काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इमानदार उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ,नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आइतबार उनले रास्वपा र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गरेका हुन्।
सभापति लामिछानेले निजी क्षेत्रलाई भनेका मुख्य कुरा यस्ता छन्:
'रास्वपाले बाचापत्रमार्फत धेरै कुरा राखेको छ, वास्तविक अर्थतन्त्रको विकासका लागि निजीक्षेत्रको समस्या सम्बोधनका लागि, आम सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष रुपमा सम्बोधन गर्न रास्वपाले रोड म्याप बनाएको छ ।
रास्वपा प्राकृतिक स्रोतहरुको सदुपयोग गर्दै आर्थिक उत्पादनमा जोड दिन चाहान्छ ।
सरकार रास्वपाको बाचापत्र हेरेर चल्छ ।
नियमसंगत व्यापार व्यवसाय गर्ने व्यवसायहरुले रास्वपाका कुनै नेतालाई भेट्न पर्दैन, कसैको घर र पार्टी कार्यालय टेक्न पर्दैन । रास्वपाको सरकारले निजी क्षेत्रकाा समस्या सहजै सम्बोधन गर्न चाहान्छ ।
पहिला तपाईहरुले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुन पनि भयो होला । तर हामी तपाईहरुलाई फरक ढंगबाट देखिनेगरी परिवर्तन महशुस गराउन चाहन्छौं ।
धरपकडका विषयमा म निजी क्षेलाई स्पष्ट पार्न चाहान्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौं । यसमा केही असहज हुन सक्छ । तपाईहरुको क्षमता र सहयोगलाई साथमा लिएर नै अघि जान सक्छौं भनेर सरकार अघि बढेको हो ।
रास्वपाको सरकारले लिएको लक्ष्य, उद्देश्य पुरा गर्ने आधार निजी क्षेत्र पनि हो ।
७० वर्षदेखि खाडलको रुपमा रहेको दुरगतीलाई पुर्न सरकार अघि बढ्छ । स्पष्ट बहुमत हुँदाहुँदै पनि केही द्रुतमार्गको बाटो लिन आवश्यक परेको हो ।
निजीक्षेत्र सशंकित हुनुपर्ने, डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहदैनौं ।
तर, केही व्यवसायीहरु, पात्रहरुले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्नेगरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको हो । यसका लागि सरकारले बेलैमा नियन्त्रण गर्न त आवश्यक छ । सरकारले अहिले यही गरेको हो ।
आयातमुखी कि उत्पादनमुखी हुने भन्ने सवालमा हामी अवश्य यस जटिलतामा छौं ।
रुग्ण उद्योगहरु सञ्चालनमा देखाउनुभएको चासो सराहनिय छ, हामी त्यसमा सकारात्मक छौं । निजीक्षेत्रलाई सञ्चालनका लागि अघि बढाउन पनि सरकार सकारात्मक छ ।
प्रति १० जनामा १, २ जनालाई रोजगारी दिन सक्ला तर ८ जनालाई निजीक्षेत्रले नै रोजगारी दिने हो ।
जलविद्युत उत्पादनमा आईपीओको सवालमा सरकार निर्मम बन्छ नै, घाटामा गएको कम्पनीलाई आईपीओ जारी गर्न दिएर जनताको पैसा डुबाउन हामी सक्दैनौं । यसमा सरकार स्पष्ट छ ।
आय करमा सीमा घटाउने कुरामा सरकार सकारात्मक छ । आयको ५० प्रतिशत कर तिर्ने भन्ने कुरा जायज पनि छैन, हामी सुधारका लागि तयार छौं ।
सनसेट ल का कुरा आएका छन्, त्यसका विषयमा सरकार, रास्वपा पार्टी गम्भीर छ । सम्बोधन हुन्छ ।
सरकार निजीक्षेत्र, उत्पादक, उद्योगी, व्यवसायी सबैलाई सुरक्षा प्रदान गर्न तयार छ । रास्वपा प्रतिवद्ध छ ।
एलडीसी ग्राजुएसन भएपछि केही असरहरु देखिन्छन् । तर यसबाट पर्न सक्ने असुविधामा सरकारले अरु कदम चाल्न पनि तयार छ ।
हामीले गर्न खोजेको राजनीति अर्थराजनीति हो ।
रास्वपा सरकार सही पोलिसी बनाएर निजीक्षेत्रलाई सहज र प्रोत्साहन गर्छ, कुनै स्वार्थ खोज्दैन ।
एमआरपीको समस्या आउने बजेटले सम्बोधन गर्छ ।
देशनै तस्करीमय भएको भन्ने सवाल उठेको छ । बोर्ड क्षेत्रमा जीवनयापन गर्न कठिन भयो भन्नेछ, हामीले जनजीवन पनि कठिन नबनोस् र व्यवसायीहरुले पनि सहज रुपमा सामान आयात गर्न र गैरभन्सार आउने सामाग्रीहरुको नियन्त्रणमा पनि सरकार सचेत बन्छ ।
आयोजनाहरुको लाइसेन्सको विषयमा १० औं २० औं वर्ष लाग्ने समस्यालाई सरकारले द्रुत गतिमा काम गर्न चाहिरहेको छ । छिटो लाइसेन्स प्रदान गर्नेदेखि काम गर्ने गराउनेमा सरकार लागि पर्छ ।
सुशासनको युगमा डिपाचरका लागि सबै क्षेत्र, सबैको योगदान आवश्यक छ । सडकमा ढलेका जेनजी भाइबहिनी मात्र होइन अ? क्षेत्र, हामी सबैको योगदान आवश्यक छ ।
खिल निकाल्दा क्षणिक समयका लागि दुख्न सक्छ, समस्या हुनुसक्छ, तर अन्ततः यसले सबैलाई फाइदा नै पुग्छ ।
वन ऐनमा सरकार अघि बढिसकेको अवस्था छ । समस्या पहिचान भइसकेको छ, यसको सुधारका लागि सरकार अघि बढिसकेको छ ।
सरकारको स्थिरता, रास्वपाको लक्ष्य र उद्देश्यबाट कही कतै विचलित हुँदैन, निश्चिन्त हुनुहोला ।
देशका नागरिकलाई कोही कसैलाई पनि घरबार बिहीन बनाउँदैनौं । आज केही समस्या भएको छ, तर यसले सधैका लागि समस्या समाधान गर्छ । खोलाको किनारामा जोखिमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छ । सबैको सुरक्षा र प्रतिस्थापनामा सरकार लाग्छ, कसैलाई पनि घरबार बिहीन बनाउँदैन ।
आउने दिनमा तपाईहरुलाई सरकारले बोलाउनेछ, कार्यक्रम हामी गर्छौ, तपाईको आवश्यकता हामीलाई हो । '