नेभिगेशन
समाज

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

काठमाडौं । शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ । मन्त्री बाँडफाँटमा पूर्वमाओवादी केन्द्र र एकीकृत समाजवादी घटकबीच सहमति जुट्न नसक्दा त्यसको असर मुख्यमन्त्री किरण थापा मगरले लिन लागेको विश्वासको मतमा समेत असर परेको छ ।

नेकपा संसदीय दलका उपनेता कृष्ण शर्मा खनाल, गंगानारायण श्रेष्ठलगायत केही सांसद सोमबार प्रदेशसभा बैठकमा अनुपस्थित भए । नेकपाकै सांसदहरू अनुपस्थित भएपछि दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक राति ८ बजेसम्म पनि बस्न सकेन । अन्ततः सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि उपसभामुख अप्सरा चापागाईंले मंगलबार अपराह्न ४ बजेका लागि बैठक बोलाएकी छन् ।

Ncell
Extreme Energy

संसदीय दलभित्र पर्याप्त छलफल नगरी निर्णय गरिएको, पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूले मात्रै पार्टी तथा सरकारका महत्त्वपूर्ण निर्णयमा प्रभाव जमाएको र शक्ति बाँडफाँट न्यायोचित नभएको भन्दै सांसदहरू असन्तुष्ट बनेका छन् ।

‘मन्त्री बाँडफाँट सम्मानजनक भएन । पूर्वमाओवादी केन्द्र खेमाभित्र पनि अन्तरविरोध देखियो,’ नेकपाका एक सांसदले भने ।

नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पनि दलभित्र असन्तुष्टि रहेको स्वीकार गरेका छन् । अनुपस्थित सांसदहरूका आफ्ना–आफ्ना कुरा हुन सक्ने भन्दै उनले सरकार गठन, मन्त्री छनोट र आफू पनि मन्त्री बन्ने विषयमा सांसदहरूको चासो स्वाभाविक भएको बताए ।

सभामुख र मन्त्रीमा रस्साकस्सी

नेकपाभित्र रिक्त सभामुख पद र थप एक मन्त्री छनोटलाई लिएर मुख्य विवाद देखिएको छ । एमाले र नेकपाबीचको सत्ता साझेदारीअनुसार सभामुख नेकपाको भागमा परेको बताइएको छ ।

सभामुखका लागि कृष्ण शर्मा खनाल र गंगानारायण श्रेष्ठलगायत आकांक्षी छन् । यसअघि रत्नप्रसाद ढकालको नामसमेत चर्चामा थियो । ढकाल जम्कट्टेल पक्षका हुन् ।

पार्टीभित्र पर्याप्त छलफल नगरी जिम्मेवारी बाँडफाँट गर्न खोजिएको भन्दै केही सांसद असन्तुष्ट बनेका छन् ।

यस्तै, किरण थापा मगर नेतृत्वको सरकारमा नेकपाले पाएका दुई मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरल सहयात्री पौडेललाई पठाइसकिएको छ । अर्को एक मन्त्री भने अझै छनोट हुन सकेका छैनन् ।

पूर्वमाओवादी पृष्ठभूमिबाट पौडेल मन्त्री भइसकेकाले तत्कालीन नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिबाट एक जनालाई मन्त्री बनाउनुपर्ने दबाब जम्कट्टेलमाथि छ । उक्त समूहले रमा आले मगरलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव गरेको बताइएको छ ।

मुख्यमन्त्रीका दाबेदार पनि असन्तुष्ट

कृष्ण शर्मा खनाल र गंगानारायण श्रेष्ठ यसअघि मुख्यमन्त्रीका दाबेदार थिए । सत्ता गठबन्धनको भागबण्डामा मुख्यमन्त्री पद एमालेको भागमा परेपछि श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए ।

खनाल र श्रेष्ठ दुवै यसअघि बागमती प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका छन् ।

नेकपाभित्र पूर्वमाओवादी पृष्ठभूमिका सांसद प्रेमबहादुर पुलामी पनि आफू पार्टीबाट पटकपटक अन्यायमा परेको भन्दै असन्तुष्ट छन् । यद्यपि उनी सोमबारको प्रदेशसभा बैठकमा उपस्थित थिए ।

पुलामीका अनुसार प्रदेशसभाको करिब नौ वर्षको अवधिमा आफू आबद्ध दल झन्डै सात वर्ष सत्तामा रहे पनि आफू मन्त्री बन्नबाट वञ्चित हुँदै आएका छन् । पार्टीको निर्णय कार्यान्वयनमा भने आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

राप्रपाको विवादले थप संकट

नेकपाभित्रको असन्तुष्टिसँगै सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवादले पनि मुख्यमन्त्री थापालाई अप्ठ्यारोमा पारेको छ ।

राप्रपाले मुख्यमन्त्री थापाको विश्वासको मतका क्रममा पार्टी निर्णयविपरीत मतदान गर्ने सांसदलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । सत्तारुढ गठबन्धनभित्रै सांसदहरूको असन्तुष्टि र राप्रपाको आन्तरिक विवाद कायम रहे मुख्यमन्त्री थापाका लागि विश्वासको मत जुटाउन चुनौती थपिएको छ ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । सत्ता साझेदार दलभित्रै देखिएको शक्ति संघर्ष तत्काल समाधान नभए त्यसको प्रत्यक्ष असर मुख्यमन्त्री थापाको विश्वासको मतमा पर्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौंमा सुरु भयो  १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौंमा सुरु भयो १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ ।
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।