नेभिगेशन
समाज

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

काठमाडौं । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने गरी उर्लेर आएको भीषण बाढीले रसुवा भोटेकोशी र त्रिशूली नदी किनारका सुन्दर बस्ती र भूगोललाई क्षणभरमै क्षतविक्षत तुल्यायो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल–चीनबीच रहेको केरुङ अन्तर्राष्ट्रिय नाकास्थित दुवै देशका महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीको हताहत भयो भने दशकौँ लगाएर तयार गरिएका भौतिक पूर्वाधारसम्बन्धी संरचना पनि एकैसाथ ढले। नदी किनारका सुन्दर बस्तीहरू खण्डहरमा परिणत भए। ती ठाउँ सञ्चार र सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भए। त्यस बाढीमा परी हराइरहेकामध्ये एक हजार ३६७ जनाको शव प्राप्त भएको छ।

Ncell
Extreme Energy

मानसरोवर र गोसाइँकुण्डको तीर्थयात्रामा रहेका ५०० भन्दा बढी विदेशी नागरिकको ज्यान गयो। त्यस बाढीमा परी पाँच हजारभन्दा बढी नागरिक अहिले सम्पर्कविहीन छन्। त्यस क्षेत्रबाट हालसम्म बाढीप्रभावित १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। बाढीसँगै आएको लेदोसहितको छालले विद्यालयमा पढिरहेका विद्यार्थी, ड्युटीमा खटिरहेका सुरक्षाकर्मी, घरधन्दा गरिरहेका गृहणी, व्यापार व्यवसाय गरिरहेका नागरिक, सुरुङमा काम गरिरहेका इन्जिनियर, मजदुरसहित ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान लियो। त्यस क्षेत्रका सडक भत्केर खोचमा परिणत भए।

चारैतिर हिलोको साम्राज्यजस्तो भयो। दुवै नदी किनारका क्षेत्र सिमेन्ट प्लास्टर गरेको मैदानजस्तो देखिए। बाढीको त्यस खालको क्रन्दनबाट परिवार, आफन्त र धनमाल गुमाएका रसुवावासीको आँसु, चित्कार र कोलाहलकाबीच रसुवावासीका लागि हेलिकप्टरको उडान नै बाँच्ने र बचाउने एकमात्र जीवनको आधार बन्न पुग्यो। बाढीको उग्ररूपले प्रभावित क्षेत्रका सबै खाले पुलपुलेसा बगाएकाले वारि–पारि तथा ओल्लोबाट पल्लोगाउँ पुग्ने विषय कल्पनाबाहिर थियो।

यही विभीषिका र त्रासदीको भूमरीका बीच रसुवाको अस्थायी हेलिप्याडमा हेलिकप्टर चालक क्याप्टेन प्रिया उत्रिइन्। त्यस दिनको घटनाको स्मरण गर्दै उनी भन्छिन्, 'मेरो वरिपरि रोइरहेका आफन्तहरू, पहिरोमा पुरिएर घाइते भएकाको छटपटी र टोलाइरहेका वृद्धवृद्धाको भीड थियो। मौसम असाध्यै प्रतिकूल थियो। बाक्लो कुहिरो र कालो बादलले रसुवाका अप्ठ्यारा पहाडका टाकुरालाई पूर्ण रूपमा ढाकेका थिए। हावाको गति तीव्र थियो। यस्तो अवस्थामा उडान भर्नु भनेको सिधै मृत्युको ककपिटमा बस्नुसरह थियो।'

त्यस बेला बाढीप्रभावित क्षेत्रमा उद्धार टोली र स्थानीय आकाशतिर हेर्दै प्रार्थना गरिरहेका थिए। ठीक त्यही निसासिँदो बादललाई चिर्दै, पहाडका कापबाट जोगिँदै धुञ्चेको आकाशमा एउटा हेलिकप्टर ओर्लियो। ब्लेडको कानै खाने आवाजका बीच हेलिकप्टर भुइँमा टेक्यो र ककपिटको ढोका खुल्यो। सैनिक पोसाकजस्तै कडा मिहिनेत झल्किने पोसाक, एभिएटर चश्मा र अनुहारमा एउटा गम्भीर एकाग्रता बोकेर ककपिटबाट उनी ओर्लिइन्।

मैले प्रियालाई धेरै नजिकबाट नियाल्ने मौका पाएँ। उनको अनुहारमा न त कुनै थकान देखिन्थ्यो, न त मौसमको त्यो डरलाग्दो रूपप्रतिको भय। उनको आँखा र सोच थियो त केवल, 'कसरी छिटोभन्दा छिटो घाइते र जोखिममा परेकालाई सुरक्षित स्थानमा पुर्‍याउने', भन्ने दृढ मानवीय सङ्कल्प।

