चितवन। नारायणगढ बजारसँगैको नारायणी नदीकिनारलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने भरतपुर महानगरपालिकाको योजना पटक–पटक नदीको बाढीले बगाइदिएको छ। महानगरपालिका, उद्योग वाणिज्य सङ्घ र सङ्घीय सरकारको लगानीमा निर्माण गरिएका पैदलमार्ग, हरियाली, आरसिसी संरचनालगायतका अधिकांश संरचना पछिल्लो बाढीले बगाएको छ।
ठूला राजनीतिक दलका सभा–सम्मेलन, महोत्सव र कन्सर्ट हुनेदेखि साँझ–बिहान स्थानीयवासी घुम्न आउने नारायणी किनार पछिल्लो समय आकर्षक बन्दै गएको थियो। नदीको चिसो हावा र खुला वातावरणका कारण हिँडडुल र मनोरञ्जनका लागि समेत यो क्षेत्र लोकप्रिय थियो।
तर गत आइतबार आएको ठूलो बाढीले नदीकिनारको स्वरूप नै बदलिदिएको छ। बाढीले जोरकुसुम उद्यान क्षेत्रबाहेक अधिकांश संरचना बगाएको छ। अहिले नदीकिनारमा नारायणी नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको आरसिसी संरचना मात्रै मुख्य रूपमा बाँकी छ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार नदीकिनारलाई ‘सिबिच’ ढाँचामा विकास गरी पर्यटकीय गन्तव्य बनाउने योजना थियो। सङ्घीय र प्रदेश सरकारसँगको सहकार्यमा संरचना निर्माणको काम अघि बढाइएको भए पनि हरेक वर्ष आउने बाढी चुनौती बनेको उनले बताए।
“हामीले सङ्घ र प्रदेशसँग समेत सहकार्य गरेर यसलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने योजना बनाएका थियौँ,” अधिकारीले भने।
तत्कालीन नगरप्रमुख रेनु दाहालसहित महानगरपालिकाको पहलमा सङ्घीय सरकारले फुटट्रेल, पैदलमार्ग र आरसिसी संरचना निर्माणमा लगानी गरेको थियो। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फुटट्रेल निर्माण गरेको थियो भने नारायणी नदी व्यवस्थापन आयोजनाले नदीकिनारमा आरसिसी संरचना बनाएको थियो। महानगरपालिका र उद्योग वाणिज्य सङ्घले समेत पैदलमार्ग निर्माणमा लगानी गरेका थिए।
बाढी आउनुअघि नदीकिनारमा मोजाइक टायल, दुबो, हरियाली र विभिन्न बिरुवा रोपेर क्षेत्रलाई आकर्षक बनाइएको थियो। साँझपख घुम्न आउनेको चहलपहलसमेत बढेको थियो। तर अहिले तीमध्ये अधिकांश संरचना नदीले बगाएको छ।
करोडौँको संरचना बाढीमा
उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजु श्रेष्ठका अनुसार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २ दशमलव ४ किलोमिटर पैदलमार्ग, पार्किङ र बगैँचा निर्माणका लागि ६ करोड ५० लाख रुपैयाँको बोलपत्र आह्वान गरी काम गरेको थियो।
त्यस्तै, भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा ९७ लाख रुपैयाँ खर्च गरेर पैदलमार्ग निर्माण गरेको थियो।
नारायणी नदी व्यवस्थापन आयोजनाले ११ खुट्किलासहितको ६५० मिटर लामो आरसिसी संरचना निर्माण गरेको थियो। विसं २०७९ मा १५ करोड ९२ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको उक्त संरचना भने अहिले पनि नदीकिनारमा बाँकी छ।
जोरकुसुम उद्यान क्षेत्रबाहेक अन्यत्र निर्माण गरिएका अधिकांश संरचना बाढीले बगाएको श्रेष्ठले बताए।
“चाहेर पनि नदीकिनारलाई सुन्दर बनाउन नसकिएको अवस्था छ,” उनले भने, “नदीको बीचमा रहेका संरचना हटाएर नदीलाई सहज रूपमा बग्न दिनुपर्छ।”
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार हरेक दुई वर्षमा महोत्सव आयोजना गर्न पनि सङ्घले नदीकिनार व्यवस्थापनमा करिब ४० लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ।
महानगरपालिकाले सो क्षेत्रको भाडा लिने भए पनि संरचना व्यवस्थापनको काममा आफूहरूले समेत लगानी गर्नुपरेको उनले बताए। हरेक वर्षको बाढीले संरचना बगाउने भएकाले दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ।
रास्वपाका नेतासमेत रहेका सङ्घका पूर्वअध्यक्ष राजन गौतमले नदीकिनारमा भइरहेको लगानी दीर्घकालीन रूपमा टिक्न नसकेको बताए। उनले कार्यक्रम तथा मेला–महोत्सवका लागि नदीकिनारमा संरचना थप्नुभन्दा नदीलाई प्राकृतिक धारमा बग्न दिनुपर्ने धारणा राखे।
“अब हामीले नारायणगढ बजारको चिन्ता लिने हो। हाटबजारझैँ गरिने मेला–महोत्सवको चिन्ता लिने होइन,” उनले भने।
अब नारायणगढ बजारकै चिन्ता
पछिल्लो बाढीले नदीकिनारका संरचना मात्रै बगाएको छैन, नारायणगढ बजारको जोखिमबारे समेत नयाँ प्रश्न खडा गरेको छ। स्थानीयका अनुसार यसपटक पहिलोपटक नारायणी नदीको बहाव बजार क्षेत्रतर्फ उक्लिएको हो।
नारायणगढमा विसं २०१९ देखि बस्दै आएका प्रभातकुमार जोशी नदीको कटान बढ्दै गए बजार क्षेत्रसमेत जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्छन्।
“नारायणी किनारको संरक्षणमा सरकारले तत्काल विशेष ध्यान दिनुपर्छ,” जोशीले भने, “नदीको उचित संरक्षण नगरी प्रकृतिलाई जिस्क्याउँदै किनारमै बस्ती विस्तार गर्दै जाने हो भने नारायणगढ बजारको भविष्य नै जोखिममा पर्न सक्छ।”
भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार भोटेकोशी बाढीपछि नदीको सतह बढेकाले नारायणीको बहाव बजार क्षेत्रमा पसेको हुनसक्छ। अब नदी तटीय क्षेत्र विकास गर्दा पहिलेको भन्दा फरक ढङ्गले नक्साङ्कन र योजना बनाउनुपर्ने अवस्था देखिएको उनले बताए।
महानगरपालिकाले नदीकिनारलाई विश्वका सामुद्रिक किनारजस्तै पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारे पनि नदीको प्राकृतिक बहाव र बाढीको जोखिमका कारण त्यसअनुसार संरचना निर्माण गर्न कठिन भएको आचार्यले बताए।
नारायणी नदीमा पछिल्लो पटक आएको बाढी ६० वर्षयताकै ठूलो रहेको जलमापन तथ्याङ्कले देखाएको छ।
देवघाटस्थित जलमापन केन्द्रमा गत आइतबार बिहान ११ः४० बजे गरिएको मापनमा नदीको सतह ११ दशमलव ९३ मिटर पुगेको थियो। नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीका अनुसार यसअघि विसं २०८१ असोज १२ गते सोही स्थानमा ११ दशमलव ६ मिटर पानीको सतह मापन भएको थियो।
देवघाटमा सन् १९६३ देखि जलमापन हुँदै आएको छ। त्यसयताको तथ्याङ्कअनुसार पछिल्लो बाढी सबैभन्दा ठूलो रहेको अधिकारीले बताए।
यही बाढीले नारायणी नदीकिनारमा निर्माण गरिएका अधिकांश संरचना बगाएको हो।
नारायणी किनारलाई पर्यटकीय गन्तव्य बनाउने सपना र नदीको प्राकृतिक बहावबीचको द्वन्द्व अब झन् स्पष्ट भएको छ। करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना हरेक वर्ष बाढीले बगाइरहने हो भने त्यसको विकल्प खोज्नुपर्ने देखिन्छ। अबको चुनौती नदीकिनारलाई फेरि सजाउने मात्र होइन, नदीको बहाव, बाढीको जोखिम र नारायणगढ बजारको सुरक्षालाई एकैसाथ ध्यानमा राखेर दिगो योजना बनाउनु हो।