नेभिगेशन
समाज
नेपाली कांग्रेसको १५औं महाधिवेशन

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता भएको छ । सभापतिमा तीन जनाको उम्मेदवारी पर्दा वरिष्ठ उपसभापति र महिला उपसभापति भने निर्विरोध भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ । 

Marvel
Extreme Energy

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ । महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ । वरिष्ठ उपसभापति र महिला उपसभापतिको पद कांग्रेसले यसपालि विधान संशोधन गरेर सिर्जना गरेको हो । 

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छैन । 

त्यस्तै, २ खुला उपसभापतिमा ९ जनाको उम्मेदवारी परेको छ । चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य,  मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र चन्द्रमोहन यादवले खुला उपसभापति पदमा उम्मेदवारी दिएका छन् । 

त्यसैगरी १ समावेशी उपसभापतिमा जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरुङ र रन्जित कर्णले उम्मेदवारी दिएका छन् ।  

२ खुला महामन्त्रीमा ८ जनाको उम्मेदवारी परेको छ । प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, सुनिल शर्मा र सन्तोष उपाध्यायले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । एक महिला महामन्त्रीमा डिला संग्रौला, डिना उपाध्याय र रिता खनालको उम्मेदवारी परेको छ । 

निर्वाचन समितिले साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । 

खुला, प्रदेश र क्लस्टर अनुसारका पदमा उम्मेदवारी परेकाले निर्वाचन समितिले विवरण संकलन  गर्ने काम गरिरहेको निर्वाचन समितिका सचिव राजु कटुवालले जानकारी दिएका छन् । 

संशोधित विधानअुनसार, कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुने छ । तीमध्ये ६६ सदस्य सभापतिले मनोनीत गर्नेछन् भने सभापतिसहित पदाधिकारी र सदस्यसहित २३४ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् । 

महाधिवेशनअन्तर्गत भोलि बिहान साढे १० बजेदेखि बन्दसत्र सुरु हुने छ । बन्दसत्रको सुरुमै सभापति गगन थापाले सम्बोधन गर्ने जनाइएको छ । सभापतिको सम्बोधनपछि हिजोको बन्दसत्रमा पेश भएका प्रतिवेदनहरु पारित गरिने जनाइएको छ । 

निर्वाचन कार्यतालिका अनुसार, २२ गते मतदान हुने छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने पनि निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज