पर्वत । कालीगण्डकी र सेतीखोलाको बाढी बस्तीमा पसेपछि पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणी बजार उजाडिएको छ। बाढीले घर, पसल, होटल, प्रहरी चौकी तथा विभिन्न संरचनामा ठूलो क्षति पुर्याएपछि वर्षौँदेखि यहीँ व्यवसाय गर्दै आएका स्थानीय अहिले कहाँ बस्ने र कसरी पुनःस्थापित हुने भन्ने अन्योलमा छन्।
असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि स्थानीयले कालीगण्डकी र सेतीखोलामा पानीको सतह बढ्दै गए पनि सामान्य बाढी आउने अनुमान गरेका थिए। शनिबार रातिसम्म दुवै नदी पूर्ववत् रूपमा बगिरहेका थिए।
तर राति करिब १२ बजे सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेर आएको सूचना पुगेपछि प्रहरीले महत्वपूर्ण कागजात लिएर चौकी छाडेको थियो। आसपासका स्थानीयलाई समेत सुरक्षित स्थानमा जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बजारमा पस्यो।
बाढीले पर्वततर्फ नौ घर बगाएको र करिब ५० घर डुबानमा परेको स्थानीयले बताएका छन्। सँगै जोडिएको स्याङ्जाको गल्याङ नगरपालिका–५ को बजार क्षेत्र पनि पूर्ण रूपमा डुबानमा परेको थियो। स्याङ्जातर्फ करिब २५ कच्ची तथा पक्की घर बाढीले बगाएको स्थानीयको भनाइ छ।
बस्ती नै बगरमा परिणत
बाढीपछि सेतीवेणी बजारका सडक, घर र पसलमा बालुवा तथा गिट्टी थुप्रिएका छन्। बजारको ठूलो हिस्सा अहिले बगरजस्तै देखिन्छ।
स्थानीय रेशमलाल न्यौपानेले असोज १० गते दिउँसो देखेको बजार र अहिलेको अवस्था तुलना गर्दा विश्वास गर्नै कठिन भएको बताए।
“असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ। कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,” उनले भने।
बाढीले प्रहरी चौकीसहित खाद्यान्न पसल, विद्युतीय सामग्री, भाँडाकुँडा, फेन्सी पसल र होटलमा क्षति पुर्याएको छ। नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारी तथा अन्य संस्थाका कार्यालयसमेत डुबानमा परेका छन्।
न्यौपानेका अनुसार पर्वततर्फ घर तथा व्यवसायमा भएको क्षति जोड्दा मात्रै करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
गुल्मीको अर्बेनीबाट सेतीवेणी आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले आफ्नो करिब ३० लाख रुपैयाँ बराबरको सामान बाढीले बगाएको बताए।
स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यति ठूलो बाढी पहिलोपटक देखेको बताए।
‘जीवनभरको कमाइ एकै रातमा बगर बन्यो’
स्थानीय होटल व्यवसायी उमाकान्त न्यौपानेको घरसहित ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। अहिले उनी परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन्।
“अन्यत्र जाऊँ भने जग्गाजमिन छैन। यही जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ। जीवनभरको कमाइ एकै रातमा बगरमा परिणत भयो,” उनले भने।
बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएको छ।
स्याङ्जातर्फ पनि करोडौँको क्षति
सेतीवेणीसँगै जोडिएको गल्याङ नगरपालिका–५ को बजार क्षेत्र पनि बाढीपछि खण्डहरमा परिणत भएको छ। यहाँ सानाठूला गरी करिब २५ घरमा क्षति पुगेको छ।
लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गरौँ भनेर गरेको लगानी बाढीले क्षणभरमै बगाएको बताए। उनका अनुसार करिब ५० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बाढीले बगाएको छ।
गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँ रुपैयाँको क्षति भएको छ। भौतिक संरचनाबाहेक स्थानीयको १५ करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको उनले बताए।
बाढीले स्थानीय मन्दिर, सत्तल र शालिग्राम शिलासम्म जाने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्याएको छ। बाढीपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको वडाध्यक्ष भट्टराईले बताए।
अब कहाँ जाने?
वर्षौँको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि सेतीवेणीका धेरै स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन्। उनीहरूका अगाडि अब दुईवटा प्रश्न छन्– जोखिम मोलेर फेरि यहीँ घर तथा व्यवसाय सञ्चालन गर्ने कि सुरक्षित स्थान खोजेर बसाइँ सर्ने?
स्थानीय शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बाढीपछि बजार क्षेत्र असुरक्षित बनेकाले स्थानीय नयाँ ठाउँमा जाने कि पुरानै ठाउँमा फर्किने भन्नेमा अन्योलमा रहेको बताए।
बाढीले घर र व्यवसाय मात्रै बगाएको छैन, सेतीवेणीमा वर्षौँदेखि बनाएको स्थानीयको जीविकोपार्जनको आधारसमेत तहसनहस बनाएको छ। तत्कालका लागि विद्यालय र अन्य सुरक्षित स्थानमा आश्रय लिए पनि दीर्घकालमा उनीहरूको पुनःस्थापना कसरी गर्ने भन्ने चुनौती स्थानीय तहसामु उभिएको छ।