नेभिगेशन
समाज

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

तनहुँ । “पहाडकी रानी बन्दीपुरले फूलेको एउटा सुन्दर फूल पायौँ । त्यो फूल हुनुहुन्छ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले। मलाई थाहा छ, उहाँसँग देशले आशा र भरोसा गरेको छ। उहाँले देशलाई हेर्नुपर्नेछ। तर, हामीलाई यो पनि थाहा छ, त्योसँगै उहाँले हामीलाई पनि हेर्नुहुन्छ—हामी अर्थात् बन्दीपुर र तनहुँलाई।” यत्ति भनिसकेपछि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बोल्न रोकिए र बायाँतर्फ फर्केर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हेरेर मुस्कुराए । अनि हलमा गडगडाहट ताली बज्यो ।

मनसुनको बादल छिचोलेर झुल्किएको घामको रातोपहेंलो लालीले बन्दीपुर सुन्दर देखिएको छ । सुन्दर पर्यटकीय नगरी बन्दीपुर र वर्षातको बादल पारिलो घामसँगै लुकामारी खेलिरहेको दृश्य गाउँपालिकाको सभाकक्षको पश्चिमतर्फको बार्दलीबाट प्रष्टै देखिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यता, बार्दलीभित्रको सभाकक्षमा टाढाटाढाबाट भेला भएका जनप्रतिनिधि र बन्दीपुरका स्थानीयहरू आफूले जिताएर पठाएपछि केन्द्रीय सरकारका अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेसँगका आफ्ना आशा र भरोसाका पोकाहरू खुलस्त राख्दै छन् । कार्यक्रम औपचारिक नै भए पनि आफ्नोपन र मनका कुरा खोल्न भन्दै अधिकांशले अर्थमन्त्रीलाई दाजु, भाइ र भान्जाको नाता जोडेर सम्बोधन गरे।

Ncell
Extreme Energy

f94d7c16-56e6-4a39-9b34-7083be575032-1786775052.jpg
पालिका अध्यक्ष थापाले देशलाई हेर्ने जिम्मेवारी बन्दीपुरले पठाएको सुन्दर फूलले पाएकोमा गर्व गरे । “बन्दीपुरले पाएको सुन्दर फूल हुनुहुन्छ उहाँ, गहिरो र ठूलो जिम्मेवारी छ। पहिले देशलाई हेर्नु अनि हामीलाई पनि हेर्नुहोला,” अध्यक्ष थापाले डा. स्वर्णिम वाग्लेको कार्यकालमा पहाडकी रानी बन्दीपुर विकास पूर्वाधारले सजिएर महारानी बन्ने अपेक्षा गरे । 

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीले स्वास्थ्य संस्थालाई थप सुविधा चाहिएको बताए । 

२०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्ले दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । आफ्ना मतदातालाई धन्यवाद ज्ञापन गर्ने संक्षिप्त कार्यक्रम सकेर काठमाडौँ फर्केपछि उनी नेपाल सरकारको अर्थमन्त्री भए र बजेट लेखनमा उनकाे व्यस्तता बढ्यो।

f209536a-9617-4b99-b6be-96d152e39279-1786775052.jpg
बजेट लेखनको तयारी, संसदमा पेस, दुवै संसदबाट पारित र पार्टीको ऐतिहासिक महाधिवेशनबाट लोकप्रिय उपसभापति निर्वाचित भइसक्दा पनि उनले तनहुँ जाने समय पाएका थिएनन् । आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका जनताका लागि काठमाडौँमा यथेष्ट समय दिए पनि अर्थमन्त्री र पार्टीको उपसभापतिका रूपमा जिल्ला भ्रमण गर्ने मौका उनलाई गत बुधबार साँझ मात्रै मिल्यो।

बिहिबार जिल्ला समन्वय समितिको समीक्षा गोष्ठी उद्घाटनको निम्तोमा बुधबार साँझ दुई दिने भ्रमणका लागि तनहुँ आउनुभएका अर्थमन्त्री वाग्लेले दर्जनभन्दा बढी भेटघाट र अन्तर्क्रियामा सहभागी भए । जनताका मुद्दा सुने र समाधानका उपायमा आफ्नो साथ र सहयोग भरपुर हुने वाचा गरे ।

बुधबार साँझ आँबुखैरेनीस्थित उद्योग वाणिज्य संघको हलबाट सुरु भएको अन्तर्क्रिया बन्दीपुर, रिस्ती, कलेस्ती, दुम्सी, दमौली, बेलबास, मुलपानी, छिर्कन र कमलाबारीमा पुगेर सकियो । “पारिपट्टि गोरखामा जन्मिएँ। तनहुँसँग तीन वर्षअघि कर्म गाँसियो र अहिले म तनहुँवासी भएँ। म यो माया र गुन कहिल्यै भुल्ने छैन। तपाईहरू सबैलाई मेरो अपार माया र साथ छ, अहिले त घर किनेर यहींको बासिन्दा भएँ,” अर्थमन्त्री डा. वाग्लेले जनतासँग भने ।

1e80a556-50fe-4005-878d-f77efcd76f00-1786775053.jpg
आँबुखैरेनीका जनताले आँबुखैरेनी–गोरखा सडक विस्तार र त्यसले बस्तीमा पुर्‍याउने क्षतिबारे अर्थमन्त्रीको ध्यानाकर्षण गराए । सडकको मापदण्डबारे जनतालाई हानि नहुने गरी निर्णय गरिदिन उनीहरुकाे आग्रह थियो । 

गोरखकाली टायर कसरी चल्छ? मर्स्याङ्दी नदीको कटान रोक्न थप बजेट चाहिएको लगायतका समस्याहरू पनि सर्वसाधारणले अर्थमन्त्रीसमक्ष राखे । उनीहरूका जिज्ञासामा अर्थमन्त्री डा. वाग्लेले जनतालाई हानि नहुने गरी सडक विस्तारका सम्बन्धमा काम गर्न पहल गर्ने बताए । गोरखकाली रबर उद्योगलाई पुनर्जन्म दिन सरकारले अध्यायन गरिरहेको उनकाे भनाइ थियो । आँबुखैरेनीको विकासका लागि आफूले सकेको पहल गर्ने उनले दोहोर्‍याए । 

1011b469-30f3-4825-b949-f8fbace26590-1786775053.jpg
रिस्ती, कलेस्ती र दुम्सीका जनताले सफा र स्वच्छ खानेपानी, राम्रो सडक र स्वास्थ्य पूर्वाधारमा बजेट हालिदिन अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

जनताका जिज्ञासामा अर्थमन्त्री डा. वाग्लेले आफूले सकेको पहल गर्ने बताए । उनले सीमित स्रोत र साधनको देशव्यापी सन्तुलित वितरण गर्दा तनहुँलाई अन्याय नहुने स्पष्ट पारे । 

बेलबास बस्तीको मुआब्जा दाबी र भानु–१३, चन्द्रावती सडकजस्ता जटिल तथा तत्काल समाधान गर्नुपर्ने कामहरू आफ्नो प्राथमिकतामा रहेको उनले बताए । दक्षिणी तनहुँ विकास पूर्वाधारको पहुँचबाट निकै टाढा रहेको विषयलाई आफूले गहिराइमा बुझेको भन्दै उनले त्यसलाई प्राथमिकतामा राखेको जनतालाई स्पष्ट पारे ।

आफ्नो जिल्लाले अर्थमन्त्री पाएको बेला आफ्नो गाउँठाउँमा धेरै विकास होस् भन्ने जनचाहना स्वाभाविक भए पनि अर्थमन्त्रीले देशैभर समान विकास र बजेट वितरण गर्नुपर्ने दायित्व र कर्तव्य बुझिदिन उनले मतदातालाई आग्रह गरे । 

63420b22-b85d-4286-ab91-4f1f6483a5e0-1786775053.jpg
पालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीद्वारा आयोजित कार्यक्रममा उनले अनुशासित र व्यवस्थित रूपमा बजेट कार्यान्वयनतर्फ ध्यान दिन पनि आग्रह गरेका थिए । 

अर्थमन्त्रीका रूपमा आफ्नो गाउँघरमा पहिलो पटक डा. स्वर्णिम वाग्लेलाई भेट गरेका मतदाताले देश विकासलाई प्राथमिकतामा राख्न र त्यसमा तनहुँलाई नछुटाउन ध्यानाकर्षण गराए । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले २०८० वैशाखमा भएको उपनिर्वाचनमा पहिलो पटक तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०८२ फागुनमा भएको आमनिर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट दोस्रो पटक निर्वाचित भए । उनी गत चैत १३ गतेदेखि बालेन्द्र शाह नेतृत्वको सरकारमा दोस्रो वरियतासहित अर्थमन्त्रीको जिम्मेवारीमा छन् । 

3fd5f62b-d4df-41e9-916b-d6900ba5d49e-1786775052.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...
चोलेन्द्र प्रकरणः सरकार, प्रहरी र सर्वोच्च तरंगित

चोलेन्द्र प्रकरणः सरकार, प्रहरी र सर्वोच्च तरंगित

सर्वोच्चले भनेको छ–  ‘नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यको रुपमा आत्मसात् गरेको र पूर्वप्रधान्यायाधीश, पूर्वन्यायाधीश एवं बहालवाला प्रत्येक न्यायाधीश र न्यायिक जनशक्ति...
इराकबाट हट्याे अमेरिकी सेना

इराकबाट हट्याे अमेरिकी सेना

इराकका प्रधानमन्त्री अली अल–जैदीले गठबन्धन सेना फिर्ता भएको भोलिपल्ट अर्थात् ८८अक्टोबर १ लाई ‘सम्प्रभुता दिवस’८८का रूपमा मनाउनुपर्ने बताउनुभयो । सरकारका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरूले पनि गठबन्धनको फिर्तीले...
सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

मङ्गलबार सार्वजनिक गरिएको र पहिलो भेट (फस्र्टडेट) नाम दिइएको यो पहलले २१ देखि ३५ वर्ष उमेरका कर्मचारीलाई लक्षित गरेको छ । यसले केही डेटिङ एपसँग जोडिएको प्रोफाइल बारम्बार...