नेभिगेशन
समाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

काठमाडौँ । साँझ ७ बजे । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा कुनै तामझाम थिएन ।  सामान्यतया प्रधानमन्त्री वा राष्ट्रपति औपचारिक विदेश भ्रमणमा जाँदा एयरपोर्टमा उत्सवको माहोल हुन्थ्यो । सरकारका मन्त्रीहरु, सांसदहरु, उच्च पदस्थ कर्मचारी, राजदूतहरु र राजनीतिक दलका नेताहरुको लर्को लाग्थ्यो । अति विशिष्ट कक्षमा आर्मीले गार्ड अफ अनर अर्थात् सलामी दिन्थ्यो । आर्मीको सलामीपछि उपस्थित भीआईपीहरुबाट पुष्पगुच्छा लिएर हात हल्लाउँदै प्रधानमन्त्री विमानतर्फ प्रस्थान गर्थे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन । सामान्य औपचारिकता पूरा गरेर प्रधानमन्त्री बालेन जहाज चढे, अमेरिकाको न्युयोर्क प्रस्थान गरे ।  प्रधानमन्त्री बनेपछि विदेशी राजदूतहरुसँगको भेटमासमेत परम्परागत कूटनीतिक प्रोटोकल भन्दा फरक शैली अपनाएका बालेनले आफ्नो पहिलो विदेश भ्रमणमा पनि पुरानो परम्परा तोडिदिए । 

Ncell
Extreme Energy

एयरपोर्टको भीभीआईपी लाउन्जमा औपचारिक कार्यक्रमसमेत नगरी प्रधानमन्त्रीको सवारी जहाजसम्म पुग्यो । नेपालका प्रधानमन्त्रीले विदेश भ्रमणमा गर्दा यस्तो शैली अहिलेसम्म अपनाइएको थिएन, यस्तो देखिएको थिएन । 

संसारकै कान्छा प्रधानमन्त्री बालेनले सात महिनामा थुप्रै पुराना अभ्यास र परम्परा तोडेका छन् । कतिपयले यसलाई क्रम भंगता पनि भनेर टिप्पणी गर्छन्। यो सरकारको आधार जेनजी आन्दोलन हो । नयाँ पुस्ताको बलिदानीबाट बनेको सरकार हो । नयाँ पुस्ता तामझाममा होइन, काममा विश्वास गर्छ । कुरामा होइन परिणाममा विश्वास गर्छ । त्यही नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने प्रधानमन्त्री बालेनले एउटा अर्को अभ्यास र परम्पराको थालनी गरेका छन्– एयरपोर्टबाट । 

बालेनले किन यसो गरे ? यसमा पनि बहस सुरु भइसकेको छ । यसका मुख्य दुई कारण छन् । पहिलो– उनी नयाँ पुस्ताका प्रतिनिधि हुन् । उनी पुराना अनावश्यक परम्परामा विश्वास गर्दैनन्, केबल परिणाममा विश्वास गर्छन् । 

दोस्रो– भोटेकोशी बाढीका कारण सिंगो देश शोकमग्न छ । भोटेकोशीमा जसरी बाढी आयो, यो घटनाबाट संसार नै त्रसित छ । शक्ति राष्ट्रहरुको सामरिक र औद्योगिक प्रतिस्पर्धाका कारण पृथ्वीको तापक्रम जसरी बढिरहेको छ र त्यसले जसरी जोखिम बढाइरहेको छ, यो अवस्थामा हुने भ्रमण उत्सव होइन । प्रधानमन्त्री बालेन भोटेकोशीले दिएको पीडा संसारसामु राख्न र जलवायु न्याय माग्न अमेरिका प्रस्थान गरेका हुन् । मुख्यरुपमा यिनै दुई कारण हुन्, जसले प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणमा एयरपोर्टमा हुने औपचारिक समारोह र तामझाम बन्द गराइदिए । 

१० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेकामध्ये हालसम्म साढे चौध सय भन्दा बढीको शव फेला परिसकेको छ । ५ हजार ७ सयभन्दा बढी अझै सम्पर्कविहीन छन् । यो हदसम्मको विपत्ति आउला भनेर कसैले सोचेको थिएन । नसोचेको भयो, अकल्पनीय क्षति भयो । 

यो अकल्पनीय विपत्ति नआएको भए प्रधानमन्त्री बालेन राष्ट्रसंघको महासभाका लागि अमेरिका जाने नै थिएनन् । सरकारले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक प्रतिनिधि मण्डल न्युयोर्क पठाउने निर्णय गरिसकेको थियो । जब भदौ १० मा भोटेकोशीमा अप्रत्याशीत भेलबाढी आयो र त्यसले जनधनमा ठूलो क्षति पु¥यायो, त्यसपछि हो– बालेन अमेरिका जाने कार्यक्रम तय भएको हो । 

नेपालले भोग्नु परेको विपत्तिको मुख्य कारण जलवायु परिवर्तन हो । जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य छ । तर, असर र जोखिम भयानक छ । हरेक वर्ष नेपालले विपत्तिको सामना गर्नुपरेको छ । हिमाल पग्लेका छन्, हिमनदी र हिमताल फुटेका छन् । जनधनको ठूलो क्षति भोगिरहनु परेको छ । हो, यही विषय संसारलाई सुनाउन बालेन अमेरिका उडेका हुन् । महासभामा परराष्ट्रमन्त्रीले भन्दा सरकार प्रमुखले नै बोल्दा थप प्रभावकारी हुने र संसारको ध्यानाकर्षण गराउन सकिने भएकाले उनको अमेरिका भ्रमण तय भएको हो । 

जब बालेनले आफै अमेरिका जाने निर्णय लिए, त्यसपछि उनले विज्ञ र सरोकारवालाहरुसँग छलफल गरे । प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिधिदेखि संघीय सांसदहरुसँग, स्थानीयवासीदेखि विषय विज्ञहरुसँग छलफल गरे । संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि बालेनले परामर्श गरे । समग्र छलफल, परामर्श, विज्ञहरुको सुझाव र अध्ययनका आधारमा बालेनले राष्ट्रसंघको महासभामा धारणा राख्ने छन् । 

बालेनले कुन कुन विषय उठाउलान् त ? यसबारे सर्वत्र चासो छ । उनको सम्बोधनको पूर्ण विवरण त सार्वजनिक भइसकेको छैन, तर, राजनीतिक दलका नेता र विषय विज्ञहरुसँग गरेको छलफलका आधारमा उनले तय गरेका मुख्य एजेण्डा भने आइसकेका छन् । 

मुख्यगरी प्रधानमन्त्री बालेनले विनाशकारी भोटेकोशी बाढी र त्यसले निम्त्याएको जनधनको क्षतिको विवरण अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछन् । प्राकृतिक प्रकोपका कारण नेपाल जस्ता देशले व्यहोर्नुपरेको पीडा र यसको पुनर्निर्माणका लागि आवश्यक विश्वव्यापी सहयोगबारे उनले कुरा राख्नेछन्।

त्यसैगरी प्रधानमन्त्री बालेनले जलवायु न्याय र क्षतिपूर्तिका विषयमा पनि महासभामा धारणा राख्ने छन् । विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार खेपिरहेको मुद्दालाई उनले जोडदार रूपमा उठाउनेछन्। यसअन्तर्गत जलवायु परिवर्तनका कारण भएको क्षतिको सम्बोधनका लागि हानि–नोक्सानी कोष मार्फत नेपालले उचित क्षतिपूर्ति र आर्थिक सहयोग पाउनुपर्ने माग अघि सार्नेछन् । 

बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रका हिमनदीहरू पग्लिने क्रम र त्यसले तल्लो तटीय क्षेत्रमा पारेको वातावरणीय प्रभावबारे प्रधानमन्त्री बालेनले विश्व समुदायको ध्यानाकर्षण गराउनेछन् । सम्बोधनकै क्रममा बालेनले नेपालमा भएको राजनीतिक परिवर्तन र जेनजी युवाहरुको आन्दोलनबाट प्राप्त उपलब्धिका बारेमा विश्वलाई जानकारी गराउने छन् । 

एक वर्षअघि नेपालमा भएको जेनजी आन्दोलनले संसारको ध्यान तान्यो । गत फागुनमा भएको चुनावमा नेपाली जनताले रास्वपाको पक्षमा जुन मत र अभिमत प्रकट गरे, त्यसले पनि विश्वलाई नयाँ सन्देश दियो । बालेन काठमाडौँको मेयर हुँदा नै चर्चित थिए, जब उनी दलीय राजनीतिमा सहभागी भए, उनको चर्चा थप चुलियो । प्रधानमन्त्री बनेपछि त उनी निरन्तर चर्चामा छन्, संसारभरका मिडियाहरुले उनलाई फलो गरिरहेका छन् । चर्चैचर्चाका बीच बालेनले संयुक्त राष्ट्रसंघको महासभालाई गर्न लागेको सम्बोधनले पनि विश्व जगतको चासो बढाएको छ । 

तालिकाअनुसार बालेनले असोज ८ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् । त्यही क्रममा नेपालले आयोजना गर्ने साइडलाइन डाइलगमा पनि उनी सहभागी हुनेछन् । महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन असोज १० गते नेपाल फर्कनेछन् । विगतमा अन्य प्रधानमन्त्रीहरु कम्तीमा एक हप्ता अमेरिकामा रहन्थे । सरकारी खर्चमा अमेरिकाका विभिन्न सहरहरुको घुमफिर गर्थे । अमेरिकामा रहेका पार्टीका शुभेच्छुक र पारिवारिक आफन्त तथा नातेदारहरुसँग भेटघाट र रमाइलो गर्थे । तर, प्रधानमन्त्री बालेन महासभा बाहेकका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन् । सम्बोधन गरेलगत्तै फर्कनेछन् । महासभाका नाममा कयौं दिन विदेशमा रहने विगतको परम्परा पनि उनले तोड्नेछन् । 

हामीले अघिल्लो भिडियोमा बालेन महासभामा कसरी प्रस्तुत हुनेछन्, उनको गेटअप कस्तो हुने छ भनेर बताएका थियौँ । ५९ वर्षअघि तत्कालीन राजा महेन्द्रको प्रस्तुति र अभिव्यक्तिसँग पनि  यसपालि बालेनको प्रस्तुति र अभिव्यक्तिलाई दाँजेर हेर्न थालिएको छ । 
पक्कै पनि बालेनले राष्ट्रसंघमा दमदार प्रस्तुति दिने छन् । संसारको ध्यान खिच्ने छन् । नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री बालेनले हिमाली राष्ट्रहरुका मुद्दा जोडदार रुपमा उठाउने छन् । उनले आम नेपालीलाई निराश बनाउने छैनन् । एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले उठाउने मुद्दालाई राष्ट्रसंघले पक्कै पनि आफ्नो मुद्दा बनाउने छ । किनभने महासचिव गुटेरेसले दुई वर्षअघि मात्रै नेपालको भ्रमण गरेर जलवायु परिवर्तनले कस्तो असर पारिरहेको छ भनेर आफ्नै आँखाले हेरिसकेका छन्, बुझिसकेका छन् । यी विषयलाई शक्ति राष्ट्रहरुले पनि नजरअन्दाज गर्न मिल्दैन । किनभने नेपालले नगरेको गल्तीको सजाय भोग्नु परेको छ । नेपाललाई नखाएको विषले पोलेको छ । जुन जुन देशले जलवायु परिवर्तनको गतिलाई बढाइरहेका छन्, कार्वन उत्सर्जनलाई बढावा दिइरहेका छन्, विश्वव्यापी तापमान वृद्धिमा योगदान पु¥याइरहेका छन्, अब ती देशले क्षतिपूर्ति दिनुपर्छ, जिम्मेवारीबाट कुनै पनि मुलुक पन्छिन पाउनेछैनन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...