नेभिगेशन
समाज

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले उनीहरू जलवायु परिवर्तनका कारण सिर्जित संकटको असमान भार बेहोरेका ‘जलवायु अन्यायका पीडित’ भएको बताए।

Ncell
Extreme Energy

'भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौँ, हुनु हुँदैन । ती त जलवायु अन्यायका पीडित हुन्,' उनले भने।

जलवायु परिवर्तनमा ती नागरिकको कुनै भूमिका नभए पनि त्यसको सबैभन्दा ठूलो मूल्य उनीहरूले जीवन दिएर चुकाउनुपरेको लामिछानेको भनाइ छ।

'पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन् । हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन् । अहिलेको जलवायु संकट उनीहरूको सिर्जना थिएन,' उनले भने, 'तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धर्तीपुत्रहरूले र त्यो भूगोलसँग कुनै चिनजान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए।'

लामिछानेले विपत्तिमा ज्यान गुमाएका नागरिकको मृत्युमा केवल शोक व्यक्त गरेर नपुग्ने भन्दै घटनालाई जलवायु न्यायको अभियानसँग जोड्नुपर्ने बताए।

'हजारौँ मानिसको यो अन्यायपूर्ण बलिदानलाई अब सामान्य श्रद्धाञ्जलीमा सीमित गरिरहन सकिन्न । हामीले संकल्प गर्नैपर्छ, यो शहादतलाई न्यायको औजार बनाएर जलवायु न्यायको ढोका ढक्ढक्याउनेछौँ,' उनले भने।

सुरक्षाकर्मीको गरे प्रशंसा

लामिछानेले विपत्तिमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले देखाएको साहस र समर्पणको प्रशंसा गरे।

बाढी तथा पहिरोका बीच कतिपय सुरक्षाकर्मी आफैँ प्रभावित हुँदाहुँदै पनि उद्धारमा खटिएको उनले बताए।

'आफ्नै पीडालाई मनभित्र थाती राखेर अरूको जीवन बचाउन दौडिनुभयो । आफ्नो जीवनको पर्वाह नगरी अरूको जीवन बचाउन दौडिएका हाम्रा सुरक्षाकर्मीहरूको करुणा, साहस, समर्पण र प्रतिबद्धताप्रति यो देश कृतज्ञ रहनेछ,' उनले भने।

उनले स्थानीय तहमा खटिएका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, विद्युत् तथा खानेपानीका प्राविधिक, स्वयंसेवक र स्थानीय नागरिकले पनि उद्धार तथा राहतमा महत्वपूर्ण भूमिका खेलेको बताए।

‘राज्य यतिबेला नागरिकको प्राण खोजिरहेको छ’

रास्वपा सभापति लामिछानेले विपत्तिपछि सरकारले उद्धार, उपचार, राहत र अस्थायी बसोबासका लागि राज्य संयन्त्र परिचालन गरेको भन्दै सरकारको भूमिकाको बचाउ गरे।

‘राज्य कहाँ छ ?’ भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै उनले राज्य अहिले प्रभावित नागरिकको उद्धार र पुनःस्थापनामा सक्रिय रहेको बताए।

'राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,' उनले भने, 'राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छहारी बन्न रातदिन खटिरहेको छ।'

उनका अनुसार राज्यले बाढीले बगाएका सडक र पुल पुनःनिर्माणसँगै विपत्तिले टुटाएको नागरिकको भरोसा जोड्ने प्रयास गरिरहेको छ।

लामिछानेले उद्धार तथा राहतका लागि सरकारले गरेको प्रयासलाई राजनीतिक पूर्वाग्रहका आधारमा मात्र मूल्याङ्कन गर्न नहुने बताए।

'यो विपत्तिमा सरकारको भूमिकालाई पनि सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ,' उनले भने।

विपत्तिको सुरुवाती घन्टादेखि नै सरकारले राज्यका सबै संयन्त्र परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको उनको दाबी छ। हवाई उद्धारको ठूलो र व्यवस्थित अभियान सञ्चालन गरिएको तथा घाइतेको उद्धार र उपचार, विस्थापित परिवारको अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकार सक्रिय रहेको उनले बताए।

‘जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक’

लामिछानेले विपत्तिमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, सहयोगी संस्था र व्यक्तिहरूप्रति आभार व्यक्त गरे।

उनले जलवायु परिवर्तनबाट नेपालजस्ता मुलुकले ठूलो क्षति बेहोर्नुपरेको भन्दै आगामी दिनमा जलवायु न्यायको अभियानमा अन्तर्राष्ट्रिय समुदायको थप सहयोग आवश्यक रहेको बताए।

उनले निजी क्षेत्र, सञ्चारमाध्यम, गैरआवासीय नेपाली, सामाजिक संघसंस्था, नागरिक संगठन तथा आम नागरिकले संकटका बेला निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरे।

सम्बोधनका क्रममा लामिछानेले विपत्तिमा ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य अझै जारी रहेकाले सुखद् समाचारको आशा मर्न नदिएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।
जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

उनले प्रश्न गरिन्– ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’
बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई उनीहरूको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।

भर्खरै