नेभिगेशन
समाज

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

पाँचथर । तीन वर्षअघि बाढीपहिरोले पुर्‍याएको क्षति बिर्सिन नपाउँदै फेरि उस्तै विपद् दोहोरिएपछि पाँचथरको याङवरक गाउँपालिका–१ का स्थानीयवासी त्रासमा बाँचिरहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७९/८० को वर्षायाममा बाढीपहिरोले घर, गोठ, सडक, पुल, झोलुङ्गे पुलसहितका भौतिक संरचना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएको थियो। मुरुङ्गा, मेवा, लम्बाखोलालगायत खोला तथा खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा र बिरुवा बस्ती प्रभावित भएका थिए।

Ncell
Extreme Energy

त्यो क्षति भुल्न नपाउँदै गत जेठमा फेरि बाढीपहिरो आयो। यसपटक विगतभन्दा ठूलो क्षति भएपछि स्थानीयवासीलाई फेरि त्यस्तै विपद् दोहोरिन सक्ने त्रासले सताउन थालेको छ।

स्थानीय रामकुमार राईको घरमा भेटिएका इन्द्रबहादुर चाम्लिङका अनुसार २०८० को विपद्पछि आफ्नो जीवनकालमा फेरि त्यस्तो विपद् नआउला भन्ने लागेको थियो। तर तीन वर्षमै त्यसभन्दा ठूलो विपद् भोग्नुपर्‍यो।

‘२०८० को बाढीपहिरोले ठूलो क्षति पुर्‍याएपछि हाम्रो जीवनकालमा यस्तो विपद् नआउला भन्ने धेरैलाई लागेको थियो,’ चाम्लिङले भने, ‘तर यसपालि त्योभन्दा ठूलो विपद् आउँदा हामी अचम्मित भयौँ।’

दुई मिनेटमै घर गुम्यो

चाम्लिङडाँडाका महमलाल खवासको घरको आँगनबाट यसअघि पनि लम्बाखोलाको बाढी बगेको थियो। त्यसपछि उनले घरलाई थप व्यवस्थित बनाए। विगतको जस्तो भयावह अवस्था नहोला भन्ने उनको परिवारलाई लागेको थियो।

तर यस वर्षको बाढीले उनको घर नै बगाएर लग्यो।

‘पहिले पनि आँगनबाट बाढी बगेको थियो। तर घर नै बगाउँला भन्ने सोचेका थिएनौँ,’ खवासले भने, ‘हामी लगाएको कपडामै दुई मिनेटको अन्तरमा भागेर बाँच्न सफल भयौँ। एक मिनेटमै घर बाढीले बगायो। मध्यरात भागेर बाँच्यौँ।’

बाढीले घरसँगै जग्गाजमिन र घरभित्रका सबै सामग्रीसमेत बगाएपछि खवास परिवार अहिले देउकुमार राईको घरमा बसेको छ। घरसहित कम्तीमा १० लाख रुपैयाँ बराबरको सम्पत्ति गुमाएका खवास परिवारलाई अहिले विदेशमा रहेका छोराले पठाएको रकमले जीविका चलाउनुपरेको छ।

तर घर गुमाएपछि पनि त्रास भने हटेको छैन।

खवासका भाइ कविरमानको घरसमेत पहिरोले बगाएको छ। त्यस्तै रविन राई, रामकुमार राई, जहरमान बेघालगायत १६ परिवारको अलैँची तथा धानखेती बगरमा परिणत भएको छ।

घर जोगियो, आम्दानीको बाटो गुम्यो

चाम्लिङडाँडाका रामकुमार राईको घर यसपटक जोगियो। तर उनको आम्दानीको मुख्य स्रोत भने बाढीपहिरोले बगायो।

२०८० सालमा उनको अलैँची बारी पहिरोले बगाएको थियो। त्यसबेला वार्षिक करिब १० मन अलैँची उत्पादन हुने जमिन गुमाएका उनले यसपटक त्यसको दोब्बरभन्दा बढी उत्पादन हुने बारी गुमाएका छन्।

‘मेरो जति क्षति यो वडामा कसैको पनि भएन होला। २०८० मै करिब १० मन अलैँची फल्ने जमिन बगाएको थियो,’ राईले भने, ‘यस वर्ष करिब १५ मन उत्पादन हुने अलैँचीखेती र दुई खला खेत बाढीपहिरोले बगायो। अहिले सबै ढाँड बनेको छ। एक झ्याङ पनि अलैँची बाँकी रहेन।’

अलैँची टिप्ने समयमै उनको बगान नै नरहेपछि परिवारको आम्दानीको बाटो बन्द भएको छ।

‘बर्खा लागेपछि भाग्नुपर्ने होला’

चाम्लिङडाँडाकै रविन राईको घर भने अझै उभिएको छ। तर घरभन्दा मुनि गैरीखेत पहिरोले तानेको छ भने अगाडिको पँधेरे खेत बाढीले पुरेको छ।

त्यसैले उनलाई अर्को वर्षायामको चिन्ताले अहिलेबाटै सताउन थालेको छ।

‘हिउँदमा त ठिकै छ। बर्खा लागेपछि भाग्नैपर्ने होला,’ राईले भने, ‘बरु ढुङ्ग्रोबाट खन्याएको पातलो आउला, आकाशबाट त्योभन्दा ठूलो पानी पर्छ।’

राहत लिनुभन्दा आफै घर बनाउने सोच

प्राकृतिक विपत्तिमा घर पूर्ण क्षति भएका परिवारलाई सरकारले जिल्ला दैवी प्रकोप समितिमार्फत चार लाख रुपैयाँसम्म राहत दिने व्यवस्था गरेको छ। तर प्रक्रिया र किस्ताका कारण राहत पाउन कठिन हुने भन्दै महमलाल खवास भने सरकारको बाटो नहेर्ने सोचमा छन्।

घर निर्माणका लागि तीन किस्तामा रकम आउने जानकारी पाएपछि पालिका र जिल्ला सदरमुकाम फिदिमसम्म पुगेको उनले बताए। तर प्रक्रिया पूरा गर्दागर्दै ऋण लिएको नौ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ।

‘घर निर्माण गर्न तीन किस्तामा रकम आउने रहेछ। पालिका गएँ, फिदिम गएँ। तर प्रक्रिया पूरा गर्दागर्दै साहुबाट काढेको नौ हजार रुपैयाँ सकियो,’ खवासले भने, ‘अब म नखोज्ने, बरु आफैँ बनाएर बस्ने। खोज्दाखोज्दै ऋणमा डुबिने रहेछ।’

विदेशमा रहेका छोरा आएपछि गाउँकै पाखाभित्तामा जग्गा खोजेर घर बनाउने योजना खवास परिवारको छ।

‘अब सबैको क्षति भएको छ। सरकारले कसलाई राहत दिएर सकोस् र ? हामीले खोज्न पनि छाड्यौँ,’ उनले भने, ‘हाम्रो ज्यान बाँचेकै छ। कमाएर केही गरौँला भन्ने सोच बनाएका हौँ।’

क्षतिप्रति नै निराशा

स्थानीय तहले क्षतिपूर्ति दिन नसक्ने र माथिल्ला निकायले पनि वास्ता नगरेको भन्दै अर्का प्रभावित रामकुमार राई पनि राहत पाउनेमा आशावादी छैनन्।

उनका अनुसार २०८० सालको बाढीपहिरोमा भएको क्षतिको विवरणसहित क्षतिपूर्तिका लागि निवेदन दिइएको थियो। तर त्यसको राहत नपाएको उनको गुनासो छ।

‘पहिले पनि क्षतिपूर्तिका लागि निवेदन पेस गर्‍यौँ। तर कुनै राहत आएको बुझिएन,’ राईले भने, ‘यसपटक पनि क्षतिको विवरण मागियो। पहिलेकै क्षतिमा कुनै क्षतिपूर्ति नभएपछि मैले त क्षतिको विवरण पनि दिन मन लागेन।’

बाढीपहिरोले घर र खेती गुमाएका स्थानीयवासी अहिले तत्कालको बसोबास र जीविकोपार्जनको चिन्तामा छन्। तीन वर्षको अन्तरालमै उस्तै प्रकृतिको विपद् दोहोरिएपछि उनीहरूलाई पुनः घर बनाउने र खेती गर्नेभन्दा पनि अर्को वर्षायाम कसरी कटाउने भन्ने चिन्ता थपिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।