नेभिगेशन
समाज

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

२६ वटा नयाँ स्टारलिङ्क स्याटेलाइट तैनाथ

टेक्सास (अमेरिका) । अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक पृथ्वीको कक्ष (अर्बिट) मा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तिम डिजाइन अझै निर्माणाधीन अवस्थामै रहे तापनि यो उडान उच्च-जोखिमपूर्ण परीक्षणका साथै करोडौँ डलर बराबरका स्याटेलाइटहरू बोकेको स्पेसएक्सको पहिलो आम्दानीजनक व्यावसायिक मिसन पनि बनेको छ ।

Marvel
Extreme Energy

सोमबार अमेरिकाको टेक्सासस्थित स्टारबेस कम्प्लेक्सबाट ४० तला अग्लो यो विशाल यान प्रक्षेपण गरिएको थियो । प्रक्षेपणपछि तल्लो भागको 'सुपर हेभी' बुस्टरले स्टारशिपलाई अन्तरिक्षतर्फ धकेलेर अलग भयो र मेक्सिकोको खाडीको पानीमा नियन्त्रित अवतरण गरेको थियो । 

तर, अन्तरिक्षमा पुगेलगत्तै स्टारशिपका तीन मुख्य इन्जिनमध्ये एउटा समयभन्दा अगावै बन्द भयो । सो खराबीका कारण सुरुमा कम्पनीका प्रवक्ताले लाइभस्ट्रिममा यान कक्षमा पुग्न असमर्थ हुने र मिसन असफल हुने घोषणा गरेका थिए । तर, केही मिनेटभित्रै इन्जिनियरहरूले अन्य इन्जिनहरू प्रयोग गरेर रकेटलाई सफलताका साथ पृथ्वीको कक्षमा प्रवेश गराए ।

पृथ्वीको कक्षमा पुगेपछि स्टारशिपले करिब २६९ किलोमिटरको उचाइमा एक-एक गरी २६ वटा नयाँ पुस्ताका 'स्टारलिङ्क भी थ्री' स्याटेलाइटहरू सफलताका साथ तैनाथ गरेका थियो । यी नयाँ स्याटेलाइटहरूले अघिल्ला भी टु मिनी-स्याटहरूभन्दा १० गुणा बढी डाटा ह्यान्डल गर्न सक्छन्, जसले विश्वभर ब्रॉडब्यान्ड इन्टरनेट सेवालाई अझ तीव्र बनाउने स्पेसएक्सले जनाएको छ ।

यो मानवरहित मिसन सुरुमा १० घण्टा चल्ने तालिका थियो । तर, उडानका क्रममा देखिएको इन्जिन खराबीका कारण स्पेसएक्स टोलीले सुरक्षात्मक निर्णय लिँदै यसलाई ३ घण्टामै सीमित गरेर समयभन्दा अगावै समाप्त गरेको हो ।

आफ्नो मुख्य कार्य पूरा गरेपछि स्टारशिप नियन्त्रित रूपमा पृथ्वीको वायुमण्डलमा फर्किएको छ । प्रशान्त महासागरमा अवतरणको अन्तिम चरणमा थ्रस्टरहरू प्रयोग गरी यानलाई ठाडो पारिएको थियो । समुद्रको सतहमा छुने बित्तिकै रकेटको फेदमा आगो लाग्यो र यान ढल्कियो, जसका कारण लाइभस्ट्रिममा आगोको ठूलो गोला देखिएको थियो । 

स्पेसएक्सका अनुसार यो स्टारशिप 'अहिलेसम्म विकसित गरिएको विश्वकै सबैभन्दा शक्तिशाली लन्च भेइकल' हो। मस्कले यस यानलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरेका छन्, जसले भविष्यमा मानिस र सामानहरूलाई पृथ्वीको कक्ष, चन्द्रमा र मङ्गलग्रहसम्म लैजानेछ ।

नासाका प्रशासक जेरेड इसाकम्यानले यस सफलताका लागि स्पेसएक्सलाई बधाई दिँदै यसलाई 'प्रेरणादायी उपलब्धी' भनेका छन् । सन् २०२३ देखि सुरु भएको यस विकास अभियानमा १५ अर्ब डलरभन्दा बढी खर्च भइसकेको छ । जुन महिनामा रेकर्डधारी आईपीओ जारी गरेपछि विश्वकै पहिलो ट्रिलियनर बनेका एलोन मस्कले आगामी २ देखि ३ वर्षभित्र स्टारशिपमार्फत प्रतिघण्टा उडानहरू भर्ने लक्ष्य राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज