काठमाडौँ । आजभन्दा पाँचवर्ष अघि हुम्ला नाम्खाका तीन बालबालिका कर्णाली नदीमा डुबेर बेपत्ता भए ।
दुई साता खोजतलास गर्दा पनि उनीहरूको सासलाशको टुंगो लागेन ।
बालअधिकार विज्ञ प्रल्हाद ढकाल त्यो घटना स्मरण गर्दै भन्छन्, हुम्ला नाम्खा ४ को महाबौद्ध माध्यमिक विद्यालयमा आधारभूत तहमा पढ्दै गरेका ती बालकहरू पढाइमा अब्बल थिए ।
नृत्यकलामा उस्तै पारगंत थिए। शनिबारको दिन चर्को घाम छल्न कर्णाली नदीमा हेलिएका उनीहरू फेरि कहिल्यै फर्किएनन् ।
गाउँमा सन्नाटा छायो । नाम्खाको घाउको खाडल त बिस्तारै पुरिँदै गयो । तर देशैभर बालबालिका पानी जमेका पोखरी, तालतलैया, नदी कुवामा डुबेर मर्ने क्रम रोकिएन ।
गत असार २८ गते सिरहा गोल बजारका एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भयो । ती बालबालिकाका अभिवावक कमजोरआयका थिए ।
रौतहट जिगरवा स्थायी घर भएका अवास शेखका २ छोरी र एक छोराको त्यसरी डुबेर मृत्यु भएको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार शेख ३० वर्षदेखि गोलबजार ७ मा कबाड संकलन गर्दै आएका थिए । त्यसैबाट उनीहरूको गर्जो टर्थ्यो ।
त्यसदिन बालबालिका घर नजिकैको पोखरीतिर खेल्न निस्केका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दा उनीहरू पशु हाटबजार नजिकैको खाल्डोमा डुबेको अवस्थामा फेला परे ।
प्रहरीका अनुसार गाई-भैँसीलगायत पशुचौपायाका लागि पानीको जोहो गर्न खनिएको खाल्डोमा पौडन थाल्दा उत्रन सकेनछन् ।
त्यहीँ दलदल जस्तो ठाउँमा परेर उनीहरू अचेत अवस्थामा फेला परेका थिए ।
उपचारकालागि जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे ।
यी दुइ प्रतिनिधिमूलक दृष्टान्त हुन् ।
पछिल्ला केही वर्षमा बालबालिकाहरू पानीमा डुबेर मर्ने क्रम डर लाग्दो ढंगले बढीरहेको छ । हामीले विगत दश वर्षको तथ्यांक केलाएका छौँ ।
पछिल्लो १० वर्षमा मात्रै २ हजार ६ सय ८६ बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमा सामूहिक मात्र नभइ एक्लाएक्लै डुब्ने बालबालिको संख्या पनि छ ।
रोचक त के छ भने यसरी डुब्ने बालबालिकामध्ये बालकको संख्या बढी छ।
पछिल्ला १० वर्षमा १८ सय २६ बालकको डुबेर मृत्यु भएको छ ।
बालिकाको संख्या भने ८ सय ६० छ । पछिल्ला २ वर्षमा बालबालिका डुब्नेक्रम तीव्र भएको देखिन्छ ।
आर्थिक वर्ष २०७२-०७३ मा २ सय ३ जना बालबालिका डुबेर मृत्यु भएकोमा आर्थिक वर्ष २०८१-०८२ सम्म आइपुग्दा ३ सय ७९ जना बालबालिका डुबेर मरेका छन्।
आर्थिक वर्ष २०८०-०८१ र २०८१-०८२ मा मर्ने बालबालिकाको संख्या बढेको पाइएको हो ।
बालबालिका किन डुबेर मर्छन् भनेर हामीले बालअधिकार विज्ञ प्रल्हाद ढकाललाई सोध्यौँ । उनले अभिवावकलाई दोष दिए ।
'सामान्यतया, सहरी क्षेत्रमा बालबालिका डुबेर मर्ने गरेका घटना हामी त्यती पाउँदैनौँ जबकी सहरी क्षेत्रमा स्विमिङ पुलको सख्या बढी छ । पहाडी तथा तराई क्षेत्रमा भने बालबालिका डुबेर मर्ने क्रम बढेको बढ्यै छ । यसमा हामीले ज्यादा अभिवावककै लापरवाही देख्छौँ,' उनले भने ।
उनका अनुसार पहाडी र तराई क्षेत्रमा बालबालिकाले आज पनि उचित रेखदेख र उपयुक्त अभिभावकीय व्यवहार पाएका छैनन् ।
आफ्ना बालबालिका कहाँ जान्छन्, के खेल्छन् भन्ने विचार नपुर्याउँदा, सावधानी नअपनाउँदा दुर्घटना भएपछि मात्रै थाहा पाउने अवस्था छ ।
तराई क्षेत्रमा पोखरीहरूमा लुगा धुने, वस्तुभाउका लागि पानी ओसार्ने गरिन्छ ।
यसमा बालबालिकाहरूलाई नै अभिवावकले काममा लगाउने गर्छन् ।
बालबालिकालाई भर गर्ने कारण पनि यस्ता भवितव्य निम्तने गरेको ढकालको भनाइ छ। त्यसो त बालबालिकालाई जीवनोपयोगी शिक्षा नदिँदा पनि कतिपय यस्ता घटनाबाट बच्न सकेका छैनन्।
'बालबालिकालाई लाइफस्किल सिकाउन छाडिएको छ । पहिले जुनियर रेडक्रस सर्कल, स्काउट आदिले जीवनोपयोगी सीप सिकाउने गर्थे । अहिले त्यसमा कमी आएको छ । अब विद्यालयकै पाठ्यक्रममा यस्ता विषय, लाइफस्किल राखिनुपर्छ,' उनले भने ।
सुरक्षाकर्मीहरूका अनुसार तराई क्षेत्रमा जोमिखपूर्ण पोखरीहरू छन् ।
कतिपय निमार्णक्षेत्रमा यस्ता पोखरी बनाएको पनि भेटिन्छ ।
काम सकिएपछि त्यस्ता पोखरी नपुर्दा दुर्घटना निम्तने गरेको छ ।
वर्षातको बेलामा यस्ता दुर्घटना झन् बढी हुने गरेका छन् । केही वर्षअघि काठमाडौँकै सामाखुसी क्षेत्रमा एक बालिका ढलमा बगेकी थिइन् ।
काठमाडौँकै कपन क्षेत्रमा एक जना बालक उर्लंदो भेलमा बगेर वेपत्ता भएका थिए।
उनको शव करिव एक सातापछि ललितपुरस्थित बागमती नदीमा फेला परेको थियो ।
सहरी क्षेत्रमा पूर्वाधार निमार्ण गर्दा खाडल बन्ने र वर्षातको पानी त्यहाँ जम्मा हुँदा दुर्घटनालाई सघाउ पुग्ने सुरक्षा निकायको भनाइ छ ।
यसैबीच बालबालिकालाई शान्ति क्षेत्र राष्ट्रिय अभियानले जोखिमयुक्त खाल्डाखुल्डी, पानी जम्ने स्थान तथा निर्माणस्थलहरूको तत्काल सुरक्षित व्यवस्थापन गरी यस्ता दुर्घटना पुनः हुन नदिन सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ।
अभियानले मनसुन अवधिभर बालबालिकाको सुरक्षा, संरक्षण तथा उद्धारका लागि स्थानीय तहमा प्रभावकारी पूर्वतयारी तथा द्रुत प्रतिकार्य संयन्त्र सक्रिय बनाउन अनुरोध गरेको छ।
'प्राकृतिक विपदबाट प्रभावित बालबालिकालाई बालमैत्री राहत, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग तथा आवश्यक संरक्षण सेवा सुनिश्चित गर्न, समुदाय, विद्यालय, अभिभावक तथा बालबालिकालाई विपद् जोखिम न्यूनीकरण तथा सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित सबै निकायसँग यस कार्यहरू तत्काल कार्यान्वयन गर्न आग्रह गर्दछ,' अभियानका संयोजक तिलोत्तम पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।