कम्युनिस्टहरूको साझा समस्या छ, जब उनीहरू आफ्ना कारणले पार्टीभित्र या आन्दोलनमा समस्या सिर्जना गर्छन्, तब उनीहरू दोषारोपण गर्न कुनै अन्तर्राष्ट्रिय शक्तिलाई देखाउँछन्। परम्परागत विस्तारवादी, साम्राज्यवादी शक्ति, देशी, विदेशी षड्यन्त्रको कथा पस्कन्छन्। ती शक्ति र पुरानो भाष्य दोहोर्याउँदै, ती शक्तिहरूको थाप्लामा दोष हालेर आफू पानीमाथिको ओभानो बन्ने चेष्टा गर्छन्।
प्रसंग हो, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको।
जेनजी आन्दोलनबाट सत्ताच्युत बनेका र गत फागुनको चुनावी परिणामबाट जीर्ण बनेको अध्यक्ष ओली अहिले जनमतबाट मात्र होइन पार्टीभित्रको शक्ति सन्तुलनबाट पनि कमजोर अवस्थामा पुगेका छन्। लगभग पाखा लाग्ने अवस्थामा छन्।
प्रतिनिधि सभामा एमालेको उपस्थिति २५ सिटमा सिमित छ। गत निर्वाचनको भन्दा ५० प्रतिशत मत गुमाएको एमाले अहिले अस्तित्व संकटबाट गुज्रिइरहेको छ। पार्टी पंक्तिले यसको मुख्य कारक ओलीलाई नै ठानेको छ।
Watch On
यसकाकारण हिजो जो जिताउन कम्मर कसेर लागे, अझ भनौं न दिलोज्यान दिए, आजै तिनै विपक्षमा छन्। ओलीको विकल्प खोज्ने अभियानमा उनीहरू विशेष महाधिवेशनसम्म जाने बाटो बनाइरहेका छन्।
१९ सदस्यीय सचिवालयमा स्पष्ट अल्मतमा परेका ओली अहिले केन्द्रीय कमिटी फेस गर्ने मनशायमा त देखिन्छन्।
तर त्यसअघि नै रामबहादुर थापा बादल नेतृत्वको पुनर्गठन कार्यदलले रूपान्तरण र आन्दोलन पुनर्गठनबारे खाका बनाइसक्ने नेताहरूले बताएका छन्।
१५ सदस्यीय कार्यदलमा ओली त्यहाँ पनि अल्मतमा छन्। उपाध्यक्ष बादल र सचिव महेश बस्नेत मात्रै स्पष्ट ओलीको पक्षमा खुलेका छन्। उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल लगायत नेताहरू ओलीको विकल्प खोज्ने अभियानमा छन्।
ओलीलाई तलको अवस्था बुझाउन नसकिएको र ओली बोकेर तद जान नसकिने निचोड निकाल्दै उनीहरू पुनर्गठनको अभियान चलाइरहेका छन्। यसरी शृंखलाबद्ध घेराबन्दीमा परेका अध्यक्ष ओली पार्टीभित्र संकटपूर्ण अवस्थामा छन्।
उनले तत्कालै केन्द्रीय कमिटी फेस गर्ने त बताएका छन्। केन्द्रीय कमिटीले पनि एमालेको अहिले देखिएको संकटमोचन गर्ने छाँटकाँट छैन।
यो बहस पार्टीको विधानको धारा ७३ समात्दै विशेष महाधिवेशनको खुट्किलोसम्म पुग्नसक्ने नेताहरूले बताएका छन्। एमालेको विधानअनुसार विशेष महाधिवेशनको माग गर्न ५१ प्रतिशत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरूको हस्ताक्षर आवश्यक पर्छ। ११ औं महाधिवेशनका प्रतिनिधिहरू राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य हुने परम्परा छ।
