काठमाडौँ ।
घटना १: तरकारी किन्न जाँदा दुई लाख रुपैयाँ लुटियो
२०८३ असोज १४ गते राति करिब १ बजेर ४० मिनेटको हुँदो हो, महेन्द्रकुमार बल तरकारी किन्न काठमाडौंको बौद्धको गेट नम्बर २ नजिकै के पुगेका थिए। लुटपाटमा परिहाले। प्रहरीका अनुसार अपरिचित चारदेखि पाँच जनाको समूहले बललाई अँठ्याउँदै उनीसँग रहेको दुई लाख रुपैयाँ नगद र कागजातहरू लुटेर फरार भएको थियो। रातिको समयमा तरकारी किन्न निस्किएका बलमाथि लुटपाटको घटनामा संलग्न समूह आयन माझी नेतृत्वको समूह रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटना २: बीवाईडी कारभित्रैबाट साढे तीन तोलाको सिक्री लुटियो
२०८३ असोज १३ गते राति ११ बजेर ४० मिनेट । काठमाडौं महानगरपालिका–१५, डल्लु चौतारास्थित सडक खण्डमा अर्को लुटपाटको घटना भयो। प्रहरीको अभिलेखअनुसार रमेश खड्कीले चलाएको बागमती प्रदेश ०१–०२९ च ९०६० नम्बरको बीवाईडी कारभित्र एक व्यक्ति बसिरहेको बेला अपरिचित तीन जना पुरुष पल्सर २२० सीसीको मोटरसाइकल चढेर त्यहाँ पुगेका थिए। अल्फाबेट स्पष्ट नभएको र ५७६३ नम्बर रहेको मोटरसाइकलमा सवार उनीहरूले कारभित्रै रहेका व्यक्तिको घाँटीमा लगाइएको साढे तीन तोलाको सुनको सिक्री लुटेका थिए। उक्त सिक्रीको अनुमानित मूल्य १० लाख ५० हजार रुपैयाँ रहेको प्रहरीको विवरणमा उल्लेख छ। लुटपाटपछि उनीहरू डल्लु झोलुङ्गे पुलतर्फ फरार भएका थिए। प्रहरीका अनुसार यी घटनालगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका शृंखलाबद्ध सिक्री लुटपाटका घटनाको अनुसन्धान गर्दा माझी समूहको संलग्नता खुलेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, धारिलो हतियार देखाएर सुनका गरगहना तथा नगद लुटपाट र सिक्री चोरीका घटनामा संलग्न रहेको आरोपमा आयन माझी नेतृत्वको समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले २०८३ असोज २२ गते सार्वजनिक गरेको विवरणअनुसार समूहका मुख्य योजनाकार भनिएका आयन माझीलाई असोज २१ गते काठमाडौंको जडीबुटी पुलमुनिको सडक खण्डबाट मोटरसाइकलसहित पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गर्ने प्रयास गर्दै भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर र घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको ठिमी नगरपालिका–४ बाट थप दुई जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्ने अन्य व्यक्तिमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–४ बस्ने ३६ वर्षीय मनोजकुमार मोक्तान र मकवानपुरकै बकैया गाउँपालिका–५ घर भई ठिमी नगरपालिका–४ बस्ने ३४ वर्षीय राकेश थिङ रहेका छन्।
प्रहरीको विवरणमा आयन माझीको उमेर एक स्थानमा २४ वर्ष र समूहको नाइकेको व्यक्तिगत विवरणमा २६ वर्ष उल्लेख छ। उनको स्थायी घर सिन्धुलीको मरिण गाउँपालिका–५ रहेको र हाल काठमाडौंको कलंकी, ढुंगेअड्डामा बस्दै आएको प्रहरीको विवरणमा उल्लेख छ।
लुटपाटको योजना, मोटरसाइकल र हतियार व्यवस्थापन
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आयन माझी समूहका मुख्य योजनाकार तथा नाइके हुन्। समूहले लुटपाटबाट प्राप्त बहुमूल्य सामान खोस्ने तथा व्यवस्थापन गर्ने काम माझीले गर्दै आएको प्रहरीको दाबी छ। लुटपाटका लागि प्रयोग गरिने मोटरसाइकल, हातहतियार, नक्कली नम्बर प्लेट र अन्य आवश्यक सामग्रीको व्यवस्थापनसमेत उनले गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फरक–फरक मिति र समयमा योजनाबद्ध रूपमा मोटरसाइकल चोरी गर्ने, हातहतियार देखाएर सुनका गरगहना खोस्ने र नगद लुटपाट गर्ने गरेको थियो । पछिल्लो समय काठमाडौंका विभिन्न स्थानमा भएका शृंखलाबद्ध सिक्री लुटपाटका घटनाको अनुसन्धान गर्दा माझी नेतृत्वको समूह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
समूहका सदस्यहरूले लुटपाटका क्रममा मोटरसाइकल प्रयोग गर्ने र फरार हुने क्रममा एकभन्दा बढी सवारीसाधन परिवर्तन गर्ने गरेको प्रहरीको अनुसन्धानमा उल्लेख छ। यसरी सवारीसाधन परिवर्तन गर्दा पक्राउ पर्नबाट जोगिने उद्देश्य रहेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब आठदेखि नौ महिनाअघि रातिको समयमा दुईदेखि तीनवटा मोटरसाइकलमा तीन–तीन जनाका दरले सवार भई सार्वजनिक सडकमा हिँडिरहेका सर्वसाधारण तथा व्यापारीलाई नियन्त्रणमा लिएर उनीहरूले लगाएका गरगहना र नगद लुटपाट गर्ने समूहको खोजी गरिएको थियो। त्यस क्रममा आयन माझीको नेतृत्वमा रहेका १० जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी तथा डाँका मुद्दामा अनुसन्धान गरेको थियो।
त्यस्तै, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका विभिन्न बैंकका एटीएम बुथहरूमा भएको लुटपाटमा समेत माझी समूह संलग्न रहेको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीका अनुसार माझीले विगतमा लामो समयदेखि काठमाडौं उपत्यकामा सिक्री लुटपाट, मोटरसाइकल चोरी तथा डलर र सुन देखाएर सर्वसाधारणलाई झुक्याई लुटपाट गर्ने आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूसँग सम्पर्क स्थापित गर्दै आएका थिए। त्यस्ता व्यक्तिहरूसँग मिलेर समूह बनाउने र यस्तै प्रकृतिका आपराधिक गतिविधिको योजना बनाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
२०७७ सालको डाँका चोरी मुद्दामा कैद भुक्तान, २७ वटा मुद्दामा प्रतिवादी
प्रहरीको विवरणअनुसार आयन माझी २०७७ सालमा डाँका चोरी अर्थात् लुटपाटसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। उक्त मुद्दामा तीन महिना कैद बसेपछि उनी धरौटीमा छुटेका थिए। तर, अदालतले पुनः ६ महिना कैद ठहर गरेपछि उनी सोही मुद्दामा फरार रहेको प्रहरीको विवरणमा उल्लेख छ। पछि २०८२ वैशाखमा पुनः तीन महिना कैद भुक्तान गरी उनी कारागारबाट मुक्त भएका थिए।
प्रहरीका अनुसार माझी विभिन्न समयमा जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा, काभ्रे तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा डाँका चोरीसम्बन्धी २७ वटा मुद्दामा प्रतिवादी रही पक्राउ परेका व्यक्ति हुन्।
प्रहरीले सार्वजनिक गरेको मुद्दासम्बन्धी विवरणमा निम्न मितिहरू उल्लेख छन्।
- २०७९ भदौ २६ गतेस् जिल्ला प्रहरी परिसर भक्तपुरबाट डाँका चोरीसम्बन्धी मुद्दा दर्ता।
- २०७९ असोज ११ गतेस् जिल्ला प्रहरी परिसर भक्तपुरबाट डाँका चोरीका दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता।
- २०७९ असोज २३ गतेस् इलाका प्रहरी कार्यालय बनेपा, काभ्रेबाट डाँका चोरीसम्बन्धी मुद्दा दर्ता।
- २०८२ माघ १५ गतेस् जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरीसम्बन्धी मुद्दा दर्ता।
- २०८२ माघ २० गतेस् जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरीका नौवटा छुट्टाछुट्टै मुद्दा दर्ता।
- २०८२ माघ २१ गतेस् जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरीका दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता।
- २०८२ माघ २५ गतेस् जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरीका छवटा छुट्टाछुट्टै मुद्दा दर्ता।
- २०८२ फागुन ४ गतेस् जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरीसम्बन्धी मुद्दा दर्ता।
- २०८२ फागुन ८ गतेस् जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरीका दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता।
- २०८२ फागुन ११ गतेस् भक्तपुरको प्रहरी वृत्त ठिमीबाट डाँका चोरीका दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता।
कारागारबाट छुटेपछि पुनः लुटपाटमा सक्रिय
प्रहरीका अनुसार कारागारबाट छुटेपछि आयन माझी पुनः पुरानै आपराधिक गतिविधिमा फर्किएका थिए। उनले विगतमा अपनाउँदै आएको कार्यशैलीअनुसार बिहान अँध्यारो समयमा सर्वसाधारणसँग ठेगाना सोध्ने बहाना बनाउने र त्यस क्रममा उनीहरूले लगाएको सुनको सिक्री लुटेर मोटरसाइकलमा फरार हुने गरेको प्रहरीको दाबी छ।
लुटपाटपछि फरार हुने क्रममा उनले तीनवटाभन्दा बढी सवारीसाधन परिवर्तन गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यसैगरी, इनड्राइभ र पठाओजस्ता राइड सेवा प्रयोग गर्ने वा त्यस्तो बहाना बनाउने शैली अपनाएर राति तथा बिहान अँध्यारो समयमा एक्लै मर्निङ वाकमा निस्किएका वा तरकारी किन्न जाने महिला तथा पुरुषलाई निशाना बनाउने गरेको प्रहरीको विवरणमा उल्लेख छ।
समूहका सदस्यहरूले मानिसको आवतजावत कम हुने शान्त स्थानमा पुर्याएर लुटपाट गर्ने गरेको र आवश्यक परे प्रयोग गर्न विभिन्न किसिमका हातहतियारसमेत बोकेर हिँड्ने गरेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार समूहले मानिसहरूलाई लुट्नसमेत चोरी गरिएका मोटरसाइकल प्रयोग गर्ने गरेको थियो । लुटपाटमा प्रयोग गर्नका लागि काठमाडौंका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरिएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जेनजी आन्दोलनमा लुटिएका प्रहरीका हतियार खरिद गर्ने तयारी
प्रहरीले सार्वजनिक गरेको विवरणमा माझी समूहको आपराधिक गतिविधिसम्बन्धी अर्को गम्भीर विषय पनि उल्लेख छ। अनुसन्धानबाट समूहले आपराधिक गतिविधिमा प्रयोग गर्न जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका आधुनिक हातहतियारसमेत खरिद गर्ने तयारी गरेको खुलेको प्रहरीले जनाएको छ।
यद्यपि, ती हतियार खरिद भइसकेको वा समूहको नियन्त्रणमा पुगिसकेको भन्ने विवरण प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीको भनाइमा समूहले भविष्यमा गर्ने आपराधिक गतिविधिका लागि आवश्यक हतियार जुटाउने तयारी गरेको अनुसन्धानबाट खुलेको हो।
माझीले काठमाडौं उपत्यकामा लामो समयदेखि सिक्री लुटपाट, मोटरसाइकल चोरी तथा डलर र सुन देखाएर लुटपाट गर्ने व्यक्तिहरूसँग सम्पर्क बढाएर समूह विस्तार गर्ने र योजनाबद्ध रूपमा आपराधिक गतिविधि सञ्चालन गर्ने गरेको प्रहरीको दाबी छ।
यस समूहले पछिल्ला घटनामा प्रयोग गरेको पल्सर २२० सीसीको मोटरसाइकल बालकुमारी पुलमुनिबाट चोरी गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
स्वयम्भू र बौद्धका लुटपाटमा पनि संलग्न
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उपत्यकाका विभिन्न स्थानमा फरक–फरक मिति र समयमा भएका शृंखलाबद्ध सिक्री लुटपाटका घटनाको अनुसन्धान गर्दा प्रारम्भिक रूपमा माझी समूह सक्रिय रहेको खुलेको थियो।
त्यसपछि समूहका सबै सदस्यको पहिचान गरी उनीहरूको आपराधिक गतिविधिको विवरण संकलन तथा प्रोफाइलिङ गरेपछि खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको विवरणअनुसार समूहका सक्रिय सदस्यहरू स्वयम्भू, बौद्धलगायतका स्थानमा भएका लुटपाट तथा सिक्री लुटपाटका घटनामा प्रत्यक्ष रूपमा संलग्न रहेका थिए।
समूहले अपनाउने कार्यशैलीमा बिहान अँध्यारो समयमा सर्वसाधारणसँग ठेगाना सोध्ने बहाना बनाउने, सिक्री लुट्ने, मोटरसाइकलमा भाग्ने र भाग्ने क्रममा तीनवटाभन्दा बढी सवारीसाधन परिवर्तन गर्ने गरेको प्रहरीको दाबी छ।
त्यस्तै, राति वा बिहान एक्लै हिँड्ने महिला तथा पुरुषलाई लक्षित गर्ने, राइड सेवा प्रयोग गर्ने बहाना बनाउने र सुनसान स्थानमा लुटपाट गर्ने शैली पनि समूहले अपनाउँदै आएको प्रहरीको विवरणमा उल्लेख छ।
दुई मोटरसाइकल, पाँच नक्कली नम्बर प्लेट र खुकुरी बरामद
प्रहरीले आयन माझी समूहसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा लुटपाटमा प्रयोग गरिएका तथा घटनासँग सम्बन्धित विभिन्न सामग्री बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मोटरसाइकलस् २ थान, नक्कली नम्बर प्लेटस् ५ थान, खुकुरीस् १ थान, वारदातका समयमा प्रयोग गरिएका कपडास् बरामद गरिएका छन् ।
प्रहरीले यी सामग्रीलाई घटनासँग सम्बन्धित दसी तथा प्रमाणका रूपमा सार्वजनिक गरेको हो। मोटरसाइकल र नक्कली नम्बर प्लेटको प्रयोगले समूहले लुटपाटका क्रममा आफ्नो पहिचान लुकाउने र घटनापछि फरार हुन सहज बनाउने प्रयास गरेको हुन सक्ने प्रहरीको अनुसन्धानले संकेत गरेको छ। यद्यपि, बरामद प्रत्येक सामग्री कुन–कुन घटनामा प्रयोग भएको थियो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
पक्राउ परेका अन्य दुईको भूमिका स् एक चालक, अर्का पछाडि बस्ने व्यक्ति
प्रहरीले आयन माझी समूहका अन्य दुई सदस्यको व्यक्तिगत विवरण र भूमिकासमेत सार्वजनिक गरेको छ । अन्य दुई सदस्यमा मनोजकुमार मोक्तान र राकेश थिङ रहेका छन् । ३६ वर्षका मनोजकुमार मोक्तान मकवानपुरको बकैया गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्। उनी हाल भक्तपुरको ठिमी नगरपालिका–४ मा बस्दै आएका थिए। प्रहरीका अनुसार समूहले लुटपाट गर्ने क्रममा मोटरसाइकल चलाउने भूमिका मोक्तानले निर्वाह गर्ने गरेका थिए। उनको आपराधिक पृष्ठभूमिका सम्बन्धमा प्रहरीले गम्भीर उत्तेजना वा आवेगमा कुटपिट गरेको घटनामा प्रहरी वृत्त ठिमीबाट पक्राउ परेको विवरण सार्वजनिक गरेको छ।
३४ वर्षका राकेश थिङ मकवानपुरको बकैया गाउँपालिका–५ का स्थायी बासिन्दा हुन्। उनी हाल भक्तपुरको ठिमी नगरपालिका–४ मा बस्दै आएका थिए। प्रहरीको विवरणअनुसार लुटपाटका क्रममा मोटरसाइकलको पछाडि बस्ने भूमिका थिङको रहेको थियो। उनको आपराधिक पृष्ठभूमिमा पनि गम्भीर उत्तेजना वा आवेगमा कुटपिट गरेको घटनामा प्रहरी वृत्त ठिमीबाट पक्राउ परेको विवरण उल्लेख छ।
प्रहरीले माझी समूहका अन्य सदस्यहरूको खोजतलास जारी रहेको जनाएको छ। समूहमा संलग्न अन्य व्यक्तिको पहिचान, उनीहरूको भूमिका तथा लुटपाटका घटनासँगको सम्बन्धबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीको अनुसार समूहले काठमाडौंका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेको, लुटपाटमा नक्कली नम्बर प्लेट प्रयोग गरेको र फरार हुने क्रममा सवारीसाