नेभिगेशन
समाज

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

अब एनपिएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा पनि छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसका लागि आइसिसीले माग गरेका आवश्यक कागजातसमेत क्यानले पठाइसकेको छ । अब क्यान आइसिसीको औपचारिक निर्णयको पर्खाइमा रहेको सचिव पारस खड्काले जानकारी दिए । 

Ncell
Extreme Energy

'राम्रो खेलाडी ल्याउन टोलीहरू कोसिस गरिरहनुभएको छ । तर, अहिले खेलाडीलाई कन्ट्याक्ट गरेर राखेका अवस्थामा अफिसियली स्याङ्कसन (आइसिसी मान्यता) आएपछि मात्रै उहाँहरूलाई अनाउन्समेन्ट गर्ने कुरा आउँछ,' खड्काले भने, 'धेरैजसो टिम यही प्रतीक्षामा हुनुहुन्छ । आशा गरौँ, चाँडोभन्दा चाँडो सकारात्मक खबर आओस् ।' आइसिसीको स्वीकृति आएपछि एनपिएलका टोलीलाई थप स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने उनको भनाइ छ । त्यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढाउन सहयोग पुग्ने खड्काले बताए ।

आइसिसीबाट मान्यता प्राप्त भएमा एनपिएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुनेछ । त्यसैले क्यानसँगै एनपिएलका टोलीसमेत आइसिसीको निर्णयको प्रतीक्षामा छन् । निर्णयमा ढिलाइ हुँदा विदेशी खेलाडीको अन्तिम टुङ्गो लगाउन केही समस्या भइरहेको टोलीको भनाइ छ ।
 
एनपिएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरोज खतिवडा पनि आइसिसीको निर्णयको पर्खाइमा छन् । उनले आइसिसीबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गरे ।

'आशा छ आइसिसीले छिटो एनपिएललाई अन्तरराष्ट्रिय मान्यता दिनेछ । त्यसोहुँदा हामीले आवश्यक पर्ने थप विदेशी स्टारलाई भित्र्याउन सहज हुनेछ,' खतिवडाले भने ।
 
यसपटक एनपिएलमा डेविड वार्नर, मोइन अली, सिकन्दर राजा, इफ्तिखार अहमदलगायत अन्तरराष्ट्रियस्तरका चर्चित खेलाडी जोडिँदै छन् । ठूला विदेशी खेलाडीको सहभागिताले एनपिएलको चर्चा नेपालमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा समेत बढ्ने क्यानको अपेक्षा छ ।

क्यानका सचिव खड्काले एनपिएललाई खेलकुदसँगै पर्यटन प्रवर्द्धनका माध्यमका रूपमासमेत विकास गर्न सकिने बताए । यसअघि एनपिएलमा सहभागी हुन आएका विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरले नेपालबारे सकारात्मक अनुभव लिएर फर्किएका थिए ।

'इन्टरनेसनल खेलाडी लगभग ५५–६० जना, अम्पायरहरू, कमेन्टेटरहरू गर्दा ६०–७० जना विभिन्न देशका नागरिक यसअघि पनि आएर एकदमै प्लेजेन्ट मेमोरिज लिएर फर्किनुभएको छ,' सचिव खड्काले भने ।
    
विदेशी खेलाडीको नेपाल आगमनले खेल पर्यटनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रियस्तरका खेलाडीले नेपालबारे सकारात्मक धारणा व्यक्त गर्दा त्यसको प्रभाव विदेशी पर्यटकमासमेत पर्नसक्ने सचिव खड्काले बताए ।

'स्पोट्र्स टुरिजमको जुन एउटा कन्सेप्ट छ, त्यसलाई नेपाल प्रिमियर लिग र नेपाल क्रिकेटले सुरुदेखि नै प्रवर्द्धन गरिरहेकै छ,' उनले भने, 'विश्वस्तरीय खेलाडी जब आउनुहुन्छ, उहाँहरूले नेपालका बारेमा अन्तरराष्ट्रिय कम्युनिटीमा चर्चा गर्नुहुनेछ । त्यसले देशको अर्थतन्त्र र पर्यटनमा सहयोग गर्छ ।' सचिव खड्काले एनपिएलमार्फत नेपाल सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय समुदायमा दिन सकिने पनि बताए । विभिन्न चुनौतीपछि पनि नेपाल अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश एनपिएलले दिने उनको भनाइ छ ।
    
'इन्टरनासेनल प्लेयर्सहरू आएर नेपाल इज सेफ, नेपाल इज सेक्युर भन्ने मेसेज हामी दिन सक्छौँ,' खड्काले  भने, 'नेपाल फेरि तयार भयो र हामी अगाडि बढ्नेछौँ भन्ने सन्देश पनि यो प्रतियोगिताबाट दिने प्रयास गर्नेछौँ ।'
     
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमा सुरु हुँदैछ । प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ ।

एनपिएल–३ मा पनि आठ वटा टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ । लिगको उद्घाटन खेलमा कात्तिक ९ गते गत संस्करण विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।