नेभिगेशन
समाज

बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोबाट ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर र १० गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन्। तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्र प्रसाईँले जानकारी दिए।

Marvel
Extreme Energy

बाढीपहिरोबाट निसीखोला र तमानखोला सबैभन्दा बढी प्रभावित भएका छन्। निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन्। सोही क्षेत्रमा चार गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ।

तमानखोला–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रशासनले जनाएको छ।

बडिगाड–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बडिगाड–८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ।

ढोरपाटन–७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ। गलकोट नगरपालिका–१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एउटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ। काठेखोला गाउँपालिका–१, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको प्रशासनले जनाएको छ।

दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालयसमेत बगाएको छ। बाढीले तीनवटा झोलुङ्गे पुल बगाएको छ भने दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुईवटा जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ। एउटा विद्यालय, एउटा रिसोर्ट र एउटा कृषि फार्ममा समेत क्षति पुगेको छ। बाढीपहिरोका कारण २५६ पशुचौपाया र २१५ कुखुरा क्षति भएको प्रशासनले जनाएको छ।

बाढीपहिरोबाट निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्र प्रभावित भएका छन्।

निसीखोलामा पीडितलाई राहत

बाढीपहिरोबाट प्रभावित निसीखोला गाउँपालिकाले पीडित परिवारलाई नगद तथा खाद्यान्न राहत उपलब्ध गराएको छ।

गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार विपद्मा ज्यान गुमाएका परिवार, पूर्ण क्षति भएका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरेर तत्काल आर्थिक सहयोग उपलब्ध गराइएको हो।

गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ, पूर्ण जोखिममा रहेका परिवारलाई ३० हजार रुपैयाँ र जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले राहत दिएको छ।

निसीखोलामा बाढीपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने २४ घर पूर्ण रूपमा क्षतिग्रस्त र २१ घर उच्च जोखिममा रहेका छन्। पाँच मृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले, पूर्ण क्षति भएका २४ परिवारलाई ३० हजारका दरले र आंशिक क्षति भएका २१ परिवारलाई १० हजारका दरले सहयोग गरिएको गाउँपालिकाले जनाएको छ।

पीडित परिवारलाई चामल तथा त्रिपालसमेत वितरण गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज