नेभिगेशन
समाज

संकटमा कछुवाको अस्तित्व

सुनसरी । कुनै समय नदी किनार, पोखरी, तालतलैया, सिमसार र चुरेका खोल्सामा सहजै देखिने कछुवा अहिले भेटिनै मुस्किल हुनथालेको छ। कछुवाको सङ्ख्या घट्नुको कारण केवल यसको सिकार वा व्यापार मात्र होइन, उसले पुस्तौँदेखि आश्रय लिँदै आएको पानी, जमिन र हरियाली नै क्रमशः हराउँदै जानु हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिमसार पुरिँदै छन्, पोखरी मासिँदै छन्, नदी किनारमा संरचना थपिँदै छन्। वन र जलस्रोत आसपास बस्ती तथा कृषि विस्तार भइरहेको छ। त्यसमाथि जल प्रदूषण, अवैध सिकार र विष तथा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रमले कछुवाको प्राकृतिक जीवनचक्रमा थप जोखिम बढाएको छ।

Ncell
Extreme Energy

संरक्षणकर्मीका अनुसार कछुवालाई जोगाउनु भनेको एउटा जीव वा प्रजातिलाई मात्र बचाउनु होइन, उसको सम्पूर्ण बासस्थान जोगाउनु हो।

कछुवा तथा सरिसृपसम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ता अस्मित सुब्बा कछुवा संरक्षणलाई पानी, जमिन र हरियालीसँग जोडेर हेर्नुपर्ने बताउँछन्।

“कछुवा संरक्षणका लागि त्यसको बासस्थानसँग जोडिएको पानी, जमिन र हरियाली संरक्षण गर्नु आवश्यक छ,” उनले भने, “सरिसृप वर्गमा पर्ने कछुवाका लागि पानीसँगै सुरक्षित नदीकिनार, अण्डा पार्ने स्थान, घाम ताप्ने ठाउँ, आहारा र प्राकृतिक वनस्पति आवश्यक पर्छ।”

कछुवाका केही प्रजाति आफ्नो जीवनको अधिकांश समय पानीमै बिताउँछन्। तर प्रजननका बेला उनीहरू नदी किनार वा अन्य सुरक्षित स्थानमा पुगेर अण्डा पार्छन्। त्यसैले पानीमा मात्रै कछुवा खोजेर उसको बासस्थान बुझ्न सकिँदैन।

प्राकृतिक पोखरी तथा जलाशय मासिँदा, सिमसार पुरिँदा, नदी किनारमा अव्यवस्थित संरचना बन्दा र आसपासका वनस्पति हटाउँदा कछुवाको प्रजननस्थल नै हराउँदै जाने सुब्बा बताउँछन्। बासस्थानमा आएको यस्तो परिवर्तनले कछुवाको सम्पूर्ण जीवनचक्र प्रभावित हुन्छ।

कछुवाको संकट, सिमसारको संकट

सिमसार केवल पानी जम्ने ठाउँ होइन। यसले वर्षाको पानी सञ्चय गर्छ, जमिनमुनिको पानी पुनर्भरण गर्छ, बाढीको प्रभाव घटाउँछ र असंख्य जीवजन्तु तथा वनस्पतिलाई बासस्थान दिन्छ।

त्यसैले कछुवाको संरक्षणलाई सिमसार संरक्षणबाट अलग गरेर हेर्न नहुने विज्ञहरूको भनाइ छ।

पूर्वी नेपालमा पाइने नरम खबटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुन्छन्। बासस्थानमा हुने परिवर्तनले यस्ता प्रजातिलाई अझ बढी असर पार्ने गरेको छ।

नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्ने कार्यले पनि कछुवालाई प्रत्यक्ष जोखिममा पार्छ। माछा मार्ने क्रममा जाल वा बल्छीमा परेका कछुवा घाइते हुने, निसासिने वा मर्ने जोखिम हुन्छ।

“कछुवाको बासस्थानमा हुने सानो परिवर्तनले पनि त्यसको जीवनचक्रमा ठूलो असर पार्न सक्छ,” सुब्बा भन्छन्।

ठूलो प्राकृतिक बासस्थान स–साना टुक्रामा विभाजन हुँदा समस्या झन् बढ्छ। आहारा खोज्न, प्रजनन गर्न र सुरक्षित स्थानमा पुग्न कछुवालाई कठिन हुन्छ। सडकले बासस्थान छुट्याएपछि सडक पार गर्ने क्रममा सवारीसाधनको चपेटामा पर्ने जोखिम पनि बढेको छ।

कछुवा ढिलो बढ्ने र वयस्क अवस्थामा पुग्न लामो समय लाग्ने भएकाले यसको सङ्ख्या घटेपछि पुरानै अवस्थामा फर्काउन पनि लामो समय लाग्छ।

“यो ढिलो बढ्ने र वयस्क अवस्थामा पुग्न लामो समय लाग्ने भएकाले सङ्ख्या घट्दै गए पुरानै अवस्थामा फर्किन पनि समय लाग्छ,” सुब्बाले भने।

चारकोसे झाडीमा बदलिँदो भू–दृश्य

पूर्वी तराईको चारकोसे झाडी क्षेत्र कुनै समय वन, खोल्सा, पोखरी, नदी र सिमसारले जोडिएको प्राकृतिक प्रणाली थियो। अहिले बस्ती विस्तारसँगै कृषि, सडक र अन्य पूर्वाधार थपिँदै गएका छन्।

यसले वनसँग जोडिएका पोखरी, खोल्सा, नदी किनार र सिमसारको स्वरूप परिवर्तन गरेको छ। एउटा ठाउँको बासस्थान टुक्रिँदा त्यहाँ आश्रित कछुवा मात्र होइन, अन्य जलचर तथा वन्यजन्तु पनि प्रभावित हुन्छन्।

सरिसृप तथा उभयचरसम्बन्धी विषयमा विद्यावारिधि गरेका प्राध्यापक डा. कालुराम खुम्बु कछुवा संरक्षणलाई एउटा प्रजाति बचाउने अभियानमा मात्र सीमित गर्न नहुने बताउँछन्।

“कछुवाको अवस्था बुझ्न अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा बासस्थानको नियमित अध्ययन आवश्यक छ,” उनले भने।

उनका अनुसार कछुवाका विभिन्न प्रजातिले वनस्पति, कीरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य शृङ्खलामा पनि महत्वपूर्ण भूमिका खेल्छन्। त्यसैले कछुवाको संरक्षणले एउटा प्रजातिलाई मात्र होइन, त्यससँग जोडिएको समग्र पारिस्थितिक प्रणालीलाई संरक्षण गर्न मद्दत गर्छ।

पोखरी जोगिए कछुवा जोगिन्छ

कछुवा संरक्षणका लागि ठूला संरक्षण क्षेत्र मात्र आवश्यक हुँदैनन्। गाउँका साना पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार पनि उत्तिकै महत्वपूर्ण हुन्छन्।

यी ठाउँमा रहेका प्राकृतिक बासस्थान जोगाउन सके कछुवाको अस्तित्व जोगाउन सकिने खुम्बु बताउँछन्।

स्थानीयस्तरमा कछुवाका अण्डा र बच्चा सङ्कलन नगर्ने, अवैध सिकार तथा व्यापार रोक्न सहयोग गर्ने, विष र करेन्ट प्रयोग गरेर माछा मार्ने कार्य नियन्त्रण गर्ने र प्राकृतिक पोखरी तथा सिमसार पुर्ने कार्य रोक्ने हो भने कछुवा संरक्षणमा ठूलो योगदान पुग्ने उनको भनाइ छ।

कछुवाको शरीर कडा खपटाले ढाकिएको हुन्छ। प्रजातिअनुसार केही कछुवा पानीमा र केही जमिनमा बढी समय बिताउँछन्। तिनको आकार, आहार र जीवनशैली पनि फरक–फरक हुन्छ।

तर प्रजाति जति फरक भए पनि उनीहरूको अस्तित्व एउटा कुरामा जोडिएको छ—स्वस्थ बासस्थान।

पोखरी सुक्दै गए, सिमसार पुरिँदै गए, नदी किनार कङ्क्रिटले ढाकिँदै गए र हरियाली हराउँदै गए कछुवाका लागि सुरक्षित ठाउँ कहाँ बाँकी रहला? संरक्षणकर्मीका लागि अहिलेको मुख्य प्रश्न यही बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गरेका छन् ।
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज, कुन कुन पदमा हुँदैछ चुनाव ?

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज, कुन कुन पदमा हुँदैछ चुनाव ?

नेपाली कांग्रेसको  १५औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । उम्मेदवारीका लागि राष्ट्रिय सभागृहमा निर्वाचन समितिको कार्यालय सञ्चालन गरिँदैछ ।