हेलिकप्टरको इन्जिन बन्द नहुँदै उनी आफैँ हिलोमा कुद्दै अघि बढिन्। पहिरोले क्षतविक्षत भएका वृद्धवृद्धालाई पिठ्युँमा बोक्न सघाउनेदेखि रोइरहेका बालबालिकालाई फकाएर हेलिकप्टरभित्र सिटमा बाँध्नेसम्मको काममा उनी आफैँ खटिएकी खटिइन्। पहिरोको हिलो र पीडितको आँसुका बीच उनको त्यो सक्रियता साच्चिकै मानवीयताले भरिएको देखिन्थ्यो।

सामान्य अवस्थामा हिमाली र पहाडी भेगमा एक–दुई पटक उडान भर्न पनि पाइलटहरूले निकै कसरत र मौसमको पर्खाइ गर्नुपर्छ। तर, रसुवाको त्यो असाध्यै कठिन भूगोल, साँघुरो उपत्यका र कतिपय अवस्थामा शून्यप्रायः भिजिबिलिटी (दृश्यता) का बीच पनि प्रियाले दैनिक १० पटकसम्म उडान भरिन्। एकपटक उड्नु, घाइतेलाई काठमाडौँ वा सुरक्षित अस्पताल पुर्‍याउनु अनि फेरि तुरुन्तै रसुवाको जोखिमयुक्त आकाशमा फर्किनु कुनै सामान्य व्यावसायिक जिम्मेवारी मात्र थिएन, विरलै देखिने साहस थियो।

प्रत्येक पटक हेलिकप्टर आकाशतर्फ उड्दा भुइँमा बस्नेहरूका आँखामा आशाको त्यान्द्रो पलाउँथ्यो भने उनी फर्किंदा कयौँको जीवन जोगिइसकेको हुन्थ्यो। उडान र उद्धारको एउटा छोटो विश्रामका बेला मैले हेलिप्याडको कुनामा प्रियासँग नजिकै पुगेर कुराकानीको प्रयास गरेँ।

हेलिकप्टरको इन्जिनको चर्को आवाज र हावाको बेगका बीच उनले आफ्नो पसिना पुछ्दै भनिन्, 'जब म ककपिटमा बस्छु र कप्टरले जमिन छाड्छ, मलाई मेरो अगाडिको खराब मौसम वा खतराको महसुस नै हुँदैन। मेरो दिमाग र नजरमा केवल भुइँमा छटपटाइरहेका, उद्धारको पर्खाइमा रहेका ती निर्दोष अनुहार मात्र नाच्छन्। उनीहरूलाई समयमै बचाएर सुरक्षित ठाउँमा पुर्‍याउन पाउनु नै मेरो उडानको सबैभन्दा ठूलो सार्थकता र ऊर्जा हो।'

उनको यो आँटिलो अनि जोसिलो वाक्यले त्यहाँ उपस्थित सबैको मन ढुकढुक बनायो।

त्यो बाढीले रसुवाको जमिन मात्र हल्लाएको थिएन, सिङ्गो देशको मन कम्पन गराएको थियो। तर, त्यो आँसु र हिलोको दलदलकाबीच क्याप्टेन प्रियाजस्ता साहसी सारथीले मल्हम लगाउने काम गरिन्। दिनमा १० पटक मृत्युसँग जुध्दै जीवनको उडान भर्ने क्याप्टेन अधिकारीको साहस रसुवाको इतिहासमा र नेपाली नागरिकको मनमा सधैँ एउटा मार्गदर्शक र प्रेरणादायी कथाका रूपमा जीवित रहनेछ।

मिस नेपालको मञ्चदेखि नेपाली आकाशसम्मको सफल यात्रा तय गरेकी क्याप्टेन प्रिया अधिकारी हालैको बाढीप्रभावित रसुवा जिल्लामा नागरिकको जीवन बचाउने महाअभियानमा अहोरात्र खटिएकी देशकै पहिलो महिला हेलिकप्टर क्याप्टेन हुन्।

बाढीपछि रसुवा पुगेपछि क्याप्टेन अधिकारीको दैनिकी पूर्ण रूपमा उद्धार उडानमै व्यस्त रह्यो। यसबीचमा उनले १०० भन्दा बढी उद्धार उडान गरिन्। विशेष गरी रसुवाको टिमुरे तथा नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा फसेका, घाइते भएका र अलपत्र परेका नागरिकहरूको उद्धारमा उनको हेलिकप्टर निरन्तर उडिरह्यो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै