नेभिगेशन
समाज

३६ वर्षपछि जुनेलीका २६ परिवारको हातमा लालपुर्जा

भद्रपुर (झापा)। झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीका २६ अव्यवस्थित बसोबासीले ३६ वर्षपछि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व पाएका छन्। वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा रहेका उनीहरूलाई मंगलबार जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लालपुर्जा पाउनेमध्ये ५५ वर्षीय डम्बरबहादुर लिम्बू पनि एक हुन्। तेह्रथुमको छथरबाट ३६ वर्षअघि झापा आएका लिम्बूले त्यसयता जुनेलीमा घर बनाएर बस्दै आएका थिए। तर आफूले भोगचलन गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा उनलाई सधैँ असुरक्षा महसुस भइरहन्थ्यो।

Ncell
Extreme Energy

उनका बुबा राजबहादुर लिम्बूले पनि जीवनभर लालपुर्जा पाउने आशा राखेका थिए। तर आफ्नै नाममा जग्गाधनी प्रमाण पुर्जा देख्न नपाउँदै पाँच वर्षअघि उनको निधन भयो। बुबाको अधुरो सपना बोकेर बसेका डम्बरबहादुरले मंगलबार भने ३६ वर्षदेखि भोगचलन गर्दै आएको जमिनको कानुनी स्वामित्व पाए।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पुर्जा हातमा पर्दा लिम्बूका आँखा रसाए।

“ढिलै भए पनि पुर्जा पाइयो। बुबाले त लालपुर्जा देख्न नपाई बित्नुभयो। उहाँले जीवनभर देख्न चाहेको लालपुर्जा आज मेरो हातमा परेको छ,” उनले भने, “आफ्नै पालामा जमिनको अधिकार पाउँदा बुबाको सम्झना झन् आयो। अब आफ्नै नाममा जमिन भएकामा ढुक्क भएको छु, सन्तानका लागि केही सुरक्षित भयो भन्ने लागेको छ।”

लिम्बूजस्तै ५३ वर्षीया सरस्वती राई र ५० वर्षीया सविता थेवेका लागि पनि मंगलबारको दिन विशेष रह्यो। वर्षौंदेखि आफूले घर बनाएर भोगचलन गर्दै आएको जमिनको स्वामित्व आफ्नो नाममा आएपछि उनीहरूले लामो समयको अनिश्चितता अन्त्य भएको बताए।

“पुर्जा नहुँदा न बैंकबाट ऋण पाइन्थ्यो, न आफ्नो जमिन भनेर गर्व गर्न सकिन्थ्यो। आज आफ्नै नामको रातोपुर्जा हातमा पर्दा वर्षौंदेखिको पीडा र अनिश्चितता बिर्सिएजस्तो भएको छ,” राईले भनिन्।

थेवेले पनि आफूले भोगेको अवस्था सुनाइन्। “आफ्नो नामको जमिन नहुँदा सधैँ सुकुम्बासीको बिल्ला भिरेर बाँच्नुपरेको थियो। यही ठाउँमा घर बनाएर बस्यौँ, दुःख गर्‍यौँ, छोराछोरी हुर्कायौँ, तर जमिन भने आफ्नो थिएन,” उनले भनिन्, “आज आफ्नै नाममा जमिन भएको महसुस भएको छ।”

तीन दशकदेखिको प्रतीक्षा

जुनेलीका बासिन्दाले जग्गाको स्वामित्वका लागि तीन दशकभन्दा लामो समयदेखि संघर्ष गर्दै आएका थिए। वडा नं ४ का वडाध्यक्ष शेरबहादुर रायका अनुसार स्थानीय तहको पहिलो निर्वाचनदेखि नै अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउने विषयलाई प्राथमिकतामा राखिएको थियो।

“हामी निर्वाचित भएर आएदेखि नै वडावासीको हातमा लालपुर्जा कसरी दिलाउने भनेर धेरै मेहनत गरेका छौँ। यसबीचमा विभिन्न आयोग बन्ने र भत्किने क्रम चलिरह्यो। त्यसकारण काम सोचेजस्तो अगाडि बढ्न सकेन,” उनले भने, “पुरानै कामलाई निरन्तरता दिँदै अहिले क्रमशः लालपुर्जा वितरण गर्ने चरणमा पुगेका छौँ।”

उनले लालपुर्जा जग्गाको स्वामित्व प्रमाणित गर्ने कागज मात्र नभई पुस्तौँदेखि रहँदै आएको असुरक्षाको अन्त्य भएको बताए।

गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले नागरिकको सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवनका लागि भूमिको अधिकार आवश्यक रहेको बताए। भूमिसम्बन्धी कामलाई तीव्रता दिन सार्वजनिक बिदाका दिनसमेत काम गरिएको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले पटकपटक आयोग परिवर्तन हुँदा भूमि समस्या समाधानको काम प्रभावित भएको बताए। अब बाँकी वास्तविक लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरी लालपुर्जा उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको उनले बताए।

“पटकपटक आयोग फेरिँदा भूमि समस्या समाधानको कामले निरन्तरता पाउन सकेन। त्यसको असर हामीले पनि भोग्नुपर्‍यो,” उनले भने, “अब बाँकी रहेका नागरिकलाई प्रक्रिया पूरा गरी लालपुर्जा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखेका छौँ।”

अझै हजारौँ परिवार प्रतीक्षामा

बुद्धशान्ति गाउँपालिकाले यसअघि पनि विभिन्न चरणमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दै आएको छ।

गाउँपालिकाका भूमि शाखा प्रमुख देवेन्द्र कटुवालका अनुसार विसं २०७९ असारमा ४२, २०८२ असारमा १४८ र २०८३ असारमा पाँच परिवारले लालपुर्जा पाइसकेका छन्।

तर पालिकामा अझै १४८ भूमिहीन सुकुम्बासी, ३१ भूमिहीन दलित र ६ हजार २२३ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न बाँकी छ। उनीहरूको लगत सङ्कलनको काम सम्पन्न भइसकेको र बाँकी प्रक्रिया अघि बढाइएको कटुवालले बताए।

जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले वास्तविक लाभग्राहीले मात्र जग्गाको स्वामित्व पाऊन् भन्नेमा प्रशासन सचेत रहेको बताए।

उनका अनुसार सम्बन्धित वडाले सात दिने हकदाबी सूचना प्रकाशन गरी दाबी–विरोधको प्रक्रिया पूरा गरेपछि वडा तहबाट निर्णय हुन्छ। त्यसपछि पालिकाले पुनः प्रमाणीकरण गरेर जिल्ला समितिबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गरिन्छ।

“कसैको हक नखोसियोस् र वास्तविक लाभग्राही छुट्न नपरोस् भन्ने गरी प्रक्रिया अघि बढाइएको छ,” पोखरेलले भने।

उनले लालपुर्जा पाएपछि जग्गालाई उत्पादनसँग जोडेर आयआर्जनको आधार बनाउनुपर्ने बताए। “पुर्जा हातमा पाउनु सुरुआत हो। अब प्राप्त जग्गालाई उत्पादनसँग जोडेर आम्दानीको आधार बनाउनुपर्छ,” उनले भने।

नापी कार्यालय भद्रपुरका प्रमुख एवं जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लाका अर्जुनधारा, कन्काई र मेचीनगरमा पनि लालपुर्जा वितरणको काम भइरहेको छ। अन्य स्थानीय तहमा समेत प्रक्रिया अघि बढिरहेको उनले बताए।

जुनेलीका २६ परिवारका लागि भने मंगलबार हातमा परेको लालपुर्जा तीन दशकभन्दा लामो प्रतीक्षाको अन्त्य बनेको छ। तर जिल्लामा अझै हजारौँ परिवार भूमिको कानुनी स्वामित्वको प्रतीक्षामा छन्। त्यसैले जुनेलीमा वितरण भएको २६ वटा लालपुर्जा एउटा बस्तीको खुसीमा मात्र सीमित छैन; वर्षौँदेखि भूमि अधिकारको पर्खाइमा रहेका बाँकी परिवारसम्म यो प्रक्रिया कहिले र कसरी पुग्छ भन्ने प्रश्न पनि सँगै उभिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओपनएआईले ल्यायो नयाँ एआई असिस्टेन्ट 'डट्स'

ओपनएआईले ल्यायो नयाँ एआई असिस्टेन्ट 'डट्स'

ओपनएआईले मङ्गलबार 'डट्स' (dots) नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) असिस्टेन्ट सार्वजनिक गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

दिल्ली उच्च अदालतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक योग्यता (डिग्री) सम्बन्धी जानकारी मागिएका पुनरावेदनमाथिको सुनुवाइ आगामी डिसेम्बरसम्मका लागि स्थगित गरेको छ।
मनाङमै अड्किए पर्यटक, सडक कटानले आवतजावत ठप्प

मनाङमै अड्किए पर्यटक, सडक कटानले आवतजावत ठप्प

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आउने मुख्य याम सुरु भए पनि अविरल वर्षा र बाढीपहिरोका कारण सयौँ पर्यटक मनाङमै रोकिएका छन्।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।