काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
महामन्त्री विपीन आचार्यकाअनुसार आज विहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका १० वटा एजेण्डा तय गरिएको छ ।
बैठकले पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालय सदस्य र विभाग प्रमुखहरु मनोनीत गर्दैछ ।
बैठकको एजेण्डामा साङ्गठनिक व्यवस्थापन तथा मनोनयनतर्फ केन्द्रीय समिति सदस्य मनोनयन र पदाधिकारी मनोनयन राखिएको छ ।
रास्वपाको विधानअनुसार सभापतिले वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री दुई, कोषाध्यक्ष, सहकोषाध्यक्ष दुई, प्रवक्ता, सहप्रवक्ता तीन जना मनोनीत गर्ने व्यवस्था छ ।
चितवन महाधिवेशनबाट रास्वपाले सभापतिमा लामिछाने, उपसभापतिमा डा स्वर्णिम वाग्ले, सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगीलाई निर्वाचित गरिसकेको छ ।
यसैगरी महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सभापति र प्रदेश सभापतिहरु पनि स्वत केन्द्रीय सदस्य चुनिएका छन् । १५८ सदस्यीय केन्द्रीय समितिमा अब सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।
आजको बैठकबाट केही पदाधिकारी र केन्द्रीय सदस्य पनि मनोनीत गर्ने सभापतिको तयारी छ । खासगरी पदाधिकारीमा कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्ने तयारी छ । केही केन्द्रीय सदस्य मनोनीत हुनेछन् । सभापति लामिछानेले योग्य र क्षमता व्यक्तिहरु खोजेर क्रमश मनोनीत गरिने बताइसकेका छन् ।
यसैगरी केन्द्रीय समितिबाट सचिवालय सदस्य मनोनयन सम्बन्धी निर्णय हुनेछ । यसअघि सभापति लामिछानेको संयाेजकत्वमा निर्वाचित पदाधिकारीहरू उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी सदस्य रहनेगरी सचिवालय गठन भइसकेको छ । सभापतिले थप सदस्य मनोनीत गर्नेछन् । रास्वपा विधानअनुसार ३३ सदस्यीय सचिवालयको व्यवस्था छ ।
यसैगरी केन्द्रीय समिति बैठकले विभागीय प्रमुखहरूको मनोनयन गर्दैछ ।
रास्वपाको संशोधित विधानअनुसार पार्टीमा २८ वटा विभाग छन् । सांगठानिक तथा परिचालन विभागहरू १२ वटा र सार्वजनिक नीति तथा विषयगततर्फ १६ वटा विभाग छन् ।
सांगठनिक तथा परिचालनतर्फ नीति तथा विचार विभाग, संगठन विभाग, प्रशिक्षण विभाग, अभियान तथा प्रचार प्रसार विभाग, आन्तरिक सूचना, प्रविधि तथा प्रणाली विभाग, मानव पूँजी, स्वंयसेवक तथा प्रशासन विभाग, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभाग, कानुनी मामिला तथा संस्थागत अनुपालन विभाग, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग, र्याट विभाग, स्वदेश सम्पर्क विभाग (प्रदेश विभाग, जिल्ला विभाग, पालिका विभाग), प्रवास सम्पर्क विभाग रहेको छ ।
सार्वजनिक नीति तथा विषयगततर्फ सुशासन तथा राज्य व्यवस्था विभाग, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग, अर्थ विभाग, कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग, शिक्षा तथा मानव पूँजी विकास विभाग, जनस्वास्थ्य विभाग, पूर्वाधार विभाग, उद्योग, वाणिज्य तथा लगानी प्रवर्द्धन विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभाग, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग, सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग, युवा सशक्तिकरण तथा खेलकुद विभाग र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग रहेको छ ।
रास्वपाले अनुशासन, निर्वाचन र लेखा गरी तीनवटा आयोगमा यसअघि नै प्रमुख मनोनीत गरिसकेको छ ।
महामन्त्री आचार्यकाअनुसार केन्द्रीय समिति बैठकले दस्तावेजतर्फ स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्नेछ । यसैगरी राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा निर्णय हुनेछ ।
बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धी निर्णय पनि लिनेछ ।
योजना, कार्यक्रम तथा अभियानतर्फ केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा "उम्मेदवार छनोट रूपरेखा" अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा निर्णय हुनेछ ।
यसैगरी पार्टीको मुखपत्रका रूपमा "स्वतन्त्र" मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्ध निर्णय हुने महामन्त्री आचार्यले बताए । उनकाअनुसार अन्य विविध विषयमा पनि छलफल हुनेछ ।