काठमाडौँ । नेपाली राजनीतिमा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाइ मतसहित सरकार चलाइरहेको छ । रास्वपाको देशव्यापी संगठन विस्तार भइरहेको छ । ७७ वटै जिल्लामा पार्टी कार्यालय स्थापना भइसकेको छ ।
तिनैमध्येको एक हो, मकवानपुर जिल्ला पार्टी कार्यालय । बागमती प्रदेशको राजधानी हेटौँडामा अवस्थित रास्वपाको पार्टी कार्यालयमा अहिलेसम्म कोही मन्त्री पुगेको थिएन ।
पार्टी स्थापनाको चार वर्षमा संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पाइला टेके । पार्टी कार्यालयमा पुग्ने उनी पहिलो मन्त्री थिए ।
हेटौडा ढल्केबर प्रसारण लाइनको निर्माण प्रगतिको वस्तुस्थिति बुझ्न शनिबार हेटौडा पुगेका मन्त्री श्रेष्ठलाई स्वागत गर्न नेता कार्यकर्ता दिउँसैदेखि आतुर थिए । विहानै ११ बजेदेखि कार्यकर्ताहरु मन्त्रीको पर्खाइमा थिए । निर्माणाधीन प्रसारण लाइनको वस्तुस्थिति बुझेर मन्त्री श्रेष्ठ दिउँसो २ बजेतिर पार्टी कार्यालय पुगेका थिए । उनलाई पार्टीका जिल्ला सभापति सञ्जिव पाठक, सचिव विशम अधिकारी, सहसचिव शान्ति थापालगायत नेता कार्यकर्ताले पुष्पगुच्छा र फुलमालाले न्यानो स्वागत गरे । पार्टी कार्यालयमा ठूलो तामझाम र कार्यक्रम भएन ।
पार्टीका नगर सभापति महेन्द्र श्रेष्ठले स्वागत गर्ने क्रममा मन्त्री श्रेष्ठका लागि मकवानपुर नौलो नभएको भन्दै समस्याहरु राखेर ध्यानाकर्षण गराए । मन्त्री पहिलोपटक कार्यालयमा आएकोमा खुसी व्यक्त गरे ।
जिल्ला सचिव अधिकारीले मन्त्री आउने थाहा पाएपछि सबै गाउँगाउँबाट समस्याहरु संकलन गरिएको जानकारी दिँदै ती सबै समस्याहरु मन्त्री श्रेष्ठलाई सुनाए । तार व्यवस्थापन, विद्युत दुर्घटना, ट्रान्सफर पुरानो भएकाले बिजुली झ्याप जाने समस्या, रुख विरुवा ढल्दा बिजुली काटिने समस्या, तटबन्धको समस्या, विद्युत महसुसको जरिवाना सस्तो बनाउनुपर्ने, कृषिको प्रचुर सम्भावना भएकाले आवश्यक दिगो सिँचाइ, लिफ्टिङ सिँचाइमा पर्याप्त बजेटजस्ता विषय जिल्ला सचिवले मन्त्री समक्ष राखे । साथै उनले टोल कमिटीसँग स्थानीय तहको निर्वाचनमा जुटेको जानकारी गराए । पहिलोपटक मन्त्री कार्यालयमा आउनु गौरवको विषय भन्दै अरु केन्द्रीय नेता र मन्त्रीहरु आइदिँदा हौसला बढ्ने बताए । उनले सुरुमै मन्त्री श्रेष्ठको कार्यकालमा सुरुवात भएका कामहरुको फेहरिस्त पनि सुनाए ।

अन्तिममा जिल्ला सभापति पाठकले अझै पनि जिल्लाको विकट ठाउँमा विद्युत सेवा नपुगेको र टुकी बालेर बस्नुपर्ने बाध्यता सुनाए । विद्युत कार्यालयले सेवाग्राहीलाई राम्रो रेस्पोन्स नगरेको गुनासो सुनाए । कुलेखानी बाँध फुट्ने हल्लाले स्थानीय त्रसित रहेको भन्दै अवस्था के हो स्पष्ट पार्न अनुरोध गरे । हेटौँडा औद्योगिक क्षेत्रलाई २४सै घण्टा लाइन दिने कुरा, वायोग्यास, ऊर्जा पुनर्निर्माण, सिँचाइ, बीच बाटोमा पोलले दुर्घटना हुने गरेकाले गम्भीरतापूर्वक सार्नुपर्ने लगायत समस्याहरु राखे । र अन्तिममा पहिलोप६क मन्त्री आगमन भएकोमा खुसी व्यक्त गरे ।
मन्त्री श्रेष्ठले जिल्लाका नेता कार्यकर्तामार्फत आएका जनगुनासो र समस्याहरुलाई एक एक गरी सम्बोधन हुनेगरी जवाफ दिए । हेटौडामा प्रदेश सभा सांसद हुँदा विताएका पाँच वर्षे समय स्मरण गरे । पहिला चोकमा चिया खाएर कुराहरु सुन्ने गरेको भन्दै अहिले पनि मन्त्रीका रुपमा सुन्न पाएको बताए । उनले रास्वपा प्रथम महाधिवेशनमा दुईतिहाइ मत दिएर विजयी गराएकोमा धन्यवाद दिए । मकवानपुरको दुइटै क्षेत्रबाट सांसद जितेर पठाएको र उनीहरुले संसदमा काम गरिरहेको पनि बताए ।
मन्त्री श्रेष्ठले भोटेकोशी बाढीबाट अवरुद्ध बिजुली १८ घण्टामै जोड्न सफल भएको जानकारी गराए । कुलेखानी बाँध अहिले जोखिममुक्त र सुरक्षित रहेको जानकारी गराए । बाँधमा पानीको सतह भरिँदा पुरै राज्य संयन्त्र अलर्ट रहेको र स्थानीयलाई अलर्ट गराएको जानकारी गराए । हेटौंडा ढल्केवरको प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि मकवानपुर ऊर्जाको हब बन्ने बताए ।

मन्त्री श्रेष्ठले गुणस्तरीय कामका लागि र भ्रष्टाचार हुन नदिनका लागि डिभिजन विद्युत कार्यालयमा निरन्तर चासो राख्न कार्यकर्तालाई अनुरोध गरे । तटबन्धनका लागि समन्वय गर्ने प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले विद्युतको मूल्य समायोजन गर्ने गृहकार्य भइरहेको जानकारी गराए । लिफ्ट सिँचाइका लागि प्रदेश सरकारलाई सशर्त अनुदान पठाइसकिएको भन्दै जिल्ला कार्यालयसँग सम्पर्क गरेर बुझ्न अनुरोध गर्दै के समन्वय गर्नुपर्छ त्यो गर्ने प्रतिबद्धता पनि जनाए । उनले समस्याहरु लिएर मन्त्रालयमा आउन पार्टीको जिल्ला टोलीलाई निमन्त्रणा पनि दिए ।
उनले खैराङमा विद्युतीयकरणका लागि हेटौडा वितरण केन्द्रलाई सम्पर्क गर्न सुझाए भने राक्सिराङमा धेरै काठका पोलहरु जिर्ण भएको र ५० प्रतिशत नयाँ पोल जडान हुन लागेको जानकारी गराउँदै फ्लोअप गर्न अनुरोध गरे । यी ठाउँमा थ्री फेजको लाइन जोड्ने तयारी भइरहेको बताए । मन्त्री श्रेष्ठले पार्टीका नेतालाई सँगै लगेर विद्युत डिभिजन कार्यालय प्रमुखलाई भेटाइदिएर कुरा गराइदिए ।
उनले हेटौडा औद्योगिकीकरणका लागि विद्युतको क्षमता ४० मेगावाट पुर्याउन प्रक्रिया अगाडि बढेको र बजेट अभाव भए जानकारी गराउन अनुरोध गरे ।

ग्रिन हाइड्रोजनका लागि विद्युत प्राधिकरणले मकवानपुरमा पाइलट प्रोजेक्ट भनेको र प्रक्रिया कहाँ पुर्यायो भनेर बुझेर जानकारी गराउने बताए ।
मन्त्री श्रेष्ठले वायो ग्यासका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए । यो पालि सरकारले ८ सय किलोवाटको लक्ष्य लिएको पनि बताए ।
मन्त्री श्रेष्ठले स्थानीय सिँचाइ कार्यालयसँग सम्पर्क गर्न सुझाए । कुलो संरक्षण पनि गर्न सकिने बताए ।
प्रदेश सांसद हुँदा पाँच वर्ष यही बसेको भन्दै मन्त्री श्रेष्ठले अहिले पार्टी कार्यालय आउँदा मामाघर आएजस्तो भएको बताए । उनले पार्टीका साथीहरुको ऊर्जा र सिर्जनात्मक अन्तरक्रियाले आफू हर्षित भएको बताए । उनले स्थानीय तहमा जनतासँग हातेमालो गरेर चुनावमा गरेका वाचा पूरा गर्नका लागि आआफ्नो ठाउँबाट लाग्न र आउँदै गरेको स्थानीय र प्रदेश निर्वाचनमा जुट्न अनुरोध पनि गरे ।

विगतमा दलहरुले पार्टीका कार्यालयमा अनावश्यक पार्टीकै कुरा गरेर घण्टौ विताउने परिपाटी अन्त्य गर्दै रास्वपाका जिल्ला कमिटीले यसरी नौलो खालको अन्तरक्रिया सुरु गरेका हुन् । दल भनेको सीमित समूहको मात्र होइन, यो समग्र जनताकै आवश्यकताको सम्बोधन गर्ने एउटा माध्यम हो भन्ने सन्देश मकवानपुर रास्वपाले दिएको सभापति पाठकले बताए । 'पार्टी भनेको जनताको मागमुद्दा गर्ने एउटा प्लेटफर्म हो । हामी त्यसको वाहक हो । त्यसैले मन्त्रीज्यू आउँदा हामीले जनताकै कुरालाई शिरमा राखेर अन्तरक्रिया गर्यौं,' उनले भने ।