नेभिगेशन
समाज

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै लामिछानेले गहिरो चोट र अप्रत्याशित शोकमा रहेका नागरिकको आक्रोशलाई सरकारविरुद्धको प्रहारका रूपमा नभई राज्यसँगको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताए।

Ncell
Extreme Energy

'जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?' उनले भने।

राज्य आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि खटिरहेको उनले बताए। स्रोत, साधन र प्रविधिमा सीमितता भए पनि उपलब्ध क्षमता, सीप र कौशलको उच्चतम प्रयोग भइरहेको उनको भनाइ थियो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले विपद्मा देखाएको साहस र समर्पण जागिरे ‘ड्युटी’ मात्र नभई मातृभूमि र नागरिकप्रतिको सर्वोच्च निष्ठा भएको उनले बताए।

'जहाँ मृत्यु ढुकेर बसेको हुन्छ, जहाँ अर्को पहिरो खस्ने संशय हुन्छ, त्यस्तो मृत्युको कालो सुरुङभित्र आफ्ना नागरिकलाई बचाउन उहाँहरू जसरी आफ्नो ज्यान हत्केलामा राखेर होमिनुभएको छ, त्यो अदम्य साहस देखेर म मात्र होइन, आज सिंगो देश नतमस्तक छ,' उनले भने।

सुरक्षाकर्मीको आँट, ऊर्जा र नागरिकप्रतिको निःस्वार्थ दायित्वबोधलाई संसद्को रोस्ट्रमबाट उच्च सम्मानसहित सलाम गर्न चाहेको लामिछानेले बताए।

विपद्लाई अवसर बनाएर आरोप–प्रत्यारोप गर्ने प्रवृत्तिप्रति उनले असन्तुष्टि जनाए। यस्तो अवस्थामा राजनीतिको रोटी सेक्ने समय नभएको उनको भनाइ थियो।

अकल्पनीय विपद्का कारण हजारौँ परिवारले घरबार, जायजेथा, बस्ती, छिमेक, खेतबारी र जीवनभरको कमाइ गुमाएको उल्लेख गर्दै उनले कतिपयले आफ्ना प्राणभन्दा प्यारा परिवारका सदस्यसमेत गुमाएको बताए।

बेपत्ता आफन्तको खोजीमा रहेका परिवारको पीडा सुरक्षित स्थानमा बसेर अनुमान गर्नसमेत कठिन हुने उनले बताए।

विद्यालय गएका छोराछोरी फर्किन्छन् कि भनेर भत्किएको संघारमा बाटो हेरिरहेका अभिभावक, मृत्युको अँध्यारो सुरुङभित्र प्रियजनको सास बाँकी छ कि भनेर बगरमा भौँतारिरहेका आफन्त तथा लेदो र हिलोले पुरिएको घरबाट आवाज आउँछ कि भनेर पर्खिरहेका परिवारको अवस्था कल्पनाभन्दा बाहिर रहेको उनले बताए।

यस्तो अवस्थामा सर्वस्व गुमाएका र मृत्युसँग पौठेजोरी खेलिरहेका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको लामिछानेले बताए।

'उनीहरूलाई त केवल एउटै कुरा चाहिएको हुन्छ– मेरो प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुग्नेओस्, उद्धार गरिदियोस्,' उनले भने, 'यो आश निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नैसर्गिक अधिकार हो।'

लामिछानेले नागरिकको आक्रोशलाई आफूहरूविरुद्धको प्रहारका रूपमा नलिई राज्यसँग गरिएको अन्तिम गुहारका रूपमा बुझ्न सरकार, राज्यका संयन्त्र र पार्टी पंक्तिलाई आग्रह गरे।

'नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा र राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ,' उनले भने।

उनका अनुसार नागरिकको आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो। नागरिकको अवस्था र मनस्थितिलाई समानुभूतिका साथ महसुस गर्नु राज्य र राजनीतिक नेतृत्वको दायित्व भएको उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै