काठमाडौँ । आज बिहानैदेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा सिमसिम पानी परिरहेको छ । असोज ८ गतेदेखि देशका अधिकांश क्षेत्रमा भीषण वर्षाको प्रक्षेपण भइरहेका बेला अघिल्लो दिन बिहानै भएको वर्षाले डर बढाएको छ । कतै आज परिरहेको पानी भोलिदेखि हुने भनिएको भीषण वर्षाको पूर्वसंकेत त होइन ? आगामी तीन चार दिनले सरकारसँगै हामी आम नागरिकको पनि परीक्षा लिँदैछ ।
भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय क्षेत्रमा देखियो। घटनाले नेपालमा विपद्को पूर्वानुमान र पूर्वसूचनासँगै सूचना पाएपछि राज्यका संयन्त्र कति छिटो परिचालित हुन्छन् भन्ने प्रश्न पनि उठायो। अहिले त्यही प्रश्नको अर्को परीक्षा हुँदैछ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप सक्रिय हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दैछ। यसको प्रभाव नेपालमा पर्ने क्रममा असोज ९ देखि ११ गतेसम्म विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। वर्षासँगै बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम पनि बढ्ने देखिएको छ।
सम्भावित जोखिमलाई लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगे। विभागका अधिकारीबाट मौसम प्रणाली र सम्भावित जोखिमबारे ब्रिफिङ लिएपछि उनीहरूले सम्बन्धित निकायलाई पूर्वतयारी र पूर्वसूचनामा उच्च समन्वयका साथ काम गर्न निर्देशन दिए।
मन्त्री श्रेष्ठले सम्भावित प्रभावित क्षेत्रमा अहिले नै सूचना पु¥याउनुपर्नेमा जोड दिए।
उनले पूर्वतयारी र पूर्वसूचनामा एकीकृत भएर उच्च समन्वयमा काम गर्न निर्देशन दिएका छन् साथै उनले प्रभावित क्षेत्रमा अहिले नै सूचना सर्कुलेट गर्न निर्देशन दिएका छन्। उनले निर्देशन दिँदै भनेका थिए– तपाईंहरू एकदम अलर्ट भएर वेल कोर्डिनेट गर्नुस्। सोहीअनुसार लाग्नुस्।
सरकारको अहिलेको जोड वर्षा भएपछि उद्धार गर्नेभन्दा वर्षा सुरु हुनुअघि सम्भावित क्षति घटाउनेतर्फ देखिन्छ। आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका मन्त्री श्रेष्ठले राज्यका सबै संयन्त्रलाई परिचालित गरिएको बताए ।नेपालमा मनसुन कमजोर हुँदै गएको समयमा बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीले फेरि वर्षा सक्रिय गराउन सक्छ। अहिलेको प्रणाली पनि यही कारण महत्वपूर्ण बनेको हो।
मौसमविद् डेबिट ढकालका अनुसार प्रणालीको असर देखिन थाले पनि आजै अत्यधिक वर्षा हुने अवस्था भने छैन। प्रणाली अझै बंगालको खाडीमै रहेकाले जमिनमा प्रवेश गरेपछि यसको शक्ति र गति कस्तो हुन्छ भन्ने कुराले नेपालमा पर्ने प्रभाव निर्धारण गर्नेछ। उनका अनुसार प्रणाली आज राति वा बुधबारसम्म जमिनमा प्रवेश गर्ने सम्भावना छ। त्यसपछि यसको स्वरूप थप स्पष्ट हुनेछ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले पनि सामाजिक सञ्जालमार्फत प्रणालीको विकासबारे ध्यानाकर्षण गराएका छन्। भारतीय मौसम विज्ञान विभागले औपचारिक रूपमा यसलाई चक्रवात घोषणा नगरे पनि आँधीका लागि आवश्यक हावाको गति र केही मापदण्ड पूरा भएको उनको तर्क छ। नेपालमा यसको मुख्य प्रभाव भने वर्षाको मात्रा र वितरणमा देखिनेछ।
जल तथा मौसम विज्ञान विभागले पछिल्लो प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ। प्रारम्भिक आकलनअनुसार गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्छ। मधेश, कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यसको अर्थ जोखिम एउटा प्रदेश, कुनै निश्चित भूगोलमा सीमित छैन। यसपटकको तयारीमा भोटेकोशी घटनाको अनुभव गाँसिएर आएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले त्यहाँ जलविद्युत् आयोजनामा भएको क्षतिलाई सम्झिँदै यसपटक पनि त्यस्तै जोखिम दोहोरिन सक्ने चिन्ता व्यक्त गरे। उनलाई अलिकति चिन्ता हाइड्रोप्रति छ। भोटेकोशी भेलबाढीले ११ वटा जलविद्युत परियोजनामा क्षति पु¥यायो। ५० औं वर्षको मिहिनेतबाट तयार भएको जनशक्ति गुम्यो।
त्यसैले यसपटक मौसमसम्बन्धी सूचना जलविद्युत् क्षेत्रमा छिटो पु¥याउने संयन्त्र बनाइएको उनले बताए। जल तथा मौसम विज्ञान विभागमा निजी क्षेत्रका जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई समेत सूचना प्रवाह गर्ने प्रणाली रहेको उनको भनाइ छ।
नेपालका धेरै जलविद्युत् आयोजना नदी तथा खोलाको किनारमा छन्। माथिल्लो जलाधारमा भारी वर्षा हुँदा केही समयमै नदीको बहाव बढ्न सक्छ। पहिरो वा आकस्मिक बाढीले आयोजना, पहुँचमार्ग र प्रसारण संरचनालाई समेत असर गर्न सक्छ।
त्यसैले आयोजनाले जोखिमको सूचना कति छिटो पाउँछन् र पाएपछि कस्तो निर्णय गर्छन् भन्ने विषय पूर्वतयारीको महत्त्वपूर्ण हिस्सा हो। नेपालमा मौसम पूर्वानुमान, वर्षा तथा नदीको बहाव मापन र मोबाइलमार्फत पूर्वसूचना दिने प्रणाली विस्तार भइरहेको छ। तर पूर्वसूचनाको प्रभावकारिता सूचना पठाएको तथ्यले मात्र देखाउँदैन। जुन हामीले भोटेकोशी भेलबाढीमा भोगिसक्यौं। सात लाखभन्दा बढी चेतावनीयुक्त सन्देश पठाउँदा पनि कामयावी भएन।
जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा लैजान सकिन्छ कि सकिँदैन? सडक बन्द हुनुअघि यात्रु र सवारी साधनलाई रोक्न सकिन्छ कि सकिँदैन?जलविद्युत् आयोजनाले आफ्ना संरचना सुरक्षित गर्न पर्याप्त समय पाउँछन् कि पाउँदैनन्? यही प्रश्नमा पूर्वसूचना र पूर्वप्रतिकार्यबीचको अन्तर देखिन्छ।
मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा संघ, प्रदेश, जिल्ला र स्थानीय तहबीच समन्वय गर्नुपर्ने बताएका छन्। उनका अनुसार विपद् प्राधिकरणले जिल्ला विपद् र स्थानीय तहसँग कोर्डिनेट ग¥यो भने अझै राम्रो हुन्छ। त्यस्तै समन्वय प्रदेश सरकारसँग पनि गर्नुपर्छ।
अर्थात् मौसम विभागमा आएको सूचना स्थानीय तह हुँदै जोखिममा रहेको परिवारसम्म पुग्ने र त्यसपछि आवश्यक निर्णय हुने प्रणाली प्रभावकारी बनाउनुपर्ने चुनौती छ। गृहमन्त्री सुधन गुरुङका अनुसार सरकारले नदी तटीय क्षेत्रमा टोली परिचालन गर्ने, नागरिकलाई अलर्ट गराउने तथा उद्धार सामग्री तयारी अवस्थामा राख्ने योजना बनाएको छ।
उनको भनाइबाट बुझिन्छ– नदी तटीय क्षेत्रमा टिम परिचालन गर्न र नागरिकलाई अलर्ट गराउन सरकार योजनाबद्ध हिसाबले लागिरहेको छ। सुरक्षा निकायलाई अलर्ट गरिएको र स्थानीय सरकारमार्फत पूर्वसूचना प्रवाह गर्ने तयारी भइरहेको उनले बताए। सरकारले ट्रेकिङमा नजान र गइसकेकालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरेका छन्।
सरकारले जसरी पूर्वतयारी गरिरहेको छ– यसले सम्भावित जोखिम बस्ती र सडकमा मात्र सीमित नरहेको देखाउँछ। हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटक तथा स्थानीय समुदाय पनि मौसम बिग्रँदा प्रभावित हुन सक्छन्। पछिल्लो जोखिम आकलनअनुसार जल तथा मौसम विज्ञान विभागले १५ जिल्लामा प्रतिकार्यका लागि तयारी गर्नुपर्ने र २९ जिल्लामा सतर्क रहनुपर्ने जनाएको छ।
गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। मधेश तथा कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने अनुमान छ। कर्णालीका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ। भारी वर्षाको असर भूगोलअनुसार फरक पर्न सक्छ।
पहाडी क्षेत्रमा पहिरो र आकस्मिक बाढीको जोखिम बढ्न सक्छ। नदी किनारमा बहाव बढ्न सक्छ। तराईमा डुबान हुन सक्छ। सहरी क्षेत्रमा छोटो समयमा धेरै पानी पर्दा सडक र बस्तीमा पानी जम्न सक्छ। काठमाडौं उपत्यकासहित बागमतीका विभिन्न स्थानमा अहिले नै वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा चितवनको गोविन्दबस्ती, माडी कल्याणपुरमा हेटौंडा–मकवानपुरगढीमा मा उल्लेख्य वर्षा भएको छ।
बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान छ।
यसैले सम्भावित जोखिमलाई हिमाली वा ग्रामीण क्षेत्रको विषय मात्र मान्न मिल्दैन। काठमाडौंमा छोटो समयमा ठूलो वर्षा भयो भने सडक डुबान, यातायात अवरोध र कमजोर ढल निकास भएका क्षेत्रमा पानी जम्ने समस्या देखिने विगतकै अनुभवले बताइसकेको छ।
असोज महिना चाडपर्व र लामो दूरीको आवतजावत बढ्ने समय हो। यही कारण सम्भावित वर्षाले यातायात क्षेत्रमा पार्ने असरलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक बाहेक टाढाको र रातिको यात्रा नगर्न आग्रह गरेको छ।
जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई भनिएको छ। पहिरो खसेपछि उपकरण खोज्नेभन्दा जोखिमयुक्त सडक पहिचान गरेर पहिले नै उपकरण राख्न सके सडक अवरोध छोट्याउन सकिन्छ। त्यस्तै, जोखिमयुक्त सडकमा यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिनुपर्ने हुन्छ।
यो समय मौसम विभागका लागि पूर्वानुमानलाई थप परिष्कृत गर्ने, विपद् प्राधिकरणका लागि जोखिम क्षेत्रको सूची अद्यावधिक गर्ने र स्थानीय तहका लागि सम्भावित प्रभावित परिवार तथा सुरक्षित स्थानको तयारी गर्ने समय हो।
सुरक्षा निकायले उद्धार टोली र सामग्री तयारी गर्नुपर्नेछ। सडक निकायले जोखिमयुक्त क्षेत्रमा उपकरण राख्नुपर्नेछ। जलविद्युत् आयोजनाले पनि प्राप्त हुने मौसम सूचना र आफ्नै जोखिम मूल्यांकनअनुसार तयारी गर्नुपर्नेछ।
पूर्वसूचना प्रणालीको सफलता एउटा प्रश्नमा आएर ठोक्किन्छ—सूचना आएको कति समयपछि फिल्डमा काम सुरु हुन्छ?
भोटेकोशी बाढीले नेपाललाई आकस्मिक विपद्को अर्को स्वरूप देखाएको थियो। अहिलेको अवस्था भने केही फरक छ। यसपटक जोखिमको संकेत र सूचना पहिल्यै छ। मौसम प्रणालीको विकास भइरहेको छ। सम्भावित वर्षाको समयबारे पूर्वानुमान छ। जोखिम क्षेत्र पहिचान गर्ने समय छ। सुरक्षा निकायलाई परिचालन गर्न सकिने अवस्था छ।
त्यसैले असोज ९ देखि ११ गतेसम्मको सम्भावित वर्षा सरकारका लागि पूर्वानुमानको मात्र होइन, पूर्वतयारीको परीक्षा पनि हुनेछ। कति पानी पर्छ भन्ने कुरा मौसम प्रणालीले निर्धारण गर्नेछ। तर त्यसबाट कति क्षति हुन्छ भन्नेमा पूर्वतयारीले पनि भूमिका खेल्नेछ। भोटेकोशीपछि सरकारले ‘पूर्वतयारी’लाई प्राथमिकता दिएको बताएको छ।
अब त्यसको परीक्षण गर्ने समय आएको छ। पूर्वानुमान सरकारसँग छ, चेतावनी पनि छ र तयारीका लागि समय पनि छ। अब त्यो तयारी जोखिममा रहेका मानिससम्म कति प्रभावकारी रूपमा पुग्छ भन्ने नै मुख्य कुरा हो। यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको आकलन गरी रातिको समयमा राजमार्ग बन्द गराउने तयारी भइरहेको छ। मौसम विभागले नियमित अनुगमन गरिरहेको छ। वर्षाको तीव्रता, घनत्व आदिका आधारमा थप तयारी गर्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणले यसअघि नै सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरी तयारी हालतमा रहन भनिसकेको छ ।
प्राकृतिक विपत्ति रोक्न सकिँदैन, टार्न पनि सकिँदैन। तर समयमै पूर्वतयारी गरे त्यसको क्षति घटाउन सकिन्छ। जति बढी पूर्वतयारीमा ध्यान दिन्छौं, रकम खर्चन्छौं, योजना बनाउँछौं, उति नै क्षति कम गर्न सकिने हुँदा सरकार यसमा चनाखो बन्नै पर्छ।
नेपालदेखि सात समुद्रपारि, अमेरिकाको न्यूयोर्कमा अहिले संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ। महासभाको उद्घाटनमै महासचिव एन्टोनियो गुटेरेसले विश्ककै छानो हिमालय शृंखला विस्फोटको सन्निकट रहेको र यसले संसारलाई धक्का दिने चेतावनी दिइसकेका छन् । जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नु परेको पीडा सुनाउन प्रधानमन्त्री बालेन शाह पनि अमेरिका पुगिसकेका छन् । उनले असोज ८ मा सम्बोधन गर्दै विश्वको ध्यान आकृष्ट गर्नेछन् ।
नेपालले केही वर्षदेखि जुन अनुपातमा प्राकृतिक विपत्तिको सामना गरिरहेको छ, त्यसको कारण नेपाल र हामी नेपाली मात्रै होइनौं । पृथ्वीको तापक्रम बढाउने औद्योगिक र विकसित देशहरुका कारण हामीले बारम्बार प्रलय खेप्नु परेको हो ।