नेभिगेशन
समाज

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’को काम धमाधम, इआइए अन्तिम चरणमा

लोथर (चितवन) । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जग्गा व्यवस्थापनसँगै परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवले जानकारी दिनुभयो।

Ncell
Extreme Energy

परियोजनाअन्तर्गत राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रीनफिल्ड टर्मिनल निर्माण हुनेछ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)को मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिनेछ। अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर दूरीमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिछ्याइनेछ।

निगमले भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपलाइनबाट ल्याइरहेको छ। सोही पाइपलाइनलाई अमलेखगन्जदेखि लोथरसम्म विस्तार गर्न लागिएको हो।

पाइपलाइनको नक्साङ्कन भइसकेको आयोजना प्रमुख यादवले जानकारी दिनुभयो। पूर्व–पश्चिम राजमार्गको समानान्तर पाइपलाइन बिछ्याइनेछ। त्यसका लागि सडक विभागसँग समन्वय भइसकेको निगमले जनाएको छ। हेटौँडा बजारमा ‘बाइपास’ गरेर पाइपलाइन बिछ्याउने गरी डिजाइन तय भएको छ।

“अमलेखगन्जबाट आउँदा रातोमाटेभन्दा अगाडि नै नदीको बीचबाट पाइपलाइन जानेछ। त्यो पाइपलाइन हेटौँडा बजार कटिसकेपछि राप्ती पुल नजिकै निस्कनेछ। हेटौँडा बजारमा पाइपलाइन जाँदैन,” उहाँले भन्नुभयो, “निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने गरी काम भइरहेको छ।”

अबको तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटरको गतिमा लोथरसम्म तेल आपूर्ति गर्न सकिने निगमले जनाएको छ। कुल ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपमा तीन हजार २०० किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ।

निगमका उपप्रबन्धक ऋषिराम शर्माले परियोजना निर्माणस्थलमा जमिन सम्याउने, बाहिरी पर्खाल लगाउने र निर्माण थालनीको पूर्वतयारीका काम धमाधम भइरहेको बताउनुभयो। जग्गा तयार भएपछि निगमले भण्डारणसहितका संरचना निर्माणका लागि आइओसीलाई जिम्मा लगाउनेछ।

‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल निर्माणको ठेक्का मोतीदान कन्स्ट्रक्सनले पाएको छ। ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घोरासाइनीले जग्गा पुर्नका लागि आवश्यक कच्चा पदार्थ सङ्कलन गरी साइटमा ल्याउने काम भइरहेको जानकारी दिनुभयो।

सो कम्पनीले गत भदौदेखि काम सुरु गरेको हो। परियोजना निर्माणस्थलमा बाहिरी पर्खाल लगाउने र माटो भर्ने कामका लागि मोतीदान कन्स्ट्रक्सनले करिब रु ७९ करोडमा ठेक्का पाएको छ। ठेक्का अवधि एक वर्षको भए पनि आठ–नौ महिनामै सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिएको ठेकेदार कम्पनीले जनाएको छ।

पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिनेछ। लोथरमा १६० वर्गमिटर क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ।

त्यहाँ पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीनवटा भर्टिकल ट्याङ्की निर्माण हुनेछन्। यस्तै, डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीनवटा र मट्टितेल भण्डारणका लागि ८०० किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण गरिनेछ।

हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरिने निगमले जनाएको छ। लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ। यसबाहेक दुईवटा ट्रान्समिक्स ट्याङ्की निर्माण गरिनेछ।

हवाई इन्धन पनि पाइपलाइनबाटै

लोथरमा हवाई इन्धन भण्डारणका लागि ट्याङ्की निर्माण भएपछि हवाई इन्धन पनि पाइपलाइनबाटै ल्याउन सकिनेछ। निगमले अहिले भारतको बरौनीबाट हवाई इन्धन ट्याङ्करमार्फत ढुवानी गरिरहेको छ।

निगमले अहिले करिब ४०० किलोमिटर टाढाबाट हवाई इन्धन ल्याइरहेको छ। पाइपलाइनमार्फत लोथरमा हवाई इन्धन ल्याउन थालेपछि ढुवानीबापत प्रतिलिटर पाँच रुपैयाँ जोगिने निगमको भनाइ छ। पाइपलाइनबाट हवाई इन्धन ल्याउन थालेपछि वार्षिक करिब दुई अर्ब रुपैयाँ बराबरको ढुवानी खर्च जोगिने अनुमान छ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने तथा पेट्रोलियम पदार्थको चोरी र मिसावटको सम्भावना अन्त्य हुने निगमको भनाइ छ। पाइपलाइनसहित भण्डारण गृह निर्माणको लागत रु १४ अर्ब नौ करोड ६० लाख अनुमान गरिएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठमा गरेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारण गृहसहितको सुविधासम्पन्न डिपो निर्माण गर्ने समझदारी भएको थियो।

सो समझदारीमा दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख थियो। सोही समझदारीअनुसार २०८१ असोज १७ गते इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपाल आयल निगमबीच सम्झौता भएको थियो।

सो सम्झौतामा निर्माण कार्य सुरु भएको ५४ महिनामा परियोजना सञ्चालनमा ल्याइने उल्लेख छ। इन्डियन आयल कर्पोरेसनले सो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ सालदेखि सञ्चालनमा आएको हो। विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो।

सोही दिनदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। यस्तै, २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कुल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ। यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ।

पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ। पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति गर्दै आएको छ।

अमलेखगन्जबाट काठमाडौं, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज र जनकपुरस्थित डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ। अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलियम पदार्थ बिक्री–वितरण हुँदै आएको छ।

सो परियोजना निर्माण भएपछि नेपालका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने विश्वास व्यक्त गरिएको छ। विसं २०२७ मा मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरणका लागि निगमको स्थापना भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गरेका छन् ।
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज, कुन कुन पदमा हुँदैछ चुनाव ?

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज, कुन कुन पदमा हुँदैछ चुनाव ?

नेपाली कांग्रेसको  १५औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । उम्मेदवारीका लागि राष्ट्रिय सभागृहमा निर्वाचन समितिको कार्यालय सञ्चालन गरिँदैछ ।
संकटमा कछुवाको अस्तित्व

संकटमा कछुवाको अस्तित्व