नेभिगेशन
समाज

संघीय बजेटमा मधेश: निजगढ विमानस्थलदेखि पूर्वाधार, कृषि र सिँचाइसम्म प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमार्फत मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राख्दै बहुआयामिक विकास योजनाहरू अघि सारेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटमा विमानस्थल, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, खानेपानी, खेलकुद पूर्वाधार तथा क्षेत्रीय यातायात सञ्जाललाई केन्द्रमा राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निजगढ विमानस्थलः राष्ट्रिय गौरवको परियोजना अघि बढाइने
सरकारले दीर्घकालीन विवाद र ढिलाइमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनालाई पुनः प्राथमिकतामा राखेको छ । विमानस्थलको मोडालिटी ६ महिनाभित्र टुंग्याइने घोषणा गरिएको छ । यो विमानस्थल सञ्चालनमा आए तराई–मधेश मात्र होइन, समग्र देशको हवाई यातायात र अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । 

Ncell
Extreme Energy

लहानमा आधुनिक रंगशाला निर्माण
खेलकुद पूर्वाधार विस्तार कार्यक्रमअन्तर्गत सिरहाको लहानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक रंगशाला निर्माण गरिने भएको छ । देशभर १० फुटबल र ८ क्रिकेट रंगशाला बनाउने योजनाअन्तर्गत लहानलाई समेटिएको हो । यो परियोजनाले स्थानीय खेलाडी उत्पादन, प्रतियोगिता आयोजना र खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।

कृषि प्रशोधन केन्द्रः स्थानीय उत्पादनलाई औद्योगिकीकरण
मधेशका प्रमुख कृषि उत्पादनलाई मूल्य अभिवृद्धि गर्न सिराहा र सप्तरीमा आँप प्रशोधन केन्द्र स्थापना गरिने घोषणाा गरेको छ । त्यस्तै सर्लाहीमा गोलभेँडा प्रशोधन केन्द्र स्थापना गर्ने योजना छ । यसबाट किसानहरूले उत्पादन बिक्रीमा स्थिर बजार पाउने, बिचौलियाको निर्भरता घट्ने र कृषि उपजको औद्योगिक उपयोग बढ्ने अपेक्षा गरिएको छ । विशेषगरी आँप र गोलभेँडाजस्ता नगदे बालीलाई निर्यातयोग्य उत्पादनमा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ ।

भूमिगत सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि
सिँचाइ अभावका कारण उत्पादनमा हुने नोक्सानी रोक्ने, वर्षेनी दोहोरो खेती प्रणालीलाई विस्तार गर्ने र जलस्रोतको प्रभावकारी उपयोग गर्ने लक्ष्य सरकारले राखेको छ । तराई–मधेशका थप ३ हजार ९ सय हेक्टर कृषि भूमिमा भूमिगत सिँचाइ विस्तार गरिने भएको छ । यसका लागि १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसले खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

हुलाकी राजमार्गः क्षेत्रीय अर्थतन्त्र जोड्ने मुख्य मेरुदण्ड
मधेशको आर्थिक जीवनरेखाका रूपमा रहेको हुलाकी राजमार्ग का लागि सरकारले ४ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरेको छ । यो राजमार्ग पूर्ण रूपमा स्तरोन्नति भएपछि भारत–नेपाल सीमावर्ती व्यापार, कृषि उत्पादन ढुवानी र स्थानीय बजार विस्तारमा उल्लेखनीय सुधार आउने अनुमान गरिएको छ । साथै, ग्रामीण बस्तीहरू राष्ट्रिय यातायात सञ्जालसँग थप मजबुत रूपमा जोडिनेछन् ।

कृषि तथा पशुपालनमा प्रोत्साहन कार्यक्रम
सरकारले कृषि क्षेत्रमा निजी लगानी आकर्षित गर्न नयाँ प्रोत्साहन योजना घोषणा गरेको छ । २ करोड रुपैयाँसम्म लगानी गरी कृषि वा पशुपालन गर्ने कृषकलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने व्यवस्था गरिएको छ । त्यसैगरी, कृषि कर्जा वास्तविक किसानसम्म पुर्‍याउने, उत्पादनमा आधारित अनुदान प्रणाली विकास गर्ने र पशु चिकित्सकीय सेवा कृषकसँग प्रत्यक्ष जोड्ने नीति लिएको छ । यसले व्यावसायिक कृषि प्रणाली विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खानेपानी तथा डिप बोरिङ विस्तारमा विशेष जोड
तराई–मधेश क्षेत्रमा स्वच्छ खानेपानी पहुँच विस्तार गर्न समुदायस्तरमा डिप बोरिङ कार्यक्रम विस्तार गरिने भएको छ । साथै, देशभर अधुरा रहेका २८० खानेपानी आयोजनालाई पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । यसले दीर्घकालीन रूपमा सुरक्षित खानेपानी आपूर्ति सुनिश्चित गर्ने र पानीजन्य रोग नियन्त्रणमा समेत योगदान पुर्‍याउने सरकारको दाबी छ ।
बजेटले मधेश प्रदेशलाई कृषि उत्पादन, पूर्वाधार विकास, खानेपानी पहुँच र खेलकुद पूर्वाधारको केन्द्रका रूपमा अघि बढाउने संकेत गरेको छ । यी योजनाहरू कार्यान्वयन भएमा रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्र सुदृढीकरण र क्षेत्रीय विकास सन्तुलनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै