नेभिगेशन
समाज

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद इन्दिरा रानामगर

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ । स्थानीयका समस्या सुन्ने, सेवा प्रवाहको अवस्था बुझ्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले उहाँले निर्वाचन क्षेत्रमा निरन्तर भेटघाटलाई प्राथमिकता दिइरहेकी छिन् ।

निर्वाचन जितेपछि अधिकांश जनप्रतिनिधि राजधानीको राजनीतिक व्यस्ततामै सीमित हुन्छन् भन्ने जनधारणा नेपालमा नयाँ होइन । चुनावताका गाउँटोलमा बाक्लै देखिने नेताहरू त्यसपछि पाँच वर्षसम्म बिरलै फर्किने अनुभवले नागरिकमा निराशा पनि बढाएको थियो । तर पूर्वउपसभामुखसमेत रहेकी रानामगर यतिबेला फरक अभ्यासमा देखिएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँबस्तीमा आयोजित भेटघाट तथा अन्तक्रियामा स्थानीयवासीले सडक, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, वन्यजन्तुको समस्यालगायत दैनिक जीवनसँग जोडिएका विषय खुलस्त रूपमा राख्ने गरेका छन् । सांसद रानामगरले नागरिकका सुझाव, गुनासा र अपेक्षालाई टिपोट गर्दै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनका अनुसार यस्ता प्रत्यक्ष संवादले स्थानीय आवश्यकता र विकास निर्माणका क्रममा देखिएका चुनौती पहिचान गर्न सहयोग पुग्नेछ ।

Ncell
Extreme Energy

सुरुमा उनले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाका स्थानीयसँग प्रत्यक्ष भेटघाट गरेकी थिइन् ।  भेटघाट तथा अन्तक्रियामा स्थानीयले दैनिक जीवनसँग जोडिएका विविध समस्या राखेका थिए ।

अनुगमनकै सिलसिलामा उनले बुद्धशान्ति भागिरथा अस्पतालको निरीक्षण गर्दै अस्पताल प्रशासनसँग सेवा प्रवाह, वर्तमान अवस्था र देखिएका समस्याबारे छलफल गरेकी थिइन् । यस्तै, हेलोचोकदेखि दक्षिणको सडक, भोटेटार चोक, गलानगाउँको अधुरो सडक तथा हात्तीकिल्ले पैनि (बिन्धुलीबाँध) क्षेत्रमा पुगेर पूर्वाधारको अवस्था अवलोकन गर्नुका साथै स्थानीयसँग छलफल गरेकी थिइन् ।

भेटघाटका क्रममा स्थानीयले कृषि, पूर्वाधार र शान्ति सुरक्षाका विषयमा धेरै समस्या राखेको सांसद रानामगरले बताइन् । “बिर्तामोडको कृषि थोकबजार व्यवस्थापन, हात्तीको आतङ्क, पूर्वाधार विकास तथा समयमै मल–बीउ नपाएको गुनासो धेरै आएको छ”, उनले भनिन्, “हामी ती समस्या र गुनासा समाधानका लागि निरन्तर क्रियाशील छौँ । कतिपय अवस्थामा नागरिकमा आक्रोश पनि देखिएको छ, जसलाई हामीले स्वाभाविक र सकारात्मक रूपमा लिएका छौँ ।”

जनप्रतिनिधिको भूमिका संसद्मा नीति निर्माणमा मात्र सीमित नरही नागरिकका दैनिक समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने पनि भएको रानामगरको भनाइ छ । यस्ता प्रत्यक्ष भेटघाट र अन्तक्रियालाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताइन् ।

नागरिकका समस्या सुन्दै हिँडेकी सांसद रानामगर बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित एक विशेष कार्यक्रममा सहभागी भइन् । जहाँ वर्षौँदेखि ओत लाग्ने जमिनको कानुनी अधिकार नपाएर उठिबासको त्रासमा रहेका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सांसद रानामगरले नागरिकको सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवनका लागि भूमिको अधिकार अनिवार्य रहेको बताइन् । लाभग्राहीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गर्दै उनले खुसी व्यक्त गरिन् ।

“आज यहाँ लालपुर्जा हस्तान्तरण गरिरहँदा तपाईँहरूको खुसी र उत्साहलाई नजिकबाट अनुभूति गर्ने अवसर मिल्यो”, उनले भनिन्, “वर्षौँदेखि भूमिको स्वामित्वको प्रतीक्षामा रहनुभएका परिवारले लालपुर्जा प्राप्त गर्दा अनुहारमा देखिएको खुसी र सन्तोषले यस अभियानको वास्तविक महत्व र सार्थकता स्पष्ट रूपमा प्रतिविम्बित गरेको छ ।”

नागरिकसँगको प्रत्यक्ष संवादमार्फत विकास निर्माणमा देखिएका सुस्तता र स्थानीय आवश्यकता पहिचान गरी सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ । 

झापामा देखिएको यो जनप्रतिनिधि–नागरिक संवादको लहर इन्दिरा रानामगरमा मात्र सीमित छैन । झापाका अन्य निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित जनप्रतिनिधिहरू गाउँ–बस्ती पुग्ने होडमा देखिन्छन् ।

झापा क्षेत्र नंं १ की सांसद तथा रास्वपाकी सहमहामन्त्री निशा डाँगी एक सातादेखि क्षेत्रमै सक्रिय छिन् भने क्षेत्र नं ३ का सांसद प्रकाश पाठक र क्षेत्र नं ४ का सांसद शम्भु सुस्केरा पनि स्थानीयका सुखदुःख बुझ्न गाउँमै छन् । 

झापाका पाँचवटै क्षेत्रबाट रास्वपाका उम्मेदवार निर्वाचित भएका थिए । तीमध्ये झापा क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बालेन्द्र शाह हाल प्रधानमन्त्रीको जिम्मेवारीमा छन् । 

यसरी झापामा एक सातादेखि सञ्चालन गरिरहेको निरन्तर जनसंवाद अभियानले निर्वाचित प्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई थप नजिक बनाउने प्रयासका रूपमा लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिर)

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिर)

मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि.ले ०७९ साउन १४ मा ४८ करोड रुपैयाँमा यो सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो । दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा तीनपटक म्याद थप भएपछि...
आफन्त र नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न सांसदहरुलाई रास्वपाको निर्देशन

आफन्त र नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न सांसदहरुलाई रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीले आफन्त र नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री बालेनले निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग किन गर्दैछन् छलफल ?

प्रधानमन्त्री बालेनले निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग किन गर्दैछन् छलफल ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दैछन् ।