नेभिगेशन
समाज

जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा लामाखेतवासी

म्याग्दी। पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमारी रावल पछिल्ला केही दिनदेखि ढुक्कसँग सुत्न सकेकी छैनन्। कालीगण्डकी नदीमा आएको बाढीले घर डुबाएपछि अब घर छाड्ने कि जोखिम मोलेर त्यहीँ बस्ने भन्ने दोधारमा छिन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असोज ८ देखि १२ गतेसम्म परेको निरन्तर वर्षापछि कालीगण्डकीमा आएको बाढीले असोज १० गते राति उनको घरमा करिब ६ मिटरसम्म पानी पस्यो। घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा तथा अन्य सामान बाढी र हिलोले पुरिए।

Ncell
Extreme Energy

“करिब ६ मिटर माथिसम्म कालीगण्डकीको बाढी आउँछ भन्ने कल्पना गरेको थिइनँ। तर असोज १० गते रातिको बाढीले घर डुबाएर सामान बगायो,” रावलले भनिन्।

रेस्टुरेन्ट र किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएकी उनी अब त्यही घरमा बस्नसमेत डराएकी छन्।

“यहाँ बसौँ भने बाढीले डुबाएको झलझली आँखामा आउँछ। छोडेर जाने अरू ठाउँ पनि छैन,” उनले भनिन्।

बाढी पसेपछि रावलसहित लामाखेतका अधिकांश बासिन्दाले घरमा रात बिताउन छाडेका छन्। साँझ खाना खाएर उनीहरू बेनी बजारतर्फ जाने र बिहान घर फर्किने गरेका छन्। दिनभर भने बाढी र हिलोले भिजाएका तथा पुरेका सामान सफा गर्नमै बित्ने गरेको स्थानीय बताउँछन्।

घर छाड्ने कि जोखिम मोलेर बस्ने?

लामाखेतमा बस्दै आएकी धवलागिरि गाउँपालिका–५ भेडिखाल्टाकी रुपी बुढा पनि घरमा बस्ने कि छाड्ने भन्ने दोधारमा छिन्।

“जलजला गाउँपालिकाको केन्द्र र कार्यालय रहेको लामाखेतलाई संरक्षण गरेर बस्नयोग्य बनाउन सके मात्र हामी ढुक्क हुने थियौँ,” उनले भनिन्, “बाढी र कटानबाट ज्यान बचाउन घर छाड्नुपर्ने अवस्था छ। जीवनभरको कमाइ लगानी गरेर बनाएको घर छाडेर फेरि गाउँ फर्कन पनि अप्ठ्यारो हुन्छ।”

पछिल्लो १५ वर्षयता तीव्र रूपमा बस्ती विस्तार भएको लामाखेत पर्वत जिल्लामा पर्छ। तर यहाँ बसोबास गर्ने अधिकांश म्याग्दीका विभिन्न ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरेर आएका हुन्।

विदेशमा कमाएको रकम तथा गाउँको जग्गाजमिन बेचेर छोराछोरी पढाउन, बेनीमा रोजगारी र मजदुरी गर्न आउनेहरूले लामाखेतमा घर बनाएर बसोबास गरेका छन्। त्यसैले यहाँका धेरै परिवारका लागि घर र जग्गा जीवनभरको कमाइको मुख्य आधार बनेको छ।

तर यसपटक कालीगण्डकीको बाढीले त्यही आधारमा जोखिम थपिदिएको छ।

२५ भन्दा बढी घरमा बाढी

लामाखेतको तल्लो क्षेत्रमा रहेका २५ भन्दा बढी घरमा बाढी पसेको स्थानीयले बताएका छन्। यसअघि तटबन्ध नाघेर कालीगण्डकीको बाढी बस्तीमा नपसेको उनीहरूको भनाइ छ।

बेनीदेखि लामाखेत जोड्ने ढलानसहितको पक्की सडकसमेत पहिरोले भत्किएपछि घरभित्रका सामान सुरक्षित स्थानमा सार्नसमेत समस्या भएको स्थानीय टीकाराम पुनले बताए।

मेघबहादुर राई भने बाढीको त्रासका कारण बेनी बजारमा कोठा खोजिरहेका छन्।

“सडक माथिको पाखो धसिएको छ र कालीगण्डकी पारि ठूलो पहिरो देखिएको छ। यसले लामाखेतवासीमा त्रास सिर्जना गरेको छ,” उनले भने, “घरभित्र पसेको बाढी र हिलो त पन्छाइयो तर मनभित्र पसेको चिसो हटाउन गाह्रो हुँदोरहेछ।”

स्थानीय अमित पुनले लामाखेतलाई तटबन्ध गरेर सुरक्षित रूपमा बस्न सक्ने अवस्था बनाउनुपर्ने बताए।

बालबालिकाको पढाइसमेत प्रभावित

बाढीले घर र सामानमा क्षति पुर्‍याउनुका साथै बालबालिकाको पढाइसमेत प्रभावित भएको छ।

बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत लामाखेतका आयुस पुनका अनुसार बाढी पसेपछि विद्यालयको पोसाक लगाउन मिल्ने अवस्थामा छैन।

घरमा पसेको हिलो पन्छाउन बुबाआमालाई सघाउनुपर्ने भएकाले विद्यालय जानसमेत नसकेको उनले बताए।

तत्काल उद्धारदेखि दीर्घकालीन संरक्षणसम्मको माग

स्थानीयवासीका अनुसार अहिले बस्तीभित्र थुप्रिएको बालुवा र हिलो हटाउन ब्याकुहोलोडर आवश्यक छ। बेनी जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउने, खानेपानी आपूर्ति सहज बनाउने तथा दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणको योजना सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।

स्थानीय लालबहादुर छन्त्यालले तत्काल बस्तीको सरसफाइ र सडक खुलाउने कामसँगै कालीगण्डकीको कटान रोक्न दीर्घकालीन योजना आवश्यक रहेको बताए।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार बाढीले लामाखेत, लामाबगर, फर्सेललगायत नदी तटीय क्षेत्रका साथै धाइरिङको तामवाङ, खानीगाउँलगायतका बस्तीमा क्षति पुर्‍याएको छ।

उनका अनुसार तत्काल मानवीय क्षति हुन नदिन, अवरुद्ध सडक सञ्चालन गर्न तथा स्थानीयका आधारभूत आवश्यकता पूरा गर्न मंगलबारदेखि १४ वटा समूह परिचालन गरिएको छ।

मालढुङ्गा–बेनी सडकको माथिल्लो क्षेत्रमा पाखो जमिन चर्किएकाले जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको अध्यक्ष आचार्यले बताए।

गाउँपालिकाले अन्य बजेट कटौती गरेर विपद् व्यवस्थापनमा केन्द्रित गर्ने तथा पुनर्निर्माण र पुनःस्थापनाका लागि सङ्घीय र प्रदेश सरकारसँग योजना तथा बजेट माग गर्ने तयारी गरेको उनले बताए।

लामाखेतवासीका लागि अहिले सबैभन्दा ठूलो प्रश्न घरमा फर्किने कि सुरक्षित ठाउँ खोज्ने भन्ने बनेको छ। वर्षौँको कमाइ लगाएर बनाएको घर छाड्न उनीहरू तयार छैनन्, तर फेरि त्यही घरमा फर्किएर रात बिताउने आँट पनि आएको छैन। कालीगण्डकीको कटान रोक्ने र बस्तीलाई सुरक्षित बनाउने ठोस उपाय तत्काल अघि नबढे लामाखेतका धेरै परिवारका लागि घर अब आश्रयभन्दा जोखिमको अर्को नाम बन्ने अवस्था देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।
आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

मौसमविद् विनोद पोखरेलले आगामी आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि गएको हप्ताजस्तो ठूलो वर्षा नहुने बताएका छन्।
बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोबाट ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर र १० गोठ बगाएको छ...