कास्की, १९ असोज । लगातारको वर्षा रोकिएर मौसम खुलेसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने विदेशी पर्यटकको सङ्ख्या बढेको छ।
अन्नपूर्ण क्षेत्रका बाढीपहिरोका कारण अवरुद्ध सडक तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्ला केही दिनयता एबिसीमा पर्यटकको चाप बढेको पर्यटन व्यवसायीले बताएका छन्। मनाङ र मनास्लु क्षेत्रका केही पदयात्रा मार्ग पहिरोका कारण प्रभावित भएपछि पर्यटकको रोजाइ एबिसीतर्फ बढेको उनीहरूको भनाइ छ।
छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक करिब ३०० पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। एबिसीमा पर्यटकका लागि ६ वटा होटल तथा लज सञ्चालनमा छन्, जसमा करिब ३५० जनालाई राख्न सकिने क्षमता छ।
‘स्वदेशी पर्यटक छैनन् तर विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको छ। अहिले यहाँ आउने सबै सडक खुलेका कारण पदयात्रा पनि सहज भएको छ,’ गुरुङले भने।
यसअघि लगातारको वर्षा, बाढी र पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सडक तथा पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसाय प्रभावित भएको थियो। बिरेठाँटी र स्याउली बजार क्षेत्रमा मोदी खोलाको कटानका कारण लामो समय सडक अवरुद्ध भएको थियो। गाउँपालिकाले करिब डेढ महिना लगाएर असोजको पहिलो साता सडक सञ्चालनमा ल्याएको हो।
मनाङ र मनास्लु क्षेत्रका कतिपय सडक तथा पदमार्ग पहिरोका कारण प्रभावित भएपछि त्यहाँ जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेका गुरुङले बताए।
‘मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ। त्यसकारण पनि दक्षिण एसियाली मुलुकका पर्यटकको रोजाइ एबिसीमा बढेको हो,’ उनले भने, ‘दसैँ सुरु भएपछि नेपाली पर्यटक पनि आउने अपेक्षा गरेका छौँ।’
अन्नपूर्ण क्षेत्रका सडक खुलेसँगै पोखराबाट पदयात्राको सुरुआती बिन्दुसम्म पुग्न पनि सहज भएको छ। अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार पोखरा–घान्द्रुक–एबिसीसम्मका सबै सडक अहिले सञ्चालनमा छन्। कतिपय स्थानमा अस्थायी व्यवस्था गरेर पदमार्गसमेत सञ्चालनमा ल्याइएको उनले बताए।
‘बिरेठाँटी र स्याउली बजार खुल्यो। घान्द्रुकबाट माथि पनि अब समस्या छैन। एबिसी ट्रेक आउने स्थायी र अस्थायी सबै सडक खुलेका छन्। नयाँपुल, घान्द्रुक, छोम्रोङ सबै ठाउँबाट आउन सकिन्छ,’ उनले भने।
दुई महिनाअघि किम्रुङ खोलाले पक्की झोलुङ्गे पुल बगाएपछि अवरुद्ध बनेको पदमार्गमा पनि किम्रुङ खोलामाथि काठे फड्के निर्माण गरेर आवागमन खुलाइएको छ।
समुद्री सतहबाट करिब ४ हजार १३० मिटरको उचाइमा रहेको एबिसी विश्वका चर्चित पदयात्रा गन्तव्यमध्ये एक हो। अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने भएकाले यो पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ।
एबिसी पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति, स्थानीय जीवनशैली, हिमाली बस्ती, हरियाली वन, झरना, खोलानाला तथा हिमाली भू–दृश्यको अनुभव गर्न पाउँछन्। माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग यस क्षेत्रको प्रमुख आकर्षण हो। पदयात्राका क्रममा माछापुच्छ्रे, अन्नपूर्ण साउथ र अन्नपूर्ण प्रथमलगायत हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ।
पर्यटकको आगमन बढेसँगै गाउँपालिकाले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ। केन्द्रबाट एबिसी तथा माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक र स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार सेवा उपलब्ध हुनेछ।
एबिसी पदयात्राका क्रममा उच्च उचाइका कारण लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिने गरेका छन्। विगतमा केही पर्यटकको ज्यानसमेत गएको घटनालाई ध्यानमा राखेर प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो।