काठमाडौँ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली जमिनमा प्रवेश गरेपछि त्यसको असर पूर्वोत्तर भारतसहित नेपालमा पनि परेको छ । गएरातिदेखि नै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । केही ठाउँमा त भारी वर्षा भइरहेको छ ।
आकासबाट पर्ने पानीको मात्रा जति बढिरहेको छ, आम मानिसमा त्रास पनि उत्तिकै बढिरहेको छ । तराई क्षेत्रमा पाक्नै लागेको धानबाली बाढीले सोत्र्यान पार्ने हो कि भन्ने चिन्ता छ । तराईमा डुबाउला भन्ने डर छ, पहाडमा बाढी र पहिरोले बगाउला भन्ने चिन्ता छ ।
भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ९ गतेदेखि ११ गतेसम्म भारी वर्षा हुनसक्ने र त्यसको असर देशैभर पर्नसक्ने चेतावनी दिएपछि तिनै तहका सरकारले जोखिम र क्षति कम गर्ने पूर्वतयारी गरिरहेका छन् । आम नागरिक पनि चनाखो बनेका छन् ।
नेपाल टेलिकमले समेत आज बिहानै ‘यही असोज ९ गतेदेखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको जानकारी प्राप्त हुन आएकोले विशेष सतर्कता अपनाई सुरक्षित रहनुहुन अनुरोध गरिन्छ’ भन्दै सबैलाई मेसेज पठाएको छ । हाम्रो पनि आग्रह छ– तपाईंहरु जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस्, आफन्तलाई सुरक्षित राख्नुहोस् अनि सम्भव भएसम्म आफ्ना छिमेकीलाई पनि सुरक्षित राख्नुहोस् ।
जोखिमको संकेत देखिइसकेको छ । क्षति कति हुन्छ ? यसै भन्न सकिँदैन । हामीले सावधानी अपनायौं भने क्षति स्वतः कम गर्न सकिन्छ ।
बूढापाकाहरूले सुनाउने गरेको असोजेझरी किंवदन्ती झैं लाग्थ्यो। खासगरी १० र २० को दशकमा असोजे झरीले जनधनको ठूलो क्षति गरेको र जनजीवनलाई अस्तव्यस्त तुल्याएको अभिलेख भेटिन्छ।
चाडबाड र पाकेको धानबाली भित्र्याउने समयमा पर्ने यस्तो झरीले मानिसहरूलाई निकै नै ताडना दिन्थ्यो । पछिल्ला केही वर्षमा प्राकृतिक विपत्तिको पुनरावृत्ति भइरहेको छ। असोजे झरीले हामीलाई बर्सेनि पिरोल्न थालेको छ।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म लगातार झरीको प्रक्षेपण गरेको छ । मौसमविदहरूले पूर्वानुमान गरेझैं काठमाडौं उपत्यकासहित देशभर बुधबारदेखि नै सिमसिम झरी पर्न थाल्यो, यो क्रम बिहीबार अझ बढेको छ।
खासगरी लुम्बिनी प्रदेशमा वर्षाको तीव्रता बढेको छ। बल्ड्याङगढी केन्द्रमा २४ घण्टामा १६४ मिलिमिटर वर्षा भयो। सिमलपानी केन्द्रमा पनि १४२.६ मिलिमिटर वर्षा भयो। आगामी चार दिन भीषण वर्षा प्रक्षेपण भएसँगै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय चनाखो बनेका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँ, कास्की, गोरखा, काठमाडौं लगायतले सतर्कता अपनाउन थालेका छन् । मातहतका निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छन्। काठमाडौंसहित विभिन्न जिल्लामा विशेषगरी खोला किनारका क्षेत्रमा माइकिङ पनि गरिएको छ ।
दुई वर्षअघि काठमाडौं उपत्यकामा ११ केन्द्रमा रेकर्डब्रेक वर्षा भएको थियो । बागमती, विष्णुमती, मनोहरा, नख्खु खोला किनाराका क्षेत्र डुबानमा परेका थिए। यस्तै अवस्था दोहोरिन नदिन प्रशासनले सक्रियता बढाएको छ।
आगामी तीन दिन भारीदेखि अति भारी वर्षाको सम्भावना रहेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकता हेरी विद्यालय बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै भारी वर्षा, हिमपात, हावाहुरी र चट्याङको जोखिमलाई ध्यानमा राखेर विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि आवश्यक निर्णय लिन भनेको हो । भारी वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुनसक्ने भएकाले विद्यालय र शैक्षिक संस्थाले पूर्वतयारी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थानीय तहले अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सक्ने गरी सहजीकरण गर्न पनि शिक्षा विकास तथा समन्वय एकाइलाई भनिएको छ। अभिभावकलाई पनि बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयको यो आग्रहपछि रेड अलर्ट जारी गरिएका जिल्ला र स्थानीय तहमा विद्यालय बन्द गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङको समेत जोखिम छ । कहाँ आइपुग्यो ठूलो पानी पार्ने प्रणाली? बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली भारतको विशाखापट्टनम आसपासबाट जमिनमा प्रवेश गरेको मौसमविद्हरूले बताएका छन्। त्यस लगत्तै नेपालमा उक्त प्रणालीको प्रभाव नेपालमा देखिइसकेको छ। पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेश आसपासमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेश आसपासमा पनि भारी वर्षा भएको छ।
बंगालको खाडीमा विकसित यो प्रणाली आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर कमजोर हुँदै गए पनि यसको प्रभावका कारण नेपालमा केही दिन वर्षा हुने सम्भावना कायमै छ।
तीन दिनसम्म कहाँ बढी जोखिम?
महाशाखाका अनुसार असोज ८ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको जोखिम छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
असोज ९ गते जोखिम अझ बढ्ने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा रातो संकेत गरिएको छ। ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङलाई उच्च जोखिममा राखिएको छ।
त्यसै दिन अन्य धेरै जिल्लामा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ।
असोज १० गते भने जोखिम पश्चिमतर्फ सर्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिमका डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुलालाई रातो संकेत गरिएको छ।
लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतडीमा पनि सतर्क रहन भनिएको छ।
असोज ११ गते भने अघिल्ला तीन दिनको तुलनामा वर्षा केही कम हुने सम्भावना छ। त्यस दिन बागमतीभन्दा पश्चिमका जिल्लालाई पहेँलो संकेत गरिएको छ।
मौसमविद् भन्छन्– पूर्वानुमानमा केही तलमाथि हुन सक्छ
मौसमविद् विनोद पोखरेलले वर्षाको पूर्वानुमानले ठ्याक्कै कुन स्थानमा कति समयमा कति पानी पर्छ भन्ने कुरा सधैँ मिलाउन नसक्ने बताएका छन्।
उनका अनुसार हिजोको विभिन्न छ वटा मौसम मोडलको औसतमा कुनै निश्चित स्थानमा भारी वर्षा देखिएको थिएन। तर समग्र क्षेत्रको वर्षाको अवस्था भने पूर्वानुमानसँग मिलेको छ।
उनले आज र भोलि कोशीदेखि गण्डकीसम्म तथा भोलि र पर्सि गण्डकीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको राम्रो सम्भावना रहेको बताएका छन्।
बाढी–पहिरो र डुबानमा उच्च सतर्कता
मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहनुका साथै ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायात, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन तथा नदी आसपासका निर्माण कार्यसमेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका अन्य व्यक्तिलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन भइरहेको र अवस्था परिवर्तनअनुसार थप सूचना तथा चेतावनी जारी गर्ने जनाएको छ।
अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभा चलिरहेको छ । राष्ट्र प्रमुखहरुले सम्बोधन गरिरहेका छन् । अधिकांशको चिन्ता जलवायु परिवर्तनले पारेको असर र बढ्दो जोखिमप्रति छ । उद्घाटन सत्रमा नै महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असरले देखिएको जोखिमबारे संसारको ध्यानाकर्षण गराइसकेका छन् । जारी महासभामा नेपालको मुद्दा पनि जलवायु परिवर्तनले पारेको असरप्रति संसारको ध्यान तान्नु र जलवायु न्यायका लागि पहल गर्नु हो । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न भेटवार्ता र सत्रमा यसबारे बताइसकेका छन् ।
भोलि बिहानै प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्नेछन् र यिनै विषयमा नेपालको धारणा राख्ने छन् । भोटेकोशीको अकस्मात बाढीले पुर्याएको अकल्पनीय क्षतिको पीडा बोकेर नेपाल न्यूयोर्क पुगेको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्री अमेरिकामा छन् । ठीक यही समयमा नेपालमा अर्को विपत्तीको प्रक्षेपण भइरहेको छ । मौसमी बहावलाई हामीले रोक्न सक्दैनौं । प्रकृतिको गतिलाई छेक्न सक्दैनौं । तर, सावधानी अपनाएमा क्षति काम गर्न सकिन्छ । हिमपहिरो, हिमताल र हिमनदी विष्फोट, अतिवृष्टि, अनावृष्टि, आकस्मिक बाढी, पहिरो जस्ता विपत्तिको शृंखला जसरी बढिरहेको छ, यसको मुख्य कारण जलवायु परिवर्तन हो, पृथ्वीको तापमान वृद्धि हो । तापक्रम वृद्धिलाई घटाउन सकियो भने मात्रै भविष्यमा यस्ता विपत्तिबाट बच्न सकिन्छ ।