नेभिगेशन
मुख्य समाचार

सूर्य थापाले भने– पार्टीलाई डिबेट क्लबजस्तो बनाउनु हुँदैन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्र नेतृत्व परिवर्तन र अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित बहसलाई निरन्तर मिडियामा लैजान नहुने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै थापाले पार्टी अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव विभिन्न तहका बैठक तथा एघारौँ महाधिवेशनबाट अस्वीकृत भइसकेकाले त्यसलाई निरन्तर बहसको विषय बनाउन उचित नहुने बताएका हुन्।

Ncell
Extreme Energy

‘पार्टीलाई अन्त्यहीन बहसको डिबेट क्लबजस्तो बनाउनु हुँदैन,’ थापाले भनेका छन्।

उनले महाधिवेशनको फैसला, विधि र पद्धतिको कार्यान्वयन सबैका लागि बाध्यकारी हुनुपर्ने धारणा राखे।

थापाले एमालेको पछिल्लो निर्वाचन पराजयमा महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गर्ने अभ्यासको समेत भूमिका रहेको बताएका छन्। त्यसमा सबैले आत्मसमीक्षा गर्नुपर्ने भन्दै उनले अध्यक्षमाथि मात्रै दोष थोपरेर उम्किन नहुने बताए।

‘निर्वाचनको मुखमा भएको महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गर्दाको मूल्य हामीले निर्वाचनमा चुकायौँ,’ उनले भनेका छन्, ‘त्यसमा सबैले आ–आफैलाई हेरौँ।’

थापाले पार्टीभित्र गुटगत ध्रुवीकरणको सुरुवात लुम्बिनी प्रदेशको पहिलो अधिवेशनबाट भएको आफ्नो धारणा पनि राखे। त्यसपछि भएका प्रदेश अधिवेशनमा देखिएको ध्रुवीकरण र प्यानलगत विभाजनबाट पार्टीले शिक्षा लिनुपर्ने उनको भनाइ छ।

‘आन्तरिक रूपमा ध्रुवीकरण र प्यानलगत विभाजनबाट गुज्रिंदा निर्वाचन जित्न सकिँदैन,’ उनले भने, ‘पार्टी एकढिक्का भएर निर्वाचनमा जाने बुद्धिमत्ता र सुझबुझ बढाउनुपर्छ।’

‘नेतृत्व परिवर्तन मात्रै समाधान होइन’

थापाले दुई कार्यकाल र ७० वर्षे उमेरहदलाई पार्टीको समस्या समाधान गर्ने ‘रामबाण उपचार’ मान्न नहुने बताएका छन्।

उनले नेतृत्व परिवर्तन मात्रै समाधान नभएको भन्दै पहिलो र दोस्रो पुस्ता तथा सचिवालयका सबैले तेस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने हिम्मत गर्नुपर्ने धारणा राखे।

उनका अनुसार चौतर्फी प्रहारको अवस्थामा नेतृत्व सहजै दिएर वा लिएर मात्र पार्टी सुदृढ हुन सक्दैन। नेतृत्व निर्माण, पुस्तान्तरण र हस्तान्तरणको मार्गदर्शन राजनीतिक प्रतिवेदनमा स्पष्ट रूपमा आएको उनको भनाइ छ।

थापाले पार्टीभित्रको गुटगत ध्रुवीकरण अन्त्य गर्नुपर्नेमा जोड दिँदै आन्तरिक विभाजनका कारण निर्वाचनमा पार्टीलाई क्षति पुग्ने बताएका छन्।

‘भदौ २३ र २४ का घटनाबारे साझा दृष्टिकोण बनाऔँ’

थापाले भदौ २३ र २४ गतेका घटनाबारे पार्टीले एउटै साझा दृष्टिकोण निर्माण गर्नुपर्ने प्रस्तावसमेत गरेका छन्।

उनले उपलब्ध तथ्य, प्रमाण, सम्बन्धित आयोग, ग्रेजोनको खुलासा तथा मानवअधिकारसम्बन्धी प्रतिवेदनहरूको विश्लेषण गरी सत्यतथ्य अभिलेखीकरण गर्न निष्पक्ष नागरिक छानबिनको पहल लिनुपर्ने बताए।

त्यसका आधारमा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनको धारणा छ।

‘अध्यक्ष, उपाध्यक्ष र महासचिवबीचको सम्बन्ध बिग्रिँदा निराशा’

थापाले एमाले अध्यक्ष ओली तथा उपाध्यक्ष र महासचिवबीच पछिल्लो समय बिग्रिएको सम्बन्धले पार्टीपंक्तिमा निराशा बढाएको पनि बताएका छन्।

उनले नौ महिनाअघि आगामी पाँच वर्ष अध्यक्षको नेतृत्वमा अघि बढ्ने गरिएको संकल्पबाट पछि हट्नु गलत भएको धारणा राखे।

‘तपाईंहरू ६३, ६६ वा ३३ अङ्कजस्तै लयबद्ध हुनुपर्नेमा विपरीत दिशातर्फ फर्किएको ३६ जस्तो बन्नुभएको सर्वत्र अनुभूति छ,’ थापाले भनेका छन्।

उनले बैठकमा नेताहरूले व्यक्त गरेका धारणालाई व्यवहारमा उतार्दै फेरि पार्टीभित्र विभाजनको अवस्था आउन नदिन आग्रह गरेका छन्।

अन्त्यमा थापाले पार्टी र अध्यक्षविरुद्ध भइरहेको भनिएको प्रचारको प्रतिवाद गर्दै पार्टीको नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने बताएका छन्।

उनले आत्मनिन्दा, गुनासो र विभाजनमा ऊर्जा खर्च नगरी सरकारका संविधानविरोधी र जनविरोधी गतिविधिविरुद्ध बोल्न, लेख्न र जनतालाई सचेत बनाउनुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव गरेका छन्।
हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टी र आन्दोलनको अवस्था ‘ठिकठाक’ नरहेको भन्दै नेतृत्वले वर्तमान सत्य स्वीकार गरेर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचनमा पराजय व्यहोरेको आठ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा राख्नु अनुचित भएको बताएका छन्।
प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् ।

भर्खरै