नेभिगेशन
समाज

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

गैरीखर्क (नुवाकोट) । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै उड्यो। उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे। भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो। त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुन्चेलाई थर्कमान बनाएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'भोटेकोशीमा बाढी यति धेरै आएको थियो कि पाँच–दश मिनेट मैले केही सोच्नै सकिनँ', वीरबहादुरले रासससँग भने, 'एकछिनपछि त झल्यास्स सम्झिएँ, लौ मेरो जहान बच्चाहरूलाई बग्नबाट कसरी जोगाउने।'

Marvel
Extreme Energy

उनले त्रिशूली नदीको बगरमा बसाइएको बजार नुवाकोटको विदुर नगरपालिका–१० भैँसेलाई सम्झिए। अनि भैँसेस्थित घरमा रहेकी श्रीमती गङ्गालाई फोन गरे। 'श्रीमतीको फोन मरिगए पनि उठ्दैन', उनले सम्झिँदै भने।

वीरबहादुरलाई दिमागले काम गर्न छोडेजस्तै भयो। उनले तारन्तार फोन गरिरहे। श्रीमतीको फोन नउठेपछि उनले नौ कक्षामा पढ्दै गरेकी छोरी एविकालाई सम्झिए। उत्तरगया बोर्डिङ स्कुलमा पढ्ने एविका त्यतिबेला विद्यालय जाँदै थिइन्। उनी बुबाको फोन आएपछि बाटोबाटै पाखोतर्फ भागिन्।

'छोरीले एक कलमै फोन उठाइन्, अनि मैले धुन्चेबाट देखिरहेको सुनिरहेको दृश्यबारे उनलाई बताएँ', वीरबहादुरले भने, 'एकछिनपछि त श्रीमती र दाजु (रमेश) ले पनि फोन उठाउनुभयो।'

उनकी श्रीमती गङ्गा तामाङ गुरुङ त्यतिबेला खेतमा थिइन्। उनी घर पुग्दासम्म रमेशले ७१ वर्षीया सासु साइली र दुई वर्षको छोरोलाई घरमाथिको पाखोमा पुर्‍याइसकेका थिए।

वीरबहादुरको आफ्नै माइक्रोबस छ। उनले आफैँ त्यही माइक्रोबस बेत्रावतीबाट काठमाडौँको मार्गमा चलाउने गर्छन्। बाढी आएको दिन भने उनले धार्मिकस्थल गोसाइँकुण्ड जाने १० यात्रु लिएर बिहानै धुन्चे उक्लिएका थिए। उनका अनुसार यात्रुहरू सबै धादिङका थिए। उनीहरूले वीरबहादुरको माइक्रोबस भाडामा लिएर त्यसतर्फ गएका थिए।

'भाग्य बलियो रहेछ, त्यही भएर बाँचेँ', वीरबहादुरले भने। अरू बेला हुन्थ्यो भने उनको बिहानको समय काठमाडौँका लागि यात्रु खोज्नमै त्यही बेत्रावती र भैँसे वरपर बित्थ्यो। त्यसदिन गोसाइँकुण्ड जाने दर्शनार्थीका कारण वीरबहादुर बाढीको चपेटामा पर्न पाएनन्।

'अरू दिन हुन्थ्यो भने म मात्रै होइन, परिवार नै बाढीमा बग्थ्यो', उनले भने, 'धुन्चेमा भएर बेलैमा भोटेकोशीको बाढीबारे थाहा पाएँ, मेरो एक कल फोनले परिवार र छरछिमेक मात्रै होइन, टोलकै बासिन्दालाई बचाउन सकेँ।'

मानिस सुरक्षित भए पनि टोलका कुनै घर बाँकी नरहेका उनले बताए। सबै भोटेकोशीको बाढीमा विलय भएका छन्।

पाँच जनाको परिवार बाढीबाट जोगिएकामा वीरबहादुर औधी खुसी छन्। उनले भने, 'सम्पत्ति त फेरि–फेरि पनि जोड्न सकिएला, जीवन त कहाँ पाउनु?'

श्रीमान् वीरबहादुरको फोनले धेरैको ज्यान बचाउन सकिएकामा गङ्गा पनि खुसी छन्। 'खेतबाट निकै बेरसम्म बाढी आयो भनेर चिच्याएँ, धेरैले त सुरुआतमा विश्वासै गरेनन्', उनले भनिन्, 'टिमुरे र स्याफ्रुबेँसी पूरै बगायो भनेपछि सबै भाग्न थाले।'

उनले चिन्तित हुँदै दुःखले जोडेको करिब १० तोला सुन र रु १४ लाख भने बाढीबाट जोगाउन नसकेको बताइन्। उनले केही वर्षअघि लाखौँ रुपैयाँ खर्चेर एकतले पक्की घर बनाएकी थिइन्। तत्काल एक तला थप्ने सोचमा थिइन्।

'गहना र पैसा लिएरै भाग्न खोजेको भए परिवारै बग्थ्यो', गङ्गाले भनिन्, 'तर, मैले त्यसलाई आफ्नो ज्यान र छोराछोरीभन्दा प्यारो ठानिनँ, त्यसैले त आज नयाँ जीवन पाएँ।'

गरगहना र पैसा जोगाउन खोज्दा धेरैले ज्यान गुमाएका उनको अनुभव छ। भैँसेमा पनि सुन र नगद घरबाट निकाल्न खोज्दा कतिलाई बाढीले बगाएको उनले बताइन्।

आफ्नो र वीरबहादुरको सहित १० जनाको परिवार मात्र होइन, आफू बस्दै आएको टोलका करिब ३० परिवारलाई भाइको एक कलले बाढीबाट जोगाउन सकिएको दाजु रमेश गुरुङले जानकारी दिए।

उनले भैँसेमा खानाखाजाको पसल सञ्चालन गर्दै आएका थिए। उनको व्यापार राम्रै चलेको थियो। त्यसबेला रसुवागढी नाका किनमेल गर्न, कैलाश मानसरोवर तथा गोसाइँकुण्ड तीर्थाटन गर्न जानेहरूको निकै भीडभाड थियो। रमेशलाई बिहानदेखि रातिसम्म एकछिन फुर्सद हुँदैनथ्यो।

'पसलमा धेरै ग्राहक आएका थिए, खाना बनाउँदै थिएँ, एक्कासि भाइको फोन आयो। सबैलाई बाढी आयो भन्दै भाग्न भनेँ', रमेशले त्यो क्षण सम्झिँदै भने, 'धेरैले विश्वास नै गरेनन्, विश्वास नगर्नेहरूलाई बाढीले बगायो।'

बाढी भैँसे पुग्दासम्म रमेश चिच्याइरहे। वीरबहादुरले धुन्चेबाट फोन गरेपछि बाढी भैँसे पुग्न करिब आधा घण्टा जति लागेको उनको ठम्याइ छ।

ज्यान जोगाउन त्यो पर्याप्त समय रहेको रमेशले बताए। समय सदुपयोग भने आफ्नो कुरा पत्याउनेको हकमा मात्रै लागू भएको उनले अनुभव सुनाए। अन्यत्रभन्दा भैँसेमा मानवीय क्षति कम भएको रमेशले बताए। तर बाढीबाट ज्यान गुमाउनेको यकिन तथ्याङ्क उनीसँग पनि छैन।

'बाँचेकाहरूसँग पनि यसबीचमा थोरै जनासँग भेट भएको छ, अरू त को कता भागे अत्तोपत्तो छैन।'

रमेशले भैँसेमा झण्डै रु एक करोड लगानीमा घर बनाएका थिए। त्यसैमा खानाखाजाको पसल चलाउँदै आएका थिए।

'अहिले व्यापारको याम हो, दैनिक रु २०–२५ हजारको कारोबार हुन्थ्यो', उनले भने, 'यो यामको तीन–चार महिनाको कमाइले वर्षभरि खान, लगाउन र छोराछोरी पढाउन पुगेको थियो। झण्डै रु ४० लाख जति घर बनाउँदाको ऋण बाँकी नै थियो।'

रमेशको जेठो छोरा काठमाडौँमा पढ्छन्। अर्को छोरा भैँसेमा चण्डेश्वरी माविमा पढ्छन्। विद्यालय गएको छोरालाई उनले झण्डै चार घण्टापछि मात्र भेट्टाए।

'स्कुलकै साथीहरूसँग भागेको रहेछ, बाढीले बगायो कि भन्ने चिन्तामै थिएँ, पछि त सम्पर्कमा आयो', उनले भने।

श्रीमतीले मोबाइल लिन घरभित्र पस्न खोजे पनि आफूले जान नदिँदा ज्यान जोगिएको रमेशले बताए।

वीरबहादुर र रमेशको परिवार पनि यतिबेला शोकमा डुबेको छ। उनीहरूको परिवारकी एक सदस्य तेराना तामाङलाई भने बाढीले बगायो। उनी त्रिशूली अस्पतालमा नर्स थिइन्। तर अघिल्लो राति उनी शोलेस्थित घर गएकी थिइन्। अर्को बिहान घरबाट अस्पताल पुग्नै पाइनन्।

'सबै शोकमा छन्, एकले अर्कोलाई हेरेर चित्त बुझाउनु परिरहेको छ', रमेशले भने।

यही भदौ १० गते भोटेकोशीमा बाढी गएपछि नुवाकोटको अति प्रभावित क्षेत्र भैँसेका १५० जना विस्थापितलाई नजिकैको सुरक्षित स्थानमा होल्डिङ सेन्टरमा राखिएको रमेशले बताए। उनीसहित छ परिवार भने भैँसेमाथिको गैरीखर्कमा आफन्तकहाँ आश्रय लिएर बसेका छन्। सरकारले विस्थापितलाई राहत सामग्री उपलब्ध गराइरहेको उनले जानकारी दिए।

'म दिनहुँ होल्डिङ सेन्टरमा गइरहन्छु, खानेकुराको कुनै कमी छैन, विभिन्न निकायले दैनिक राहत सामग्री दिइरहेका छन्', रमेशले भने, 'यसरी लामो समयसम्म बस्न सकिने अवस्था छैन, सरकारले उचित बसोबासको व्यवस्था गरिदिए हुन्थ्यो, पानी निरन्तर परिरहेकाले बास बस्नेलाई समस्या छ।'

बाढीका कारण विस्थापित भएकाहरूलाई मुख्यतया छोराछोरीको पढाइको चिन्ताले सताएको उनको भनाइ छ। बालबालिका, महिला, परिवारका सदस्य गुमाएकालगायत विस्थापित सबैलाई मनोपरामर्शको खाँचो देखिएको उनले बताए।

विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालले बाढीबाट आफ्नो वडा अत्यधिक प्रभावित भएको बताए। उनका अनुसार सो वडामा बाढीबाट २५६ परिवारका एक हजार २०० जना प्रभावित भएका छन्। उनका अनुसार बाढीमा परेर २३९ जना बेपत्ता भएका छन्।

वडाध्यक्ष नेपालले विस्थापित भएकाहरूलाई गेल्फुटारस्थित सुन्दरीकेउरिनी माविमा राखिएको बताए। बाढीमा परेर स्थानीय उत्तरगया बोर्डिङ स्कुलका अनुमानित २०० विद्यार्थी बेपत्ता भएका उनले बताए। उनका अनुसार बेपत्ताको तथ्याङ्क सङ्कलन भइरहेको छ।

प्रभावित विद्यार्थीलाई नजिकका सुरक्षित विद्यालयमा पढ्न पठाउन उनीहरूका अभिभावकलाई सुझाव दिइएको वडाध्यक्ष नेपालले बताए। विदुर नगरपालिकाले बाढी विस्थापित प्रत्येक परिवारलाई तत्कालका लागि रु १० हजार उपलब्ध गराउने निर्णय गरेको उनले उल्लेख गरे।

विभिन्न सङ्घसंस्था तथा अन्य निकायले पनि आर्थिक सहयोग गरिरहेका भन्दै उनले सबैप्रति आभार व्यक्त गरे।

सरकारले बसोबासका लागि उचित व्यवस्था नगर्दासम्म सो वडाका विस्थापितलाई सुरक्षित स्थानमा बसोबास गर्न सुझाव दिँदै वडाध्यक्ष नेपालले त्यसका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै