नेभिगेशन
समाज

नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

काठमाडौँ । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूले करिब २०० अर्ब रुपैयाँ बराबरको थप लगानी गर्ने तयारी अघि बढाएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सोमबार भएको छलफलमा कम्पनीका प्रतिनिधिहरूले थप लगानीका परियोजना अघि बढिरहेको जानकारी दिँदै नीतिगत स्थिरता र लगानीमैत्री वातावरण कायम भए लगानी विस्तार गर्दै जाने प्रतिबद्धता जनाएका हुन् । 

अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न तथा नयाँ रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरेका थिए । “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्। नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ,” उनले भने।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयमा भएको छलफलमा सहभागी कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूले जलविद्युत्, खाद्य, होटल, पेय पदार्थ, पेन्ट, सिमेन्टलगायतका क्षेत्रमा लगानी विस्तारको प्रक्रिया अघि बढिरहेको जानकारी गराएका थिए।

Ncell
Extreme Energy

कम्पनीका प्रतिनिधिहरूले सरकारले अनुकूल लगानी वातावरण निर्माण गरे थप लगानीका लागि आफूहरू तयार रहेको बताएका थिए। उनीहरूका अनुसार प्रस्तावित लगानीले रोजगारी सिर्जना गर्नुका साथै उत्पादन र अर्थतन्त्रको विस्तारमा समेत योगदान पुर्‍याउनेछ।

नयाँ सरकारले ल्याएको बजेटपछि विदेशी लगानीकर्ताको मनोबल बढेको उनीहरूको भनाइ थियो। उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, कर तथा भन्सार प्रशासनमा प्रशासनिक सुधार देखिन थालेको भन्दै उनीहरूले केही नीतिगत तथा व्यावहारिक समस्या भने तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

बहुराष्ट्रिय कम्पनीहरूले माउ कम्पनीबाट नेपालमा पुँजी ल्याउने प्रक्रियालाई सहज बनाउन सरकारसँग आग्रह गरेका छन्। आर्थिक तथा फौजदारी अपराधको स्पष्ट परिभाषा, आयकर ऐनको दफा ५७ मा संशोधन तथा श्रमिकसम्बन्धी कानुनलाई लगानीमैत्री बनाउने विषयमा पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै, कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर कायम गर्न, नेपालमै उपलब्ध कच्चा पदार्थ प्राप्तिमा सहजीकरण गर्न, मूल्य नियन्त्रणको समस्या सम्बोधन गर्न, जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था सहज बनाउन तथा स्थानीय तहअनुसार फरक–फरक कर निर्धारण हुने समस्या समाधान गर्नुपर्ने उनीहरूको माग थियो।

औद्योगिक गतिविधिका लागि आवश्यक आधारभूत सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउनुपर्ने, दोहोरो करको समस्या हटाउनुपर्ने तथा नेपालमा गरेको लगानीको प्रतिफल माउ कम्पनीमा फिर्ता लैजाने प्रक्रिया सहज बनाउनुपर्ने माग पनि कम्पनी प्रतिनिधिहरूले राखेका थिए।

छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्ट्स, पावर कन्स्ट्रक्सन, गोर्खा लाहारी, हुवासिन सिमेन्ट नारायणी, न्युहोप एग्रो बिजनेस, नेपाल वेलहोप एग्रीटेक, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर पेन्ट्सका नेपाल प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए।

अर्थमन्त्री वाग्लेले पछिल्लो समय बजेट कार्यान्वयन र अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्र तथा वित्तीय क्षेत्रसँगको छलफललाई तीव्रता दिएका छन्। यसअघि उनले उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका तीन दर्जन उद्योगीसँग छलफल गरेका थिए।
त्यसपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका वाग्लेले सोही साता नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग समेत अर्थतन्त्रको विकास र बजेट कार्यान्वयनका विषयमा छलफल गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको खबर भ्रामक रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।
अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै ओलीले त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ को संज्ञा दिए। केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब त्यस्तो नहुने उनले बताए।
बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

गत आइतबार निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका–४ कानाबगरका ३१ घर बगाएको छ।