सचिवालय सदस्यहरू एकोहोरिएर ओलीको विकल्प खोज्न थालेपछि ५१ प्रतिशत पुग्न अब कठिन हुँदैन। ६ महिनाअघि भएको महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ, सचिवहरू पद्मा अर्याल, छविलाल विश्वकर्मा ओलीको पक्षमा नखुलेको भए उनी कुनै हालतमा चुनाव जित्दैनथे। ओली दुई तिहाइको बहुमतको अवस्थामा केन्द्रीय कमिटीमा पनि हुँदैनथे।
त्यतिबेला ओलीलाई जिताएर गल्ती गरिरहेको भन्दै पश्चात्ताप गरिरहेका पौडेलसहितका नेताहरूले जुनसुकै मूल्य चुकाएर भए पनि ओलीलाई पदमुक्त गर्ने अवस्थामा छन्।
एमालेका एक पदाधिकारीले बताएअनुसार ओलीको बहिर्गमनपछिसमेतको बाँटफाँट नेताहरूबीच भइसकेको छ। ओली हटाउने स्पष्ट आधार तयार पारेर मात्रै उपाध्यक्ष विष्ण पौडेल र महासचिव शंकर पोखरेल एकै कित्तामा उभिएका हुन्। पृथ्वीसुब्बा गुरूङसहितका नेता त्यहाँ उभिन आइपुगेका हुन्।
उनीहरूको खाकाअनुसार ओलीलाई हटाएपछि कार्यवाहक अध्यक्ष विष्णु पौडेल बन्नेछन्। १२ औं महाधिवेशनसम्म उनैले पार्टी आन्दोलनको नेतृत्व गर्ने र महाधिवेशनपछि शंकर पोखरेलले बागडोर सम्हाल्ने अघोषित सहमति छ।
इतरसमूहले त ओलीको विकल्प महाधिवेशन अघि नै खोजिसकेको थियो। ओली समूहभित्रै विभाजन आएर उनीहरू नै विकल्प खोज्न निस्किएपछि उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईहरू मौनजस्तै छन्। सामाजिक सञ्जालामार्फत् धारणा राख्नेबाहेक उनीहरू छुट्टै छलफल र समूहबन्दीमा छैनन्।
आफ्नै समूहबाट अप्ठ्यारोमा परेपछि ओलीले विद्रुप बहिर्गमनको सम्भावना देखिसकेका छन्। केन्द्रीय कमिटीमा पनि अल्पमतमा पर्ने भय बोकेका ओलीले शनिबारदेखि अर्को भाष्य बनाउन थालेका छन्।
त्यो हो उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी फुटाउने अभियानमा छन्।
हामीले सुरूआतमै चर्चा गरिसकेका छौं, कम्युनिस्टहरू आफ्नो संकट मोचनका लागि अर्काको थाप्लामा दोष हाल्ने गर्छन्। विरोधीलाई पार्टीद्रोही, पार्टीघाती करार गर्दै कार्यकर्ताको तहबाट सहानुभूति बटुल्ने भगीरथ प्रयत्न गर्छन्। ओलीको अहिलेको प्रयत्न त्यही हो।
पुनर्गठनको मुद्दा बोकेर एक ठाउँमा उभिएका विष्णु, शंकरलाई पार्टी विभाजकको संज्ञा दिएर ओलीले निरन्तरता दिन खोजेको शासनको सन्देश पनि त्यही हो।
जेठ १० गते सकिएको एमाले सचिवालयको आठौं बैठकले पुनर्गठनबारे कार्यदल बनाएको थियो। सुरूमा ओलीले कार्यदलको नामै सुन्न चाहेका थिएनन्। पुनर्गठनको आवाज कानमा नपरोस् ठान्थे। चार दिनसम्म चलेको बैठकमा बोल्ने अधिकांश सचिवालय सदस्यले पुनर्गठनको सन्देश नदिई तल जान नसक्ने निष्कर्ष सुनाएपछि ओली लतारिएका थिए।
एक महिना समय पाएको कार्यदलले समयमै काम सुरू गर्न सकेन। त्यसको फाइदा उठाउँदै ओलीले केही प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसँग एक चरण संवाद गरिसकेका छन्।
