नेभिगेशन
समाज

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्नुपर्ने चिन्ता

म्याग्दी । बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापाले लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न खेतमा तरकारी खेती गर्न बनाइएको प्लास्टिक थुपारेका छन् । घरभित्र पसेको बाढीको हिलो पन्छाउँदै बचेका सामान घाममा सुकाउनु उहाँको पछिल्लो चार दिनयताको दैनिकी बनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कालीगण्डकीमा यही असोज ११ गते आएको बाढीले आनन्दबगरका आठ वटा घरभित्रै पसेर ठूलो क्षति पुर्यायो । बाढीले केही सामान बगायो भने बाँकी सामान हिलाम्मे भएका छन् । भिजेका छन् । चार दिन बितिसक्दा पनि घरभित्रका सामान निकालेर सफा गर्ने काम सकिएको छैन ।

Ncell
Extreme Energy

“तीन भाइका सँगै रहेका तीन वटा घरको आधा तलासम्म बाढी पसेको थियो,” रुद्रबहादुरले भने, “केही सामान बगायो । बचेका सामान खोजेर सरसफाइ र संरक्षण गर्ने काम चार दिनसम्म पनि सकिएको छैन । अब कहाँ बस्ने भन्ने टुङ्गो छैन ।”

व्यावसायिक तरकारी खेती गर्दै आएका रुद्रबहादुरको समय अहिले खेतमा भन्दा बाढीले क्षति पुर्याएको घर र सामान व्यवस्थापनमै बितिरहेको छ । कालीगण्डकीमा फेरि बाढी आउने त्रासले साँझ आफन्तको घरमा गएर सुत्ने र बिहान आनन्दबगर फर्किएर घरभित्रको हिलो पन्छाउने उनको दिनचर्या बनेको छ ।

रुद्रबहादुरको जस्तै पीडा भोजबहादुर जिसी, पम्मी जिसी, सविना जिसी र मानबहादुर खत्रीलगायत आनन्दबगरवासीको पनि छ । नदी किनारदेखि करिब २० मिटर दूरीमा रहेको बस्तीमा यसअघि यसरी बाढी पसेको आफूलाई थाहा नभएको ६० वर्षीया कमला जिसी बताउँछिन् ।

“कालीगण्डकीमा मैले थाहा पाएदेखिकै ठूलो बाढी आयो,” उनले भनिन्, “बाढीले भिजाएका सामान त धोइपखाली गरौँला तर बस्ती नै छोडेर जानुपर्ने अवस्था आउला भन्ने चिन्ताले सताएको छ ।”

जीवनभरको मेहनत खर्चिएर बनाएको घर बाढीले पुरिएर बस्नै नमिल्ने अवस्थामा पुगेपछि कमलाको मन खिन्न छ । घरमा भएका खाद्यान्न पनि बाढीले बगाएपछि उनको परिवारलाई बाससँगै गासको चिन्ता थपिएको छ ।

रातको त्रास
आनन्दबगरका ८० वर्षीय कालुमान थापाका लागि यसपटकको बाढी जीवनभरको सम्झनामा रहेको मध्यको सबैभन्दा ठूलो हो । कालीगण्डकीको बाढी तटबन्ध र सडक नाघेर घरभित्र पसेपछि उनले भागेर ज्यान जोगाए ।

“बेनीमा रहेका आफन्तले फोन गरेर बाढी आएको जानकारी गराए,” उनले भने, “राति करिब १२ः०० बजेको थियो । त्यसपछि भागेर ज्यान बचाउन सफल भयौँ ।” अहिले पनि कालीगण्डकीको बहाव बढेको देख्दा स्थानीयवासी तर्सिन्छन् । दिनभर घर सफा र सामान व्यवस्थापन गरे पनि राति आफ्नै घरमा सुरक्षित भएर सुत्न सकिने अवस्था नरहेको उनीहरुको गुनासो छ ।

तरकारी खेतीबाट आत्मनिर्भर बनेको बस्ती
मालढुङ्गा–बेनी सडक निर्माण हुनुअघि बागलुङ र पर्वततर्फबाट म्याग्दी आवतजावत गर्ने मानिसले आनन्दबगरको पदमार्ग प्रयोग गर्थे । सडक विस्तार भएपछि भने यहाँका बासिन्दाले व्यावसायिक तरकारी खेतीलाई आम्दानीको मुख्य माध्यम बनाएका थिए ।

सानो क्षेत्रफलमा तरकारी खेती गरेर स्थानीय बजारमा बिक्री गर्ने रुद्रबहादुरसहितका किसान स्वरोजगार र आत्मनिर्भर बन्दै आएका थिए तर अहिले बाढीले घरसँगै घरवरपरका करेसाबारीमा लगाएको तरकारी बालीमा क्षति पुर्याएको छ ।

बाढीले आनन्दबगरको खेलमैदान पुरेको छ । बेनीबाट आनन्दबगर जोड्ने सडक पहिरोका कारण क्षतिग्रस्त बनेको छ । खानेपानीको संरचनामा क्षति पुगेपछि स्थानीयवासीलाई थप समस्या भएको छ ।

आनन्दबगरको माथिल्लो बस्ती भने दुई वर्षअघि कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खालका कारण बाढी र कटानबाट जोगिएको स्थानीयवासी लालबहादुर थापाले बताए । नदी किनारको बस्ती संरक्षणका लागि दीर्घकालीन संरचना निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।

“आनन्दबगरलाई तटबन्ध गरेर सुरक्षित र बस्नयोग्य बस्ती बनाउनुपर्छ,” स्थानीय सविना जिसीले भनिन्, “अहिले घरमा बस्न सकिने अवस्था छैन । बाढीको त्रास पनि उस्तै छ ।”

राहतसँगै दीर्घकालीन संरक्षणको माग
बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले पछिल्लो वर्षापछि आएको बाढीले वडाभित्र सबैभन्दा ठूलो क्षति आनन्दबगरमा भएको बताए । उनका अनुसार सिममा एउटा र अर्जममा दुई वटा घरमा क्षति पुगेको छ ।

बाढीपहिरो प्रभावित परिवारलाई खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराइएको उनले बताए । खानेपानी आपूर्ति सहज बनाउन नगरपालिकामा पहल भइरहेको र दीर्घकालीन रुपमा बस्ती संरक्षणका लागि सङ्घीय सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

“आनन्दबगरमा अल्पकालीन राहतको व्यवस्था मिलाएका छौँ । खानेपानीको समस्या समाधान गर्न पहल गर्छौं,” वडाध्यक्ष थापाले भने, “दीर्घकालीन रुपमा बस्तीलाई सुरक्षित बनाउन तटबन्धलगायत संरचना निर्माणका लागि सङ्घीय सरकारको सहयोग आवश्यक छ ।”

कालीगण्डकीको किनारमा रहेको आनन्दबगरले केही वर्षयता व्यावसायिक तरकारी खेतीबाट आफ्नो पहिचान बनाउँदै आएको थियो तर बाढीले यहाँका परिवारको घर, खाद्यान्न, खेतीपाती र भविष्यप्रतिको भरोसामा नै क्षति पुर्याएको छ ।

बाढीपछि घरको आँगनमा थुप्रिएको हिलो, खेतमा पुरिएको तरकारी र प्लास्टिक घरभित्र थुपारिएका घरायसी सामानले आनन्दबगरवासीको बदलिएको दैनिकी देखाउँछन् । उनीहरुको अहिलेको प्राथमिकता बाढीले बगाउन बाँकी रहेका सामान जोगाउनु र सुरक्षित बासको खोजी गर्नु बनेको छ । दीर्घकालीन रुपमा बस्ती संरक्षण नभए कालीगण्डकीको किनारमा पुस्तौँदेखि बस्दै आएका परिवारलाई आफ्नो थातथलो छाड्नुपर्ने अवस्था आउन सक्ने चिन्ता बढेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४...
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...
चोलेन्द्र प्रकरणः सरकार, प्रहरी र सर्वोच्च तरंगित

चोलेन्द्र प्रकरणः सरकार, प्रहरी र सर्वोच्च तरंगित

सर्वोच्चले भनेको छ–  ‘नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यको रुपमा आत्मसात् गरेको र पूर्वप्रधान्यायाधीश, पूर्वन्यायाधीश एवं बहालवाला प्रत्येक न्यायाधीश र न्यायिक जनशक्ति...