मिडिया ट्रायल गर्नुपर्यो ?
चुनावी परिणामले गगन पक्ष नाराज छ । सँगै, देउवा पक्ष भने खुसी छ । खुसी यसअर्थमा कि, विशेष महाधिवेशनको औचित्य नै समाप्त भएको देउवा समूहको दाबी छ । चुनावी परिणामका कारण बिलखबन्दमा परेको गगन पक्षलाई दबाबमा राख्न अहिले देउवा खेमा यति सक्रिय भएको छ कि, उसले जुन ठाउँ पायो त्यहीँबाट प्रहार गर्ने रणनीति बनाएको छ ।
पूर्णबहादुर खड्काले दायर गरेको मुद्दा अदालतमा विचाराधीन छ । विशेष महाधिवेशनबाट निर्वाचित पक्षले सानेपामा मुकाम जमाएको छ । यो देउवा पक्षलाई पटक्कै मन परेको छैन । र, उसले थालेको छ– दोस्रो विद्रोहको तयारी ।
कसरी हुँदैछ त कांग्रेसमा दोस्रो विद्रोहको तयारी ?
चैत ६ गते, कांग्रेस केन्द्रीय कार्यालयमा चुनावी समीक्षा बैठक चलिरहेका बेला नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको सिनेट बैठक बोलाए । शेर्पाले सिनेटबाट निर्णय गराए– नेविसंघ अब कांग्रेसबाट स्वायत्त । यसको अर्थ हो– नेविसंघ अब कांग्रेसको भ्रातृ संस्था नरहने ।
नेविसंघ २०२७ सालमा स्थापित कांग्रेसको भ्रातृ संस्था हो । भ्रातृ संस्थाको अर्थ हो– नियन्त्रण र निर्देशनको अधिकार पार्टीमा रहनु । तर, दुजाङले कांग्रेसबाट स्वायत्त गराउने निर्णय गराइदिए । उनको यो निर्णयले सानेपामा हंगामा मच्चिएको छ । यहाँ सम्झिनैपर्ने हुन्छ– दुजाङ देउवा पक्षका हुन् । देउवाले नै दुजाङलाई नेविसंघको अध्यक्ष तोकेका थिए । नेविसंघ कांग्रेसको त्यही संगठन हो, जसले वर्षौंसम्म महाधिवेशन गर्न सकेको छैन ।
यो त नेविसंघको कुरा भयो । कांग्रेसकै केही नेताहरु विशेष महाधिवेशनले अपदस्थ गरेको केन्द्रीय समितिलाई नै सक्रिय बनाउने तयारीमा लागेका छन् । र, त्यसको नेतृत्व गरेका छन्– निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले । उनले देउवा पक्षीय नेताहरुसँग निरन्तर छलफल र बैठक गरिरहेका छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा अहिले स्वदेशमा छैनन् । फागुन १३ मा सिंगापुर गएका उनी केही दिनयता हङकङमा छन् । देउवा सिंगापुर जानुको उद्देश्य दुई वटा थिए । एउटा– चुनाव छल्नु, अर्को– उपचार गर्नु । जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा त्यसअघि पनि सिंगापुर गएर उपचार गराएर फर्केका थिए । सिंगापुरबाट अहिले उनी हङकङ पुगेका छन् । उनी हङकङ किन गए ? उनका सहयोगीहरुले भनेका छन्– केही पारिवारिक काम छन्, थप उपचार पनि हुने छ । पहिले सिंगापुर हुँदा त्यहीँबाट पार्टी सञ्चालन गरे । अहिले हङकङबाट समानान्तर केन्द्रीय समिति सक्रिय गराउन पहल गर्दैछन् । पहल यतिसम्म हुँदैछ कि, विशेष महाधिवेशनबाट अपदस्थ केन्द्रीय समितिको बैठक नै बोलाउने तयारी गरिँदैछ ।
देउवा पक्षीय नेता मीन विश्वकर्माले त अहिले कांग्रेसमा दुई जना सभापति रहेको र दुई वटा केन्द्रीय समिति रहेको सार्वजनिक रुपमा नै बताइरहेका छन् । चौधौं महाधिवेशनबाट निर्वाचित एउटा समिति, जसको नेतृत्व देउवाले गरिरहेका छन्, विशेष महाधिवेशनबाट निर्वाचित अर्को समिति, जसको नेतृत्व गगन थापाले गरिरहेका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित समितिले आधिकारिकता पाइसकेको अवस्थामा देउवा नेतृत्वको समिति सक्रिय हुन मिल्छ त ? देउवा पक्षको दाबी छ– अदालतमा मुद्दा विचाराधीन छ, फैसला आएको छैन । देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले यसअघि अन्तरिम आदेश दिएन, अर्को पेसी चैत २२ का लागि तोकेको छ । देउवा पक्षको आशा छ, अझै पनि अदालतले मान्यता दिन सक्छ, त्यसपछि देउवा नेतृत्वको केन्द्रीय समिति ब्युँतिन्छ, विशेष महाधिवेशनबाट निर्वाचित समिति खारेज हुन्छ ।
तर, देउवा पक्षका नेताहरुले सोचेजति सजिलो छैन । किनभने निर्वाचन आयोगले मान्यता दियो, त्यसलाई सर्वोच्चले उल्टाएन, अनि गगनकै नेतृत्वमा कांग्रेस चुनावमा गयो, गगनकै हस्ताक्षरमा समानुपातिकतर्फ सांसदहरु चुनिए ।
अहिले क्रियाशील पार्टीहरुमध्ये सबैभन्दा पुरानो पार्टी कांग्रेस । व्यवस्था परिवर्तनका लागि कांग्रेसले मुलुकमा पटक पटक विद्रोह र आन्दोलन गर्यो । कांग्रेसले मुलुकमा विद्रोह गरिरहँदा कांग्रेसभित्रै पनि पटक पटक विद्रोह भएका छन् । कहिले नेताले विद्रोह गरेका छन्, कहिले कार्यकर्ताले गरेका छन्, कहिले गुटले गरेका छन् । कांग्रेस त्यसै पनि गुटैगुट भएको पार्टी हो । नेतापिच्छेका गुट छन् । हरेक निर्णयमा गुटका स्वार्थ हुन्छन्, हरेक विषयमा गुटका विश्लेषण हुन्छन् ।
हो, त्यस्तै विश्लेषण अहिले चुनावलाई लिएर भइरहेको छ । विशेष महाधिवेशनका कारण चुनाव हारियो भन्ने देउवा पक्षको दाबी छ । तर, विशेष महाधिवेशन पक्ष भन्छ– चुनावमा सोच्दै नसोचेको अन्तर्घात भयो । देउवा पक्षका नेताहरु चुनावमा सक्रिय नै भएनन्, उल्टै कांग्रेसका उम्मेदवारलाई हराउन लागिपरे । २०७४ को चुनावपछि सत्ता राजनीतिका लािग तत्कालीन नेतृत्व र सरकारले जे जे गरे, त्यसैको नतिजा यो चुनावमा देखिएको नयाँ नेतृत्वको दाबी छ । ती सबै नराम्रा छाप र छवि हटाउन ५० दिन पर्याप्त थिएन भन्ने उसको निष्कर्ष छ ।
गगनको राजीनामा र मिडिया ट्रायल
बदलिएको कांग्रेसका सभापति गगन थापाले चैत ४ गते बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाए । उनले चार गते राजीनामा बुझाए, तर, चर्चा दुई दिनअघि नै भयो । दुई दिनअघि नै गगनले विश्वलाई बोलाएर राजीनामा दिन्छु भने । त्यसको भोलिपल्ट अरु केही पदाधिकारीलाई समेत बोलाएर राजीनामा दिन लागेको बताए । राजीनामा दिनुभन्दा दुई तिन दिन अघिदेखि नै ‘गगनले नैतिकताका आधारमा राजीनामा दिँदैछन्’ भनेर मिडियाहरुमा न्युजको बाढी चल्यो ।
पक्कै पनि चुनावमा पार्टी पराजित हुँदा त्यसको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्छ । यसमा दुईमत रहेन । फागुन २२ देखि नै चुनावी नतिजा आइरहँदा गगन चुपचाप रहिरहे । आफैं हार्दा पनि उनले कुनै प्रतिक्रिया जनाएनन् । जब समानुपातिकतर्फ विजयी उम्मेदवार छाने, त्यसपछि मात्रै उनले राजीनामाको कुरा उठाए । राजीनामाको विषय पनि पहिले मिडियामा आयो, त्यसपछि मात्रै पार्टीमा प्रवेश गर्यो ।
चैत ४ मा राजीनामा दिए, चैत ६ मा केन्द्रीय समितिको बैठक सुरु भयो । चैत ८ मा पनि केन्द्रीय समिति बैठक बस्यो । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले त गगनको राजीनामा स्वीकृत नगर्न ७ बुँदे तर्कसहितको प्रस्ताव नै पेस गरे । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुले पनि विश्वप्रकाशको तर्कमा हो मा हो मिलाए ।
चुनावमा पार्टीले हार्यो । सभापतिले पनि हारे । तर, यस्तो देखियो– सभापतिको नैतिकताले हारेन । हारको जिम्मेवारी पनि लिए, राजीनामा पत्र लेखेर नैतिकता पनि देखाएझैं गरे । आफैंले सर्वसम्मत चयन गरेको केन्द्रीय समितिले राजीनामा स्वीकृत गर्ने सम्भावना नै थिएन । हुने कुरै भएन । कांग्रेसले हारको कारण केलायो । सभापतिमा नैतिकता देख्यो ।
अब कांग्रेसले के गर्छ त ? अहिले कांग्रेसमा जतिसक्दो छिटो पन्ध्रौं महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ । केन्द्रीय समिति बैठकमा पनि यो आवाज उठेकै छ । तर, कहिले ? यसको टुंगो छैन । अघिल्लो केन्द्रीय समितिले आफ्नो म्याद जेठ मसान्तसम्मका लागि थप्दै वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो केन्द्रीय समिति नै छैन । जेठभित्रै महाधिवेशन गर्ने कि मंसिरमा भन्ने विषयमा पनि कांग्रेसमा छलफल सुरु भएको छ । शेरबहादुर देउवा समूह विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई स्वीकार्न अझै तयार भएको छैन । देउवा समूहलाई सहमतिमा ल्याउने प्रयास पनि भएको छैन । के यस्तो अवस्थामा गगन थापा र उनका सारथिहरुले कांग्रेस बचाइरहन सक्लान् ?