केही केन्द्रीय सदस्यबाट आड पाएका ओलीले त्यही मनोबलका आधारमा केन्द्रीय कमिटी फेस गर्छु भनेका हुन्।
शनिबार कार्यदलले बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश एवम् जिल्ला तहका नेताकार्यकर्तासँग छलफल गरेको थियो। त्यो थाहा पाएका ओलीले दिउँदै बागमतीका केन्द्रीय सदस्य, प्रदेश एवम् जिल्लाका नेतालाई साँझ गुण्डु आउनु भने।
बैठक सकेर गुण्डु पुगेका नेता कार्यकर्तालाई ओलीले विष्णु र शंकरलाई पापीलोभी मात्रै भनेनन्। पार्टी नै फुटाउन लागेको आरोप लगाए। उनले यति गम्भीर आरोप लगाउनुको कारण छ।
एमालेजन पटकपटकको फुटबाट आहत छन्। ताडित छन्। त्रस्त छन्।
२०५४ सालमा पहिलोपटक विभाजनको मार खेपेको एमाले २०६९ सालमा पुनः चोइटिएको थियो। २०७८ सालमा माधवकुमा नेपाल, झलनाथ खनालसहितको ठूलो पंक्ति गुमायो। छुट्टिएर गएकाहरूले एकीकृत समाजवादी बनाए।
अहिले पनि एमालेका तहगत कमिटीबाट क्षय भएर जानेको संख्या निकै छ। कतिपय नबोदित राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपालतर्फ आकर्षित भएका छन्।
गत निर्वाचनमा रास्वपाबाट टिकट पाएर कति सांसद निर्वाचित भए। कतिपय जेनजी विद्रोहपछि ओलीको नेतृत्वबाट आजित भएर बाटो लागे। फेरि पार्टी टुक्रिने भयो भनेपछि पुनर्गठनको बहस विषयान्तर हुन्छ।
यही बहस बराल्न ओलीले विष्णु र शंकरलाई विभाजनकारी करार गर्न लागेका हुन्। तर ओलीको यसपटकको अस्त्र त्यति सफल हुने देखिँदैन। ओली बोकेर अब हुने प्रदेश र स्थानीय तह निर्वाचनमा जाँदा के हुन्छ? फागुनकै दृश्यले देखाइसकेको छ।
सर्वश्व गुमाएर खरानी हात पारेको एमालेले ओलीका नाममा त्यही खरानी पनि गुमाउने अवस्था आउन दिने सम्भावना अब छैन भन्दा पनि हुन्छ।
यसअघि टाडीस्थित स्टार बेंक्वेट होटल र नजिकको चौरमा टेन्ट हालेर खुला सत्र र बन्द सत्र गर्ने तय भएकोमा चितवनको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महाधिवेशन स्थल परिवर्तन गरिएको महामन्त्री...मंगलबार, असार २, २०८३
असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीले वडादेखि प्रदेश कमिटीसम्म अधिवेशन सम्पन्न गरेको छ ।मंगलबार, असार २, २०८३
अधिवक्ता सुधिज्ञ पन्तले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाई दायर गर्नुभएको रिट निवेदनमा सार्वजनिक संरचना र त्यसको व्यवस्थापनमा हुने लापरबाहीका...मंगलबार, असार २, २०८३
पछिल्ला वर्षमा चितवनको सौराहा वन्यजन्तुु अवलोकनका साथै जलविहारसमेतका कारण प्रसिद्ध रहेको उनले बताए । पर्यटकलाई लक्षित गरी बनाइएका होटल, लज, रिसोर्ट र रेष्टुराँका कारण यहाँ आउने जो कोही...मंगलबार, असार २, २०८३