नेभिगेशन
समाज

कांग्रेसका नेता पहिलो पटक पुगे आफ्नो वडामा, विशेष महाधिवेशनै नेता कसरी हारे ?

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन भोलि काठमाडौँमा सुरु हुँदैछ । काठमाडौँको खुलामञ्चमा पाँच दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व गर्नेछ । कुनै पनि दलले महाधिवेशन गर्नु, आफ्नो नीति तथा कार्यक्रमको समीक्षा गर्नु र नयाँ कार्यनीति तय गर्नु नियमित प्रक्रिया हो । तर, यसपालि कांग्रेसले जसरी महाधिवेशन गर्दैछ, त्यो भने नियमित प्रक्रियामा मात्रै सीमित छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किन ? यसका विभिन्न कारण छन् ।

Ncell
Extreme Energy

असोज १८ गते सुरु हुने कांग्रेसको पन्ध्रौं महाधिवेशन नियमित महाधिवेशन हो । तर, जुन समय र परिस्थितिमा कांग्रेसले महाधिवेशन गर्दैछ, र महाधिवेशन प्रक्रियामा जे जस्ता रोचक, घोचक र पेचिला घटनाक्रम देखिएका छन्, त्यसले भने यसलाई विशेष बनाएको छ । धेरैको ध्यान तानेको छ ।  

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन जेनजी आन्दोलनकै बाइप्रडक्ट थियो । विशेष महाधिवेशनले तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिलाई अपदस्थ गर्दै तत्कालीन महामन्त्री गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चुन्यो । त्यही केन्द्रीय समितिले आयोजना गरेको हो– यो १५औं महाधिवेशन ।

गगन थापाको नेतृत्वमा महाधिवेशन हुँदै गर्दा कांग्रेस भने तीन चिरामा विभाजित भएको छ । विशेष महाधिवेशनबाट अपदस्थ भएका सभापति शेरबहादुर देउवाले छुट्टै महाधिवेशन गर्दैछन् । देउवा पक्षले अहिले वडा अधिवेशन गरिरहेको छ । अघिल्लो महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइरालाले दुवै पक्षले गरेको महाधिवेशन बहिष्कार गरेका छन् ।  
कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको एजेण्डा उठेको निकै भयो । विशेष महाधिवेशनले यो एजेण्डालाई सतहमा ल्याइदियो । यो महाधिवेशनले त्यसलाई आधिकारिकता दिने छ । तर, कसरी ? यसबारे एकछिनमा चर्चा गर्छु । त्यो भन्दा पहिला– कांग्रेस महाधिवेशनका क्रममा देखिएका केही रोचक घटनाबारे जानकारी गराउँछु । 

कांग्रेसका क्रियाशील सदस्य कति ? 

कांग्रेसको सांगठनिक संरचनाअनुसार, संगठनको मापन गर्ने पहिलो आधार हो– क्रियाशील सदस्य । सम्पूर्ण संरचनाको सुरुवात क्रियाशील सदस्यबाटै सुरु हुन्छ । क्रियाशील सदस्यहरुले वडा समिति बनाउँछन्, क्षेत्रीय प्रतिनिधि चुन्छन् । वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चुनेपछि मात्रै महाधिवेशनको आधार तय हुन्छ ।

कांग्रेसका क्रियाशील सदस्य कति छन् ? संख्या सुन्दा अचम्म लाग्छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय र चुनदेवीस्थित देउवा खेमाको सम्पर्क कार्यालयले फरक फरक तथ्यांक सार्वजनिक गरेका छन् । केन्द्रीय कार्यालयका अनुसार कांग्रेसमा ८ लाख ९७ हजार क्रियाशील सदस्य छन् । चुनदेवी कार्यालयले ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्य रहेको तथ्यांक सार्वजनिक गरेको छ । दुवैतर्फबाट सार्वजनिक गरिएको संख्या जोड्ने हो भने १६ लाख ८० हजार पुग्छ । के कांग्रेसका क्रियाशील सदस्य यति छन् त ? यथार्थमा छैनन् । देउवा समूहले सार्वजनिक गरेको सूचीमा रहेका ७ लाख ८३ हजार क्रियाशील सदस्य पनि संस्थापनको सूचीमा छन् । देउवा खेमाले विशेष महाधिवेशनअघि नवीकरण भएका र नयाँ सदस्यता लिएकाहरुको विवरण समेटेर क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गरेको हो ।  

४४ हजार युवालाई जिम्मेवारी 

सामान्यतया, कांग्रेसलाई बूढाहरुको पार्टी भनेर चित्रण गरिन्छ । यसको कारण हो– केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पाको उमेरका नेताहरु रहनु । चौधौं महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा धेरैले अचम्म मानेका थिए– यी युवाहरु कसरी पार्टी पदाधिकारी चुनिए भनेर । विशेष महाधिवेशनबाट गगन थापा नै सभापति बने, विश्वप्रकाश उपसभापति । 

अहिले अवस्था झनै फेरिएको छ । वडातहदेखि पार्टीको नेतृत्वमा युवाहरुको सहभागिता बढेको छ । पछिल्लो एक आँकडाअनुसार, कांग्रेसका विभिन्न तहमा ४४ हजार हजार युवाले जिम्मेवारी पाएका छन् । एक लाख युवाहरु प्रतिस्पर्धामा उत्रिँदा ४४ हजारले सफलता हासिल गरेका छन् । कतिपय वृद्ध नेताहरुलाई युवाहरुले प्रतिस्थापन गरिदिएका छन् । 

कांग्रेसले यसपालि विधान नै संशोधन गरेर पार्टीका हरेक निकायमा ३५ वर्ष मुनिका युवाहरुको प्रतिनिधित्व सुनिश्चित गरेको छ । आरक्षित बाहेक अन्य सिटमा पनि युवाहरु छानिएका छन् । ३५ वर्ष मुनिका कम्तीमा एक हजार महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् । यीमध्ये आधाआधी जेनजी उमेर समूहका पनि छन् । कांग्रेसका नेताहरुले दाबी गर्न थालेका छन् कि– नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक हो । कांग्रेसले केन्द्रीय समितिमा पनि ३५ वर्ष मुनिका युवाहरुलाई सिट आरक्षित गरेको छ । यसको अर्थ– युवाहरुको प्रतिनिधित्व केन्द्रीय नेतृत्वमा पनि हुने छ ।

प्रतिनिधि बन्न केन्द्रीय नेताहरु नै वडामा 

कांग्रेस महाधिवेशन प्रक्रियामा यसपालि देखिएको अर्को रोचक पक्ष हो– कुनै पनि नेता पदेन महाधिवेशन प्रतिनिधि बन्न पाएनन् । यसअघि केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था रहेकोमा विशेष महाधिवेशनले त्यो प्रावधान खारेज गरिदियो र तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिदियो । यही व्यवस्थाअनुसार सभापति गगनकुमार थापादेखि केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यहरु आ आफ्नो क्रियाशील सदस्यता रहेको वडामा पुगे । महाधिवेशन प्रतिनिधि बन्न सबैभन्दा पहिले वडाबाट क्षेत्रीय प्रतिनिधि बन्नुपर्छ । क्षेत्रीय प्रतिनिधि बनिसकेपछि क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न पाइन्छ । र, त्यहाँबाट निर्वाचित भएपछि मात्रै महाधिवेशन प्रतिनिधि बन्न पाइन्छ । एक पटक केन्द्रीय सदस्य भएपछि आजीवन गाउँ नफर्किने नेताहरु र आफ्नै वडाको संगठनलाई समेत ध्यान नदिने नेताहरुलाई कांग्रेसले एकैचोटी वडामा पुर्यायो । अधिकांश नेताले जिते, केहीले हारे पनि । नेता बन्न कार्यकर्ताको बीचमा जानैपर्ने र तल्लो तहदेखि नै जनाधार हुनुपर्ने तथ्यलाई पनि कांग्रेसले स्थापित गरिदियो । 

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने नै पराजित 

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफैं वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । उपसभापति विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भए । महामन्त्री गुरूराज घिमिरे पनि मोरङ–४ बाट निर्वाचित भए । यसैगरी अन्य पदाधिकारी र सदस्यहरु पनि आ आफ्नो वडा र क्षेत्र हुँदै महाधिवेशनमा आएका छन् । 

तर, नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बन्दसत्रको अध्यक्षता गरेका नेता श्यामकुमार खड्का भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी काठमाडौँ क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार बनेका थिए । प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभावित कोटाबाट उम्मेदवार बनेका उनी चुनावमा पराजित भए । गत पुस सम्पन्न विशेष महाधिवेशनको बन्दसत्रमा ८८ वर्षीय नेता खड्काले अध्यक्षता गरेका थिए । १४औं महाधिवेशनमा उनी काठमाडौं–५ बाटै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ५ ले अर्को पनि रोचक परिणाम दियो । कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार पनि महाधिवेशन प्रतिनिधिमा पराजित भइन् । सुनार विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । जिल्ला र निर्वाचन क्षेत्र तहमा चर्चित अन्य केही नेता पनि यसपालि तल्लो तहबाटै पाखा लागेका छन् । 

विपद्ले प्रभावित, विवादले कुटाकुट 

भदौ १० को भोटेकोशी बाढी र असोजे झरीले देशभर नै विपद् ल्याइदियो । जनधनको ठूलो क्षति भयो । बढी प्रभावित क्षेत्रमा अझै पनि खोजी, उद्धार र राहतको काम भइरहेको छ । यो विपत्तिले कांग्रेसलाई पनि प्रभावित पार्यो । कांग्रेसले सुरुमा भदौको पहिलो साता नै वडा अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो । बर्खायाम र आन्तरिक विवाद समाधानका नाममा पटक पटक मिति सार्दै असोज ३ गते मात्रै वडा अधिवेशन सुरु भयो । असोज १० मा क्षेत्रीय अधिवेशन तोकिएकोमा असोजे झरीले हुन सकेन । १३ गतेसम्म क्षेत्रीय अधिवेशनको म्याद तोकियो । तर, त्यसमा पनि हुन सकेन । स्याङ्जा २ मा असोज १३ गते नै क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि चुनाव सुरु गरिए पनि विवादले बीचमै स्थगित भयो । त्यहाँ असोज १६ गते मात्रै चुनाव भयो । यस्तै विवादले अन्य थुप्रै क्षेत्रको तालिका प्रभावित भयो । मोरङ ६ मा त कुटाकुट नै भयो । क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरु नै घाइते भए । मोरङ ६ कांग्रेस नेता शेखर कोइरालाको निर्वाचन क्षेत्र हो । तर, शेखर यो महाधिवेशन प्रक्रियामा सहभागी छैनन् । कांग्रेसले आफूलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टी दाबी गर्छ । तर, यसपालि अधिकांश वडा र पालिकामा सहमतिका नाममा प्रतिस्पर्धा हुनै नदिइएको कांग्रेसकै कार्यकर्ताले गुनासो गरिरहेका छन् । कतिपयले त अमुक नेताको नाममा जबरजस्ती प्रतिनिधि तोक्ने काम भइरहेको पनि दाबी गरेका छन् । त्यसै त कांग्रेस तीन चिरामा विभाजित छ, त्यसैमाथि वडादेखि क्षेत्रसम्मका अधिवेशनमा जसरी विवाद देखिएको छ, यसले कांग्रेस सुधारिएको हो वा होइन भन्ने प्रश्न उब्जाएको छ । कतिपयले कंग्रेस दु पोइन्ट ओ मा जे पनि हुनसक्छ भनेर व्यंग्य गरिरहेका छन् । 

कांग्रेसले यसपालि जिल्ला र प्रदेश अधिवेशन नगरी सिधै महाधिवेशन गर्दैछ । विगतमा महाधिवेशन अगावै जिल्ला र प्रदेश अधिवेशन पनि हुन्थ्यो । प्राकृतिक विपत्तिका कारण जिल्ला र प्रदेश अधिवेशन गर्न समय अपुग भएको कांग्रेसको दाबी छ । यही कारण देखाएर कुनै पनि हालतमा असोज १६ को मिति सार्न नसकिने बताइरहेका सभापति गगन थापाले महाधिवेशन पनि दुई दिन पर सारे । १६ गतेको उद्घाटन १८ गते पुग्यो । महाधिवेशनको तयारीले संस्थापन पक्ष उत्साहित छ । तर, छ्ट्टै महाधिवेशनमा अगाडि बढेका निवर्तमान सभापति देउवा भने एक्लिँदै गएका छन् । आफ्नै पक्षका ५२ नेताले देउवाको साथ छाडेका छन् । त्यसको असर तल्लो तहसम्म परेको छ । अहिले देउवाको साथमा केही पुराना नेता मात्र छन्।

झण्डै ८ हजार प्रतिनिधि, चुनावलाई २ दिन 

कांग्रेसको इतिहासमै पन्ध्रौं महाधिवेशनमा हालसम्मकै बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । निर्वाचन समितिका अनुसार ७ हजार ७ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् । यो संख्या चौधौं महाधिवेशनमा ४ हजार २ सयको हाराहारीमा थियो । 
यति धेरै महाधिवेशन प्रतिनिधि अन्य कुनै पनि दलको महाधिवेशनमा सहभागी नभएको कांग्रेसको दाबी छ । यसअघि गत असारमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनमा ४ हजार ३ सय हाराहारीमा महाधिवेशन प्रतिनिधि थिए । 
महाधिवेशन प्रतिनिधिको संख्या बढेपछि कांग्रेसलाई व्यवस्थापनको चुनौती थपिएको छ । यति धेरै महाधिवेशन प्रतिनिधिलाई कांग्रेसले कसरी व्यवस्थापन गर्छ भनेर प्रश्न पनि उब्जिएको छ । महाधिवेशन प्रतिनिधिसँगै अन्य कार्यकर्ता पनि काठमाडौँ आउँछन् । बिहान, दिउँसो र साँझको खाना भृकुटीमण्डपमा व्यवस्था गरिए पनि आवासका लागि भने एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रका होटल व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । प्रतिनिधिहरुले आवासको व्यवस्था भने आफैं गर्नुपर्नेछ । 

महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्यहरु निर्वाचित हुने छन् । कुनै पनि पदमा सर्वसम्मतिको सम्भावना अहिलेसम्म देखिएको छैन । एउटै पदमा धेरै जना उम्मेदवार बन्ने सम्भावना बढी छ । जति धेरै मतदाता र उम्मेदवार भए, मतदानका लागि उति नै धेरै समय लाग्छ । कांग्रेस महाधिवेशनमा विद्युतीय मतदान हुने छैन । त्यसले पनि अझ बढी समय लाग्न सक्छ । त्यसैले महाधिवेशन कार्यतालिकामा दुई दिन त निर्वाचनका लागि छुट्याइएको छ । १८ गते उद्घाटन हुन्छ । १९ र २० गते बन्दसत्र चल्छ । २१ र २२ गते मतदान हुन्छ । मतदानका लागि प्रदेशगत रुपमा बुथ बनाउने निर्वाचन समितिको तयारी छ । एक जनाले मतदान गर्न करिव ३० मिनेट लाग्ने अनुमान निर्वाचन समितिको छ । कांग्रेसमा सभापति निर्वाचित हुन पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । यदि दुईभन्दा बढी उम्मेदवार भएमा र कसैले पनि पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सभापतिमा दोस्रो चरणको मतदान हुनेछ । चौधौं महाधिवेशनमा पनि सभापतिका लागि दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणमा मात्रै शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए । मतदान सकिएलगत्तै सुरुमा सभापतिको मात्रै मतगणना गर्ने निर्वाचन समितिको तयारी छ । सभापतिको मतपत्र छुट्टै हुनेछ । 

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त 

कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी प्रतिस्पर्धा यिनै पदमा देखिन थालेको छ । 
विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित सभापति गगन थापालाई नै पन्ध्रौं महाधिवेशनबाट पनि सर्वसम्मत सभापति बनाउने तयारी भइरहेको छ । तर, निवर्तमान सहमहामन्त्री किशोरसिंह राठोरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राठोर यसअघि चौधौं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका थिए । राठोरले उम्मेदवारी दिए पनि गगनकै पल्लाभारी देखिएको र पहिलो चरणको मतदानमै गगन सभापतिमा निर्वाचित हुने कांग्रेस नेताहरुको दाबी छ । 

त्यस्तै, वर्तमान उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले फेरि पनि उपसभापतिमै चाहना राखेका छन् । महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको चाहना पनि महामन्त्री नै बन्ने छ । तर, महाधिवेशन नजिकिँदै गर्दा सबैभन्दा चर्को प्रतिस्पर्धा महामन्त्री पदमा हुने सम्भावना बढेको छ । कांग्रेसका एक दर्जनभन्दा बढी नेताहरुले त महामन्त्रीमा उम्मेदवारी नै घोषणा गरेर जिल्ला दौडाहा गरिरहेका छन् । 
वर्तमान महामन्त्रीहरु पौडेल र घिमिरेसँगै सहमहामन्त्री उदयशमशेर राणा, प्रवक्ता देवराज चालिसे, केन्द्रीय सदस्य नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेविसंघका पूर्वअध्यक्ष रन्जित कर्ण, केन्द्रीय सदस्य मधु आचार्य, पूर्वसांसद सुनिल शर्मा, केन्द्रीय सदस्य रामहरि खतिवडा र आंगेलु शेर्पाले पनि महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उम्मेदवारी मनोनयनसम्म पुग्दा यो संख्या अझ थपिने अनुमान छ । 

खुलामञ्चमा कांग्रेस 

काठमाडौंको केन्द्रमा रहेको खुलामञ्च आन्दोलन, लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मानिन्छ । यसपालि कांग्रेसले आफ्नो महाधिवेशन त्यही खुलामञ्चमा गर्दैछ । पछिल्लो दश वर्षयता खुलामञ्चमा हुन लागेको कांग्रेसको महाधिवेशन नै पहिलो राजनीतिक कार्यक्रम हुँदैछ । 

चौधौं महाधिवेशन भृकुटीमण्डपमा गरेको कांग्रेसले यसपालि रणनीतिक रुपमा राजनीतिक सन्देश दिनकै लागि खुलामञ्च छनोट गरेको हो । ऐतिहासिक र राजनीतिक महत्त्वको खुलामञ्च करिब एक दशकसम्म बन्द रह्यो । राजनीतिक सभा–सम्मेलनदेखि आन्दोलनको केन्द्र यही खुलामञ्च र रत्नपार्क हुने गथ्र्यो । तर २०७३ वैशाखदेखि विभिन्न बहानामा खुलामञ्च बन्द रह्यो । त्यही बीचमा खुलामञ्चलाई कहिले बसपार्क त कहिले व्यापार गर्ने ठाउँ पनि बनाइयो । राजनीतिक स्थललाई काठमाडौं महानगरले फुटबल मैदान बनाउन खोज्यो भनेर पनि विवाद भयो । बन्द भएको करिब एक दशकपछि खुलामञ्चलाई काठमाडौं महानगरपालिकाले २०८२ पुसमा सर्वसाधारणका लागि खुला गरेको थियो । खुलामञ्च केवल एक चौर मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको साक्षी पनि हो ।  जनमत संग्रहको तयारीका क्रममा २०३६ सालमा बीपी कोइरालाले खुलामञ्चमा एक विशाल जनसभालाई सम्बोधन गरेका थिए । २०४६ सालको जनआन्दोलनको घोषणा यही खुलामञ्चबाट गरिएको र जनआन्दोलनको सफलतापछि  गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला लगायत नेताले यहीमन्चबाट सम्बोधन गरेका थिए । २०६२÷६३ को दोस्रो जनआन्दोलनको सफलतापछि यहीँ विशाल सभा गरिएको थियो । 

विगतको तुलनामा खुलामञ्चको स्वरुप फेरिएको छ । काठमाडौँ महानगरले यसको पुनर्निर्माण गरेको छ । महानगरका अनुसार खुलामञ्चको कुल क्षेत्रफल २३ हजार ४१५ वर्गमिटरमध्ये १४ हजार ६ सय वर्गमिटरमा प्राकृतिक नेपाली दुबो रोपिएको छ । अहिले यो चौर हरियो र आकर्षक देखिन्छ । खुलामञ्चको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग– वाकिङ ट्रयाक बनाइएको छ । 

यही खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन समारोह र बन्दसत्र हुने छ । जसका लागि धमाधम संरचना बनाइएको छ । १८ गते बिहानसम्म सबै संरचना तयार हुने कांग्रेसले जनाएको छ । 

कांग्रेस विभाजनको संघारमा छ । सँगै रुपान्तरण र पुस्तान्तरणको प्रक्रियामा छ । महाधिवेशनबाट कांग्रेसले नेतृत्व त छान्छ नै, त्यही महाधिवेशनबाट छानिने नेतृत्वले पार्टी एकतामा कस्तो भूमिका निर्वाह गर्छ अनि पार्टीको नीतिलाई कसरी पुनरपरिभाषित गर्छ भनेर सर्वत्र चासो उब्जिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

सरकारले गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।