नेभिगेशन
समाज
सम्पादकीय

०८२ ले राजनीति फेर्यो, ०८३ ले संस्कार फेरोस्

काठमाडौँ । नेपालीहरुको नयाँ वर्ष २०८३ सुरु भएको छ । आज बिहानको सूर्योदयले नयाँ वर्षसँगै नयाँ आशा, नयाँ सम्भावना र नयाँ सोंचको पनि आरम्भ गरेको छ । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्नु एउटा नियमित प्रक्रिया हो । तर, यसपालिको नयाँ वर्षको आरम्भ नियमित प्रक्रिया मात्रै नभई एउटा विशेष अवसर पनि हो । 

वर्ष २०८२ ले नयाँ आशा र सम्भावनाको ढोका खोलिदिएको छ । परम्परागत सोंच, कार्यशैली र व्यवहारका सट्टा नयाँ सोच, शैली र व्यवहार अवलम्बन गर्न सचेत गराएको छ । परिवर्तनलाई कसैले रोक्न सक्दैन, जसले परिवर्तनलाई स्वीकार गर्न सक्दैन, त्यसलाई समयले पनि साथ दिँदैन भन्ने सन्देश पनि वर्ष २०८२ ले दिएको छ । ०८२ ले नेपालको राजनीति नै उलटफेर गरिदियो । राजनीतिक सन्तुलन नै बदलिदियो । रैतीबाट नागरिक बनेका जनता कसैका दास होइनन्, सार्वभौम नागरिकले आफ्नो भविष्यको निर्णय आफैं लिन सक्छन्, जसले ‘हुकुम’ लाद्न खोज्छन्, उनीहरुलाई जनताले नै लखेटिदिन्छन् भन्ने सन्देश पनि दियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली जनता शान्त छन्, सहनशील छन् । तर, अन्याय सहँदैनन् । यो तथ्य संसारले बुझेको छ । विदेशीले गरेको अन्याय मात्रै होइन, देशभित्रै पनि कुनै शासकले अन्याय गर्छन् भने त्यसविरुद्ध नेपाली जनताले विद्रोह गर्छन् भन्ने पनि जगजाहेर नै छ । त्यसैको पछिल्लो उदाहरण हो– जेनजी आन्दोलन । अहिलेको युवा पुस्तामा जोस हुन्छ, जाँगर हुन्छ । यतिमात्रै युवा पुस्ता सचेत पनि हुन्छ । जब सरकारले आफूहरुमाथि अन्याय गरेको महसुस गर्यो, तब जेनजी पुस्ता सडकमै उत्रियो । जेनजी पुस्ताले पुरानो राजनीतिक शक्तिलाई अपदस्थ गर्यो । नागरिकलाई रैती ठान्ने ‘लोकतान्त्रिक शासक’लाई युवापुस्ताले भागाभाग बनायो । 

Ncell
Extreme Energy

हो, जम्मा २ दिनमै मुलुकले राजनीतिक कोल्टे फेर्यो । छ महिनामै चुनाव भयो । जनताले आशा, अपेक्षा र भरोसासहित नयाँ दललाई मत र अभिमत दिए । विद्यमान संविधान र निर्वाचन प्रणाली अनुसार हुने चुनावबाट कसैले पनि बहुमत ल्याउन सक्दैन भन्ने भाष्य निर्माण भइरहेका बेला जनताले रास्वपालाई बहुमत मात्रै होइन, झण्डै दुई तिहाइ सिट दिए । परिवर्तन सम्भव छ, जनताले चाहे परिवर्तन गर्न सक्छन् भन्ने प्रमाण चुनावले दिएको छ । समग्रमा वर्ष २०८२ ले मुलुकको राजनीति नै फेरिदियो । 

नयाँ वर्ष सुरु हुँदै गर्दा देशमा नयाँ सरकार बनेको छ । नयाँ सरकारले नयाँ कार्यशैली अपनाएको छ । नयाँ सन्देश दिने प्रयत्न गरिरहेको छ । नयाँ सरकारलाई विधिसम्मत काम गर्न कसैको अवरोध छैन, कसैले चाहेर पनि अवरोध गर्न सक्ने छैन । नयाँ सरकारको कार्यारम्भले आशा जगाएको छ । आशा जगाएर मात्र हुँदैन, व्यवहार पनि आशा जगाउने हुनुपर्छ । भनिन्छ नि– नियत सही हुने हो भने काम पनि सही हुन्छ, काम सही भयो भने परिणाम पनि सही हुन्छ । नयाँ पुस्ताले नियत हेर्दैन, परिणाम हेर्छ । जनताले परिणाम पर्खेका छन् । सरकारले जनताको अपेक्षा अनुसार परिणाम दिन सक्नुपर्छ, त्यो पनि समयमै । 

रास्वपा र सरकारलाई लिएर कतिपयले भन्ने गरेका छन्– यी पनि सत्तामा नपुगेर हो, पुगेपछि पुराना जस्तै हुन्छन् । यसो भन्नुको मुख्य कारण पुरानो संस्कार हो । चुनावका बेला चर्का भाषण गर्ने र चुनाव जितेपछि आफ्नै स्वार्थ साँध्ने प्रवृत्ति विगतमा हाबी भयो । जनताले त्यस्तो प्रवृत्ति नदोहोरियोस् भन्ने चाहेका छन् । नेताको संस्कार र सोचमै परिवर्तन चाहेका छन् । नेतामा मात्रै होइन, हामी जनताको सोंच र संस्कारमा पनि परिवर्तन आउनु जरुरी छ । यसका लागि नयाँ सरकारलाई निरन्तर खबरदारी गर्नुपर्छ । निरन्तर प्रश्न सोध्नुपर्छ, जवाफ माग्नुपर्छ, जवाफदेही बनाउनुपर्छ । सरकारमा पुगेकालाई मात्रै होइन, जो जसले जनताको नाममा राजनीति गरिरहेका छन्, ती सबैलाई जनताले प्रश्न सोध्नुपर्छ, खबरदारी गर्नुपर्छ । अनि मात्र हाम्रा नेताहरुको संस्कार परिवर्तन हुने छ । 

अन्त्यमा, हाम्रा पाठक, दर्शक, शुभेच्छुकसँगै देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनमा नयाँ वर्षको शुभकामना । नयाँ वर्ष उत्साहको वर्ष बनोस्, नयाँ आशाको वर्ष बनोस्, नयाँ वर्ष सम्भावनाको वर्ष बनोस्, नयाँ वर्ष न्यायको वर्ष बनोस्, नयाँ वर्ष विकासको वर्ष बनोस् । ०८२ ले राजनीति फेर्यो, ०८३ ले संस्कार फेरोस्, हाम्रो शुभकामना ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको रिफर्म पोलीसी अब ब्यूरोक्रेसीमा: एकै पटक विदा हुँदै १२ हजार पुराना कर्मचारी

सरकारको रिफर्म पोलीसी अब ब्यूरोक्रेसीमा: एकै पटक विदा हुँदै १२ हजार पुराना कर्मचारी

सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती विद्येयकले अब ३० वर्ष बढी काम गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीहरुलाई घर पठाउँदै छ । अर्थात एकै पटक १२ हजार...
नेपालको शैक्षिक परामर्श क्षेत्रको संकट र समाधान

नेपालको शैक्षिक परामर्श क्षेत्रको संकट र समाधान

सरकारले अघि सारेको 'मोटो धरौटी' को प्रावधानले शैक्षिक परामर्श क्षेत्रलाई सुधार्ने होइन, बरु यसलाई धनी र माफियाहरूको 'सिन्डिकेट' मा बदल्ने खतरा बढी देखिन्छ। जबसम्म राज्यले युवाहरूको पलायनको मूल...
दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक म्याद थप

दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक म्याद थप

न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन÷तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
शान्त तलाउमा छाल उठ्यो, अब किनारा लाग्नुपर्छ

शान्त तलाउमा छाल उठ्यो, अब किनारा लाग्नुपर्छ

सर्वत्र एउटा बुझाइ र मान्यता छ– शान्त तलाउमा कसैले ठूलो ढुंगा फालिदियो भने तलाउको पानीमा छाल उठ्छ । तालको पानी चल्छ । त्यो छाल किनारमा पुगेमात्रै रोकिन्छ ।...