नेभिगेशन
समाज

गगनले अघि सारेको कस्तो कांग्रेसको खाका

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार हुने बन्दसत्रमा थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दशकका लागि पार्टीको वैचारिक, राजनीतिक, संगठनात्मक तथा राष्ट्रिय कार्यदिशाको खाका अघि सार्ने भएका छन्।

Ncell
Extreme Energy

थापाको प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक यात्रा र उपलब्धिको समीक्षा गर्दै आगामी राजनीतिक दिशा तय गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ। देशको वर्तमान अवस्था, लोकतन्त्रका चुनौती, कांग्रेसको राष्ट्रिय दायित्व, वैचारिक नवीकरण तथा ‘समुन्नत नेपाल’ निर्माणको अवधारणालाई प्रतिवेदनका प्रमुख आधार बनाइएको छ।

प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक संघर्षबाट प्राप्त उपलब्धि र अझै पूरा हुन बाँकी दायित्वको समीक्षा गरिएको छ। विगतका राजनीतिक आन्दोलनबाट पाठ सिक्दै १५औँ महाधिवेशनले आगामी चार वर्षको नेतृत्वसँगै त्यसपछिको राजनीतिक दिशाका लागि पनि स्पष्ट आधार तय गर्नुपर्नेमा जोड दिइएको छ।

थापाले कांग्रेसमा देखिएको सत्ता–केन्द्रित राजनीति, संगठनात्मक कमजोरी र युवा पुस्तासँग बढ्दै गएको दूरीलाई आत्मसमीक्षाको विषय बनाएका छन्। निर्वाचनमा भएको पराजय र पछिल्ला दुई दशकको राजनीतिक अभ्यासको समीक्षा गर्दै परिवर्तनका उपलब्धि र जनतासँग गरिएका वाचाबीचको अन्तर पहिचान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

भदौ २३ र २४ गतेको जनउभारदेखि १५औँ महाधिवेशनसम्मका राजनीतिक घटनाक्रमलाई समेत प्रतिवेदनमा विश्लेषण गरिएको छ। बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीचको दूरी, अर्थतन्त्रको अवस्था, बसाइँसराइ र विश्वमा भइरहेको तीव्र परिवर्तनलाई राष्ट्रिय चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।

लोकतन्त्रप्रतिको आलोचना विस्तारै लोकतन्त्रकै अस्वीकारसम्म पुग्न सक्ने जोखिमप्रति पनि प्रतिवेदनले सचेत गराएको छ। त्यस्तै, लोकरिझ्याइँले जनताको वास्तविक असन्तुष्टिलाई गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने भन्दै यस्तो अवस्थामा कांग्रेसले लोकतन्त्रको पक्षमा आफ्नो ऐतिहासिक र समकालीन दायित्व स्पष्ट रूपमा निर्वाह गर्नुपर्ने थापाको दृष्टिकोण छ।

जिम्मेवार प्रतिपक्षदेखि राष्ट्रिय शक्तिसम्म

प्रतिवेदनमा कांग्रेसलाई निर्वाचनका बेला मात्रै सक्रिय हुने दलका रूपमा नभई निर्वाचनबीच पनि समाजमा निरन्तर उपस्थित रहने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।

जिम्मेवार र स्पष्ट प्रतिपक्षको भूमिका निर्वाह गर्दै नागरिकका गुनासा सुन्ने, तथ्य र प्रमाणका आधारमा निष्कर्ष निकाल्ने तथा समाधान प्रस्तुत गर्ने राजनीतिक पद्धति विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ।

थापाले कांग्रेसको भूमिका प्रतिपक्षमा सीमित नभई राष्ट्रिय शक्ति र लोकतान्त्रिक सन्तुलनको आधारका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। त्यसका लागि सामाजिक आन्दोलनका सन्देशलाई संस्थागत रूपान्तरण, राजनीतिक ऊर्जालाई लोकतान्त्रिक संस्थागतकरण र सार्वजनिक विश्वासको पुनर्निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।

सामाजिक आन्दोलन, पार्टी संगठन र लोकतान्त्रिक मध्यस्थताबीचको सम्बन्ध, सार्वजनिक संवाद तथा प्रमुख प्रतिपक्षको भूमिकालाई पनि प्रतिवेदनमा प्राथमिकता दिइएको छ। पुस्तागत परिवर्तन, नयाँ राजनीतिक नेतृत्वको प्रवेश र नेतृत्व निर्माणलाई कांग्रेसको आगामी कार्यभारका रूपमा अघि सारिएको छ।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको नयाँ व्याख्या

थापाले कांग्रेसको वैचारिक आधारलाई २१औँ शताब्दीको बदलिँदो परिवेशअनुकूल पुनर्व्याख्या गर्ने प्रयास गरेका छन्।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई कांग्रेसका स्थायी राजनीतिक आदर्शका रूपमा राख्दै तिनलाई ‘समुन्नत नेपाल’ निर्माणको लक्ष्यसँग जोडिएको छ।

प्रतिवेदनमा राष्ट्रियतालाई राष्ट्रको स्वाधीनता र जनताको सामूहिक स्वशासनसँग, लोकतन्त्रलाई सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्वसँग तथा लोकतान्त्रिक समाजवादलाई राजनीतिक स्वतन्त्रतासँगै सामाजिक–आर्थिक स्वतन्त्रतासँग जोडेर व्याख्या गरिएको छ।

यी तीन आदर्शलाई स्वतन्त्र राष्ट्र, सार्वभौम नागरिक र न्यायपूर्ण समाज निर्माणको आधारका रूपमा प्रस्तुत गरिएको छ। राष्ट्रिय मेलमिलापलाई पनि असहमतिका बीच साझा राष्ट्रिय समुदाय निर्माण गर्ने माध्यमका रूपमा अघि सारिएको छ।

‘समुन्नत नेपाल’को अवधारणा

प्रतिवेदनको अर्को महत्वपूर्ण पक्ष ‘समुन्नत नेपाल’को अवधारणा हो। लोकतान्त्रिक, संवैधानिक, सामाजिक–आर्थिक तथा मानवीय आधारमा समुन्नत नेपाल निर्माण गर्ने दृष्टिकोण अघि सारिएको छ।

थापाले समुन्नतिलाई आर्थिक वृद्धिमा मात्रै सीमित नगरी नागरिकको सामथ्र्य, अवसर, सहनिर्माण र जवाफदेहितासँग जोड्नुपर्ने प्रस्ताव गरेका छन्। राज्य, नागरिक र संस्थाबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्दै विकास र समुन्नतिलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउने अवधारणा प्रतिवेदनमा समेटिएको छ।

‘कस्तो कांग्रेस?’ को खाका

प्रतिवेदनले आगामी कांग्रेस ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ हुनुपर्ने निष्कर्ष अघि सारेको छ।

यसअन्तर्गत सदस्यता विस्तार, नागरिक सहभागिता, पार्टीभित्र स्वामित्वको भावना, तहगत समन्वय र साझा सामर्थ्यमा आधारित संगठन निर्माण तथा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रस्ताव गरिएको छ।

अर्थपूर्ण समावेशिता, पाँच पुस्ताको सहयात्रा, परिवारको अपनत्व, राष्ट्रिय सरोकारमा आधारित सामाजिक आन्दोलन तथा विचार र नेतृत्व निर्माणको केन्द्रका रूपमा कांग्रेसलाई विकास गर्ने विषय पनि प्रतिवेदनमा समेटिएका छन्।

जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धता, पार्टीको स्वच्छ वित्तीय आधार तथा सार्वजनिक लेखापरीक्षणलाई संगठनात्मक सुधारका महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ।

थापाले आगामी चार वर्षको नेतृत्वलाई स्पष्ट कार्यभार र कार्यान्वयनसँग जोड्दै त्यसपछि पनि निरन्तर सुधारमार्फत आगामी दशकका परिणाम हासिल गर्ने राजनीतिक योजना प्रस्तुत गर्न खोजेका छन्।

प्रतिवेदनको निष्कर्षमा नागरिकका आकांक्षा पूरा गर्ने, लोकतन्त्रको प्रतिफल जनजीवनमा पुर्‍याउने र कांग्रेसले आफ्ना मूल राजनीतिक मूल्यमा अडान कायम राख्ने विषयलाई केन्द्रमा राखिएको छ।

१५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने यो प्रतिवेदनले कांग्रेसको विगतको आत्मसमीक्षादेखि आगामी दशकको राष्ट्रिय पुनर्जागरण, समुन्नत नेपाल निर्माण तथा पार्टीको वैचारिक र संगठनात्मक रूपान्तरणसम्मको समग्र खाका अघि सार्ने देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीकाे नादि अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने...
कांग्रेस किन सानो दल बन्यो, रास्वपाले कसरी ओभरटेक गर्‍यो ? गगनको निर्मम समीक्षाले देखाएका ६ कारण

कांग्रेस किन सानो दल बन्यो, रास्वपाले कसरी ओभरटेक गर्‍यो ? गगनको निर्मम समीक्षाले देखाएका ६ कारण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कसरी सानो बन्यो भनेर निर्मम समीक्षा गरेका छन् । कांग्रेस कसरी सानो बन्यो र रास्वपाले कसरी ओभरटेक गरेर ठूलो पार्टी बन्यो भनेर...
केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालयअन्तर्गत विगतमा भएका अनियमितताको अध्ययन थालेकी छिन् ।
कांग्रेस सभापतिमा उठ्नेले तिर्नुपर्छ ४० हजार उम्मेदवारी दस्तुर

कांग्रेस सभापतिमा उठ्नेले तिर्नुपर्छ ४० हजार उम्मेदवारी दस्तुर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिनेले ४० हजार रुपैयाँ उम्मेदवारी दस्तुर तिर्नुपर्ने भएको छ।