नेभिगेशन
समाज

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सबैभन्दा तीव्र प्रतिस्पर्धा महामन्त्रीमा देखिएको छ । विभिन्न उमेर र व्यक्तिगत पृष्ठभूमिका नेताहरू महामन्त्रीको दौडमा छन् । तीमध्ये उमेर र पृष्ठभूमि दुवै हिसाबले फरक देखिन्छन्—शंकर तिवारी । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएका तिवारी यसपटक महामन्त्रीको प्रतिस्पर्धामा कान्छा उम्मेदवार हुन् । नवलपुर–२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित तिवारीका लागि यो उम्मेदवारी केवल एउटा पदको दाबी मात्र होइन, लामो समयदेखि अक्षर, अध्ययन, अनुसन्धान र वैचारिक बहसबाट निर्माण गरेको राजनीतिक यात्रालाई संगठनको मैदानमा परीक्षण गर्ने अवसर पनि हो । 

Ncell
Extreme Energy

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक, दस्तावेज अनुसन्धानकर्ता र वैचारिक टिप्पणीकारका रूपमा चिने । 

तर अहिले उनी त्यही अध्ययन र लेखनबाट निर्माण भएको आफ्नो राजनीतिक पहिचानलाई संगठनात्मक नेतृत्वको दाबीमा रूपान्तरण गर्न खोजिरहेका छन् । उनको उम्मेदवारीको मूल दाबी पनि यही हो—कांग्रेस केवल संगठन होइन, विचार हो । र, त्यो विचारलाई समयअनुकूल व्याख्या गरेर नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ । ुमहामन्त्री पदमा मेरो उम्मेदवारी कांग्रेस भन्ने विचारको रक्षाका लागि हो । कांग्रेस विचारको सिर्जनशील व्याख्या, विस्तार र प्रसारका लागि हो’ तिवारी भन्छन्, आफूलाई राजनीतिमा समर्पण गरेका दिनदेखि मलाई सबैभन्दा आनन्द दिने चिज भनेको नै कांग्रेस भन्ने विचारको रक्षा हो ।’ 

तर उनका लागि विचारको रक्षा भनेको विगतलाई जस्ताको तस्तै दोहोर्‍याउनु होइन । समयअनुसार त्यसको अर्थ र राजनीतिक सान्दर्भिकता पुनःव्याख्या गर्नु हो । ुकांग्रेस विचारको व्याख्या त्यसको सामयिक नवीकरणबिना सम्भव छैन । कांग्रेस भन्ने विचारलाई परम्पराको सम्मान गर्दै नयाँ पुस्तासँग जोड्नु नै महामन्त्री पदमा मेरो उम्मेदवारीको मूल ध्येय हो’ उनी भन्छन् ।

अक्षरसँगको साइनो 

शंकर तिवारीको राजनीतिक यात्राको एउटा रोचक पक्ष के हो भने उनले राजनीतिमा प्रवेश गर्नुअघि नै आफूलाई पढ्ने, लेख्ने र अनुसन्धान गर्ने व्यक्तिका रूपमा निर्माण गर । स्याङ्जाको वालिङमा जन्मिएका तिवारी पछि परिवारसँगै पूर्वी नवलपरासी झरे । उनी २०५० को दशकको अन्त्यमा विद्यार्थी राजनीतिमा सक्रिय भए । नेपाल विद्यार्थी संघको क्याम्पस इकाइको नेतृत्व सम्हाले ।  एमाले निकट अनेरास्ववियुको दबदबा रहेको रत्नराज्य क्याम्पसमा स्ववियू चुनावमा सभापतिको प्रतिस्पर्धामा उत्रिएका तिवारी सफल हुन त सकेनन् तर नेपाल विद्यार्थी सङ्घको तर्फबाट ऐतिहासिक मत ल्याए । 

उनको रुचि केवल संगठन विस्तार वा चुनावी राजनीतिमा सीमित थिएन । त्यही समय उनको अध्ययनको दायरा राजनीतिभन्दा अझ फराकिलो बन्दै गयो । अध्ययनका हिसाबले पनि तिवारीले पत्रकारिता तथा आमसञ्चार र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । 

महात्मा गान्धीको दर्शनप्रतिको रुचिले उनलाई औपचारिक रूपमा गान्धी दर्शन अध्ययनतर्फ पुर्‍यायो । गान्धी दर्शनमा पोस्ट ग्राजुएट डिप्लोमा पनि गरे । तर पनि उनी नियमित जागिरे जीवनभन्दा सामाजिक सक्रियता र अध्ययन–लेखनलाई प्राथमिकता दिने निष्कर्षमा पुगे । त्यसपछि उनी पीएचडी अध्ययनका लागि भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) पुगे । 

यस क्रममा उनले लेखन यात्रालाई पनि निरन्तरता दिए । सुरुमा हिमालखबरमा लेख्ने गरेका तिवारी पछि विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा स्तम्भकार तथा लेखकका रूपमा देखिए । उनका लेखहरू बीपी कोइराला, गान्धी, कांग्रेसको विचार, लोकतन्त्र, समाजवाद, इतिहास र समकालीन राजनीतिका विषयमा केन्द्रित छन् । 

प्रदीप गिरिः जसले राजनीतिभन्दा पहिले विचार सिकाए

तिवारीको राजनीतिक व्यक्तित्व बुझ्न सबैभन्दा महत्वपूर्ण नाममध्ये एक हो—प्रदीप गिरि  गिरिसँगको सम्बन्ध तिवारीका लागि केवल एक वरिष्ठ नेतासँगको राजनीतिक परिचय थिएन ।त्यो एउटा बौद्धिक विद्यालयजस्तै थियो । उनी सडक आन्दोलन, पार्टी कमिटी र पदको बाटोभन्दा पनि बौद्धिक बाटो हुँदै राजनीतिमा आएका हुन् । 

गिरीको वैचारिक व्यक्तित्वबाट प्रभावित तिवारीले गगन थापासँग काम गर्ने अवसर पाए । गिरीसँग शास्त्रीय वैचारिक क्षेत्रमा र गगन थापासँग युवा राजनीतिका क्षेत्रमा काम गर्ने अवसर आफूलाई मिलेको उनी बताउँछन् । गान्धी दर्शनको अध्ययन सकेर फर्किएपछि तिवारीको प्रदीप गिरिसँगको संगत अझ गहिरियो । 

त्यतिबेला कांग्रेसको इतिहास र विचारलाई दस्तावेजमार्फत बुझ्ने एउटा परियोजनामा गिरिको रुचि थियो । २०४६ अघिको र पछिको कांग्रेसको चरित्र र वैचारिक परिवर्तनलाई दस्तावेजमार्फत देखाउने काम गर्नुपर्ने गिरीको सोच थियो । गिरिले तिवारीलाई आफैं सामग्री खोज्न र काम गर्न प्रोत्साहित गरे । यही कामले तिवारीको जीवनको एउटा महत्वपूर्ण अध्याय सुरु गर्‍यो । 

‘नेपाली कांग्रेसः  ऐतिहासिक दस्तावेजहरू’ र एउटा अनुसन्धानकर्ता जन्मिएको क्षण

तिवारीले इतिहासकार राजेश गौतमलगायत कांग्रेसको इतिहाससँग सम्बन्धित सामग्री खोज्न थाले । त्यसै क्रममा गगन थापाको पहलमा स्थापना भएको पब्लिक पोलिसी पाठशालासँग पनि जोडिए । हाल थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतको सहकार्यमा ‘नेपाली कांग्रेसः ऐतिहासिक दस्तावेजहरू’ तयार भयो । यसको सम्पादन तथा संकलनमा गगन थापा, प्रताप पौडेल, शंकर तिवारी र कृष्ण रिजालको नाम जोडिएको छ । पुस्तकको दोस्रो संस्करण अझ विस्तृत बनाइयो । 

यो पुस्तक केवल कांग्रेसको इतिहासको पुस्तक थिएन । तिवारीका लागि यो कांग्रेसलाई उसका आफ्नै दस्तावेजबाट बुझ्ने प्रयास थियो । विशेषता के थियो भने कांग्रेसभित्रका फरक मत र विवादास्पद दस्तावेजसमेत हटाइएनन् । पार्टीको इतिहासमा भएका असहमति पनि पार्टीकै सम्पत्ति हुन् भन्ने मान्यतासहित सामग्री समेटिएको तिवारी बताउँछन् । यही कामले उनलाई कांग्रेसभित्र एउटा फरक किसिमको पहिचान दियो– कमिटीमा नदेखिए पनि विचार निर्माणमा देखिने युवा । 

प्रदीप गिरि, बीपी र  ‘जेल डायरी’

तिवारीको बौद्धिक यात्राको सबैभन्दा महत्वपूर्ण काममध्ये अर्को हो– बीपी कोइरालाको ‘जेल डायरी’को सम्पादन तथा प्रकाशनमा उनको भूमिका । प्रदीप गिरीसँगको सम्बन्धकै निरन्तरतामा यो काम अघि बढेको थियो । बीपीको जेल डायरीमा अंग्रेजी र नेपाली सामग्री कसरी जोडिएका थिए भन्ने विषय लामो समयदेखि एउटा जटिलता बनेको थियो । 

तिवारीले विभिन्न अभिलेखीय स्रोत र सम्बन्धित व्यक्तिसँग कुराकानी गरेर त्यसको पृष्ठभूमि खोजे, क्रसचेक गरे र त्यसपछि सामग्री प्रकाशनका लागि आधार तयार गरे । 

तिवारीका अनुसार बीपीले जेलमा डायरी अंग्रेजीमा सुरु गरेका थिए र पछि त्यसका केही अंश आफैंले नेपालीमा अनुवाद गरेका थिए । अभिलेखमा रहेको पहिलो मितिको अंग्रेजी प्रविष्टि र नेपाली अनुवादबीचको सम्बन्धसमेत अध्ययन गरेर उनले त्यसको व्याख्या गरेका थिए । यस अर्थमा तिवारी केवल पुस्तक सम्पादक थिएनन् । उनी अभिलेख खोज्ने, स्रोत मिलाउने र ऐतिहासिक सन्दर्भ पुनर्निर्माण गर्ने अनुसन्धानकर्ताको भूमिकामा थिए । र यही कामले उनलाई बीपी–प्रदीप गिरीको वैचारिक परम्परासँग अझ नजिक जोड्यो । 

‘प्रदीप गिरिको नजरमा बीपी कोइराला’

तिवारीको महत्वपूर्ण कृतिमध्ये एक हो– ‘प्रदीप गिरीको नजरमा बीपी कोइराला’ । पुस्तकमा प्रदीप गिरिले करिब पाँच दशकको अवधिमा बीपी कोइरालाको विचार र व्यक्तित्वबारे गरेका मूल्यांकन तथा विमर्शलाई तिवारीले संकलन गरेका छन् । 

यसलाई तिवारीको आफ्नै बौद्धिक यात्राको प्रतीक मान्न सकिन्छ । किनकि एउटा पुस्ताले बीपीलाई जसरी बुझ्यो, त्यसलाई अर्को पुस्तासम्म पुर्‍याउने काममा प्रदीप गिरीको ठूलो भूमिका थियो ।  र, प्रदीप गिरिले बीपीलाई कसरी हेरे भन्ने कुरा अर्को पुस्ताले बुझ्ने गरी अभिलेखित गर्ने काम तिवारीले गरे ।

अर्थात् यहाँ बीपी कोइराला, प्रदीप गिरि र शंकर तिवारी गरि तीन पुस्ताको एउटा वैचारिक शृंखला देखिन्छ । तिवारीलाई यही शृंखलाको उत्तराधिकारी भनेर दाबी गर्न त नसकिएला तर उनले आफ्नो लेखन र अनुसन्धानबाट त्यस परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरेकोमा दुइमत छैन । 

लेखनबाट राजनीतितिर

तिवारीको अर्को परिचय लेखक–पत्रकारको हो । हिमाल खबर पत्रिकाबाट सुरु भएको उनको लेखन यात्रा अन्नपूर्ण पोस्ट, कान्तिपुर, शिलापत्र हुँदै अनलाइन खबरसम्म पुग्यो । उनका लेखहरू राष्ट्रिय राजनीतिदेखि इतिहास, विचार, दर्शन र अन्तर्राष्ट्रिय राजनीतिसम्म फैलिएका छन् । उनले बीपीमाथि लेखेका छन् । गान्धीमाथि लेखेका छन् । कांग्रेसको वैचारिक उत्तराधिकारबारे लेखेका छन् । लोकतन्त्र र समाजवादको बदलिँदो स्वरूपबारे बहस गरेका छन् । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका बेला तिवारीले आफ्नो समसामयिक लेखहरूको संकलन ‘कसले सुधार्छ कांग्रेस ?’ प्रकाशित गरे । पुस्तकसँगै तिवारीको परिचय कांग्रेसभित्र अझ फराकिलो भयो । त्यसपछि बीपीको जेल डायरीमाथि देशका विभिन्न शहरमा भएका छलफलमा सहभागी भए । बीपी साहित्य महोत्सवमा सहभागी भए । 

निरन्तर लेखन, टेलिभिजन अन्तर्वार्ता र सार्वजनिक बहसले उनको सार्वजनिक परिचय बढाउँदै लग्यो । तिवारी स्वयं केन्द्रीय सदस्यमा पराजित भए पनि यही लेखन र वैचारिक कामका कारण कांग्रेसभित्र आफूलाई गम्भीरतापूर्वक लिन थालिएको महसुस गरेको बताउने गर्थे । त्यसैले उनको राजनीतिक यात्रालाई केही हदसम्म पदभन्दा पहिले प्रतिष्ठा निर्माण भएको यात्रा मान्न सकिन्छ । 

नेविसंघदेखि महामन्त्रीको उम्मेदवारीसम्म

तिवारीको राजनीतिक सक्रियता विद्यार्थी जीवनमै सुरु भएको हो । रत्नराज्य क्याम्पस अध्ययनताका स्ववियु राजनीतिमा सक्रिय तिवारी पछि गान्धी दर्शन तथा राजनीतिक अध्ययनतर्फको यात्रामा लागे । त्यसपछि उनको राजनीति राजनीतिक कमिटीभन्दा बढी विचार र बौद्धिक गतिविधिमा देखियो । 

स्थानीय तह र संघीय निर्वाचनका घोषणापत्र ड्राफ्टिङमा सहभागी हुनु, कांग्रेस केन्द्रीय कार्यालयको पुस्तकालय स्थापनामा काम गर्नु, पार्टीका दस्तावेज अनुसन्धान गर्नु र विभिन्न जिल्लामा प्रशिक्षण तथा भाषणका लागि पुग्नु उनको राजनीतिक सक्रियताको अर्को पाटो हो । 

१४औँ महाधिवेशनमा उनी खुला केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए । त्यतिबेला झिनो मतले पराजित उनले यसपटक भने सीधै महामन्त्री पद ताकेका छन् । 

‘विचार’लाई संगठनमा लैजाने चुनौती

तिवारीको उम्मेदवारीको सबैभन्दा रोचक पक्ष यही हो । उनको बलियो पक्ष उनको बौद्धिक पूँजी हो । तर महामन्त्री केवल विचार लेख्ने पद होइन । यो संगठन चलाउने, कार्यकर्तासँग जोडिने, निर्वाचन व्यवस्थापन गर्ने र पार्टीको दैनिक राजनीतिको नेतृत्व गर्ने पद पनि हो । 

त्यसैले तिवारीका लागि अहिलेको मुख्य चुनौती यही देखिन्छ—पुस्तक, दस्तावेज र विचारको संसारबाट पार्टी संगठनको कठोर यथार्थमा आफूलाई कसरी स्थापित गर्ने ? तर उनी आफ्नो यात्रालाई यही परिवर्तनको स्वाभाविक चरणका रूपमा हेर्छन् । 

उनको तर्क छ– पार्टीमा अघि बढ्नका लागि सडकमा ढुंगा हान्नु वा कमिटीको पद लिनु मात्रै विकल्प होइन, विचार निर्माणबाट पनि राजनीतिक नेतृत्वमा आउन सकिन्छ । यही आत्मविश्वासका साथ उनले यसपटक महामन्त्री पद दाबी गर्दै प्रतिस्पर्धामा उत्रिएका हुन् । 

तिवारीका अनुसार गान्धीबाट उनले अहिंसा, नैतिक राजनीति र सामाजिक सक्रियताको दर्शन अध्ययन गरे । बीपीबाट लोकतन्त्र, समाजवाद, साहित्य र राजनीतिक स्वतन्त्रताको सम्बन्ध बुझ्ने प्रयास गरे । र, प्रदीप गिरीबाट यी विचारलाई नेपाली समाज र कांग्रेसको राजनीतिक सन्दर्भमा कसरी व्याख्या गर्ने भन्ने अभ्यास पाए । गान्धीबारे लेखेका तिवारीका सामग्रीले पनि उनी गान्धीलाई केवल इतिहासको पात्रका रूपमा होइन, वर्तमान लोकतान्त्रिक संकटमा पुनः पढ्नुपर्ने विचारकका रूपमा हेर्छन् भन्ने देखाउँछ । 

कांग्रेसको वैचारिक संकट र १५औँ महाधिवेशन

तिवारी अहिले कांग्रेसको विगतको वैचारिक विरासतको व्याख्या गरेर मात्र बस्न चाहँदैनन् । उनी वर्तमान राजनीतिक चुनौतीलाई पनि कांग्रेसको वैचारिक प्रश्नसँग जोड्छन् । उनको बुझाइमा कांग्रेसले विगतमा विभिन्न राजनीतिक अतिवादको सामना गर्दै लोकतान्त्रिक धारलाई मजबुत बनाएको थियो । अहिले भने कांग्रेस आफैं नयाँ प्रकारको राजनीतिक चुनौतीको सामना गरिरहेको छ ।

‘आज कांग्रेस विचार संकटमा परेको छ । अति दक्षिणपन्थी लोकप्रियतावादको चपेटामा परेको छ’ तिवारी भन्छन्, ‘कांग्रेस भन्ने विचारले जहानियाँ राणाशाही, प्रत्यक्ष शासन वा विधि–विधानभन्दा माथि रहेर शासन गर्न चाहने राजसंस्था र उग्र वामपन्थीहरूलाई परास्त गर्दै लोकतन्त्रलाई मजबुत बनाउँदै आएको छ ।’

त्यसैले उनका लागि १५औँ महाधिवेशन नेतृत्व चयनको नियमित प्रक्रिया मात्र होइन, कांग्रेसले आफ्नो राजनीतिक र वैचारिक दिशा पुनःस्पष्ट पार्ने अवसर पनि हो । ‘पन्ध्रौँ महाधिवेशनमा कांग्रेसको मूल कार्यभार भनेको देशलाई अति दक्षिणपन्थी प्रियातावादबाट मुक्त गराउनु हो । त्यसका लागि कांग्रेसमा वैचारिक स्पष्टता जरुरी छ र नयाँ कार्यदिशाको खाँचो छ । १५औँ महाधिवेशनबाट हामीले त्यो सबै काम गर्नुपर्नेछ’ उनी भन्छन् । 

यहीँ आएर उनको महामन्त्री उम्मेदवारीको अर्थ अझ स्पष्ट हुन्छ । उनी आफ्नो राजनीतिक परिचयलाई केवल ‘कान्छो उम्मेदवार’का रूपमा स्थापित गर्न चाहँदैनन् । उनको दाबी विचारको पुनर्व्याख्या र संगठनात्मक रूपान्तरणसँग जोडिएको छ । 

अघिल्लो महाधिवेशनकै बेला कांग्रेस सुधार्नुपर्ने विषयमा आवाज उठाएका तिवारी यतिबेला ‘बीपी र प्रदीप गिरि’बाट आएको वैचारिक विरासतलाई नयाँ पुस्ताको कांग्रेसमा रूपान्तरण कसरी गर्न सकिन्छ भन्नेमा छन् । र त्योसँगै अर्को प्रश्न पनि छ– कांग्रेसले नयाँ पुस्तालाई केवल संगठनमा जोड्ने हो कि उनीहरूले उठाएका नयाँ प्रश्नको राजनीतिक उत्तर पनि दिने हो ? 

तिवारीका लागि यसको उत्तर कांग्रेसको वैचारिक नवीकरण, सिर्जनशील व्याख्या र नयाँ पुस्तासँगको सम्बन्धमा छ । ‘कांग्रेस भन्ने विचारलाई परम्पराको सम्मान गर्दै नयाँ पुस्तासँग जोड्नु नै महामन्त्री पदमा मेरो उम्मेदवारीको मूल ध्येय हो’ उनी भन्छन् । त्यसैले त उनले कांग्रेसमा अहिलेसम्म जुन कुरा खोजे, लेखे र सम्पादन गरे, अब त्यसलाई संगठन, नेतृत्व र व्यवहारमा उतार्ने जिम्मेवारी लिन अघि सरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...

भर्खरै