नेभिगेशन
समाज

हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टी र आन्दोलनको अवस्था ‘ठिकठाक’ नरहेको भन्दै नेतृत्वले वर्तमान सत्य स्वीकार गरेर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेको केन्द्रीय कमिटी बैठकमा सुझाव राख्दै नेम्वाङले पार्टीप्रतिको जनताको विश्वास र भरोसा टुट्दै गएको बताएका हुन्।

Marvel
Extreme Energy

उनले पार्टीको गौरवमय इतिहास जोगाउन पनि अहिलेको अवस्थालाई लुकाउन नहुने बताए।

‘त्यसैले सत्य स्वीकार गर्नुहोस्, त्यो सत्य हो– हामीले यहाँ भनिरहेजस्तो हाम्रो आन्दोलन र पार्टीको अवस्था ठिकठाक छैन । हामीप्रतिको विश्वास र भरोसा टुट्दै गएको छ,’ नेम्वाङले भने।

उनले पार्टीको अवस्था ठीक रहेको भनेर असत्य बोल्न नहुने भन्दै आत्मसमीक्षाबाट मात्रै कमजोरी सच्याउन सकिने बताए।

नेम्वाङले एमालेका अग्रजहरूले परिवर्तनका लागि गरेको संघर्ष र योगदान गौरवपूर्ण रहेको उल्लेख गर्दै त्यो इतिहास पुस्तौंसम्म जोगाउन पार्टी आन्दोलन पनि दीर्घकालीन रूपमा बलियो हुनुपर्ने बताए।

‘तपाईंहरूले गर्नुभएको कष्टसाध्य संघर्ष र योगदानको कथा र कम्युनिष्ट आन्दोलनको गौरवमयी कथा धेरै पुस्तासम्म भनिरहन चाहन्छौं, सुनाइरहन चाहन्छौं,’ उनले भने, ‘अब पनि हामी पुनर्गठित भएर नयाँ उचाइमा हिँड्न सकेनौं भने त्यो गौरवमय कथा सुन्ने नयाँ पुस्तामा केही हुने छैनन्।’

नेम्वाङले पार्टीको कमजोरी स्वीकार गर्न नसक्दा राजनीतिक तथा सांगठनिक क्षति हुन सक्ने बताए। उनले आत्मसमीक्षा र गल्ती स्वीकार गर्नुलाई पार्टी सुधारको अनिवार्य आधारका रूपमा प्रस्तुत गरे।

‘यति भन्छु, हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ। कमरेड माओले भनेजस्तै गल्ती लुकाउनु भनेको रोग लुकाउनु हो,’ उनले भने।

नेम्वाङले समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउन नेतृत्वसँग आग्रह गरेका छन्।

‘समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस्। हामी त्यहाँ कसरी हिँड्ने त्यो भनिदिनुहोस्,’ उनले भने।

उनले नयाँ पुस्तासँग पार्टी र आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने आत्मविश्वास रहेको पनि बताए।

‘हामी नयाँ पुस्तालाई विश्वास गर्नुहोस्– हामी पार्टी र आन्दोलनलाई सारा बन्धन र षड्यन्त्रबाट बाहिर निकालेर तपाईंहरूको गौरवमय इतिहासको कथा समाज, पुस्ता र दुनियाँलाई भन्छौं। त्यो मार्गचित्र र आत्मविश्वास हामी नयाँ पुस्तासँग छ,’ उनले भने।

बैठकमा नेम्वाङले आफ्नो धारणा राख्नुअघि गौतम बुद्ध, फ्रेडरिक नित्से, चे ग्वेभारा र माओका भनाइ उल्लेख गर्दै पार्टीले वर्तमान यथार्थ स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज