नेभिगेशन
समाज

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणमा जी–७ को सहयोग माग्दै परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशीसहित पछिल्ला जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित जी–७ विकास मन्त्रीस्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपद्को अवस्थाबारे सम्बोधन गर्दै खनालले पुनःस्थापना, जलवायु वित्त, विपद् पूर्वतयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा जी–७ को सहयोग र सहकार्यका लागि आग्रह गरेका हुन्।

Ncell
Extreme Energy

बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले जलवायु विपद्को कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग गर्ने जी–७ सदस्य राष्ट्र तथा अन्य मित्रराष्ट्रप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरे।

‘नेपालले जलवायु परिवर्तन, दिगो विकास, उत्थानशीलता र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउन जी–७ ले निर्वाह गर्दै आएको नेतृत्वको उच्च कदर गर्दछु,’ उनले भने।

खनालले बैठक आयोजना गरेकोमा जी–७ को अध्यक्ष फ्रान्सलाई धन्यवादसमेत दिए।

हालैको जलवायुजन्य विपद्ले नेपालमा मानवीय तथा भौतिक क्षति अत्यन्त ठूलो बनाएको उल्लेख गर्दै उनले बाढीका कारण घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा जलविद्युत् पूर्वाधारमा क्षति पुगेको बताए। यसबाट जनजीवन र अत्यावश्यक सेवासमेत प्रभावित भएको उनको भनाइ थियो।

प्रारम्भिक आकलनअनुसार विपद्पछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले जानकारी दिए।

विपद्को वैज्ञानिक अध्ययन जारी रहेको उल्लेख गर्दै खनालले तीव्र रूपमा तातिँदै गएको हिमाली वातावरणमा बरफ, चट्टान, पानी र अस्थिर भू–बनोटबीचको जटिल अन्तरक्रियाका कारण विपद् उत्पन्न भएको प्रारम्भिक विवरण प्राप्त भएको बताए।

सरकारले जलवायु परिवर्तनसहित भौगर्भिक, हिमनदीजन्य तथा जलविज्ञानसम्बन्धी कारणको अध्ययन गर्न विशेषज्ञ समिति गठन गरेको उनले जानकारी दिए।

‘जलवायु परिवर्तन नेपालका लागि अब टाढाको खतरा रहेन। यो हाम्रो वर्तमान यथार्थ हो र यसको प्रभावको तीव्रता तथा आवृत्ति दुवै बढ्दै गएको छ,’ उनले भने, ‘यसले जनधन तथा जीविकोपार्जनमा क्षति पुर्‍याउनुका साथै लामो प्रयासबाट हासिल गरिएका विकासका उपलब्धिलाई प्रभावित गरिरहेको छ।’

हिमाल, नदी, समुदाय तथा महत्वपूर्ण पूर्वाधार बाढी, पहिरो, हिमनदीजन्य जोखिम तथा अन्य जलवायुजन्य विपद्को बढ्दो जोखिममा रहेको उनले बताए।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि नेपालले जलवायु परिवर्तनका असमान प्रभाव भोगिरहेको उल्लेख गर्दै खनालले अन्तर्राष्ट्रिय समुदायको थप सहयोग आवश्यक रहेको बताए।

‘नेपालले विश्वव्यापी उत्सर्जनमा अत्यन्त न्यून योगदान गरेको छ। तर विनाशकारी बाढी तथा पहिरोदेखि हिमनदी पग्लिनेसम्मका जलवायुजन्य प्रभाव हामीले असमान रूपमा भोगिरहेका छौँ,’ उनले भने।

नेपालका पाँच प्रमुख अपेक्षा

पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालका पाँच प्रमुख अपेक्षा प्रस्तुत गर्दै खनालले पहिलो प्राथमिकताका रूपमा दीर्घकालीन पुनःस्थापनाका लागि साझेदारी आवश्यक रहेको बताए।

मानवीय सहायतामा मित्रराष्ट्रबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै उनले दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि अनुदान तथा सहुलियतपूर्ण वित्तीय स्रोतसहित समन्वित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताए।

दोस्रो प्राथमिकताका रूपमा उनले जलवायु वित्तमा पहुँच सहज बनाउन आग्रह गरे। अनुकूलन तथा हानि–नोक्सानीसम्बन्धी वित्त विकासशील तथा जलवायु जोखिममा रहेका मुलुकका लागि छिटो, सरल र सहज रूपमा उपलब्ध हुनुपर्ने उनको भनाइ थियो।

नेपालले हानि तथा क्षति कोषसम्बन्धी वित्तीय व्यवस्थाका लागि अनुरोध गरिसकेको र सकारात्मक प्रतिक्रियाको प्रतीक्षामा रहेको उनले जानकारी दिए।

त्यस्तै, विपद् रोकथाम तथा पूर्वतयारीमा लगानी बढाउनुपर्नेमा जोड दिँदै खनालले पूर्वसूचना प्रणाली, जलवायु सूचना, जल तथा मौसमसम्बन्धी सेवा, जलवायु उत्थानशील पूर्वाधार तथा समुदायमा आधारित विपद् पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे।

जलवायुजन्य विपद्को बढ्दो गम्भीरतालाई सम्बोधन गर्न यस्ता क्षेत्रमा लगानी विस्तार गर्न जी–७ तथा अन्य साझेदार राष्ट्रलाई उनले आह्वान गरे।

बहुपक्षीय वित्तीय संस्थामार्फत शीघ्र, किफायती र सहज वित्तीय स्रोत परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘समयमै उपलब्ध हुने वित्तीय स्रोत केवल वित्तीय साधन मात्र होइन, जलवायुजन्य धक्काबाट बारम्बार प्रभावित हुने जोखिममा रहेका मुलुकका लागि जीवनरेखा हो।’

बहुपक्षीय विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग सहकार्य गरी आवश्यक वित्तीय स्रोत परिचालन गर्न जी–७ सदस्य राष्ट्रले आफ्नो प्रभाव र संयोजन क्षमता उपयोग गर्नुपर्ने उनले बताए।

‘हिमालयमा हुने परिवर्तन हिमालयमै सीमित रहँदैन’

हिमाली क्षेत्रलाई जलवायु कार्यसूचीमा थप प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै खनालले हिमनदी, हिमाल तथा जलप्रणालीको भविष्य क्षेत्रीय तथा विश्वव्यापी जलवायु सुरक्षासँग अभिन्न रूपमा जोडिएको बताए।

‘हिमालयमा हुने परिवर्तन हिमालयमै सीमित रहँदैन,’ उनले भने, ‘यसले दक्षिण एसिया तथा त्यसबाहिरका मनसुन प्रणाली, नदी तटीय क्षेत्र, कृषि प्रणाली तथा लाखौँ मानिसको जीवनमा प्रभाव पार्छ।’

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा साझा जलवायु उत्थानशीलता अभिवृद्धिका लागि जी–७ सँग सहकार्य गर्न नेपाल तयार रहेको उनले बताए।

भोटेकोशी विपद्लाई नेपालमा मात्र सीमित त्रासदीका रूपमा नहेर्न आग्रह गर्दै खनालले यसलाई हिमालयबाट विश्व समुदायका लागि आएको गम्भीर सन्देशका रूपमा प्रस्तुत गरे।

‘भोटेकोशीको विपद् केवल नेपालको त्रासदी होइन। यो हिमालयबाट आएको एउटा चेतावनी हो। तातिँदो पृथ्वीले दशकौँको विकास उपलब्धिलाई केही घण्टामै उल्ट्याउन सक्छ,’ उनले भने।

अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई ठोस कार्यमा, जोखिमलाई उत्थानशीलतामा र साझा जिम्मेवारीलाई जलवायु न्यायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले नेपाल सुरक्षित, उत्थानशील र दिगो विश्व निर्माणका लागि जी–७ लगायत सबै अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्न तत्पर रहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव गरेका छन्।
हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टी र आन्दोलनको अवस्था ‘ठिकठाक’ नरहेको भन्दै नेतृत्वले वर्तमान सत्य स्वीकार गरेर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचनमा पराजय व्यहोरेको आठ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा राख्नु अनुचित भएको बताएका छन्।
प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् ।

भर्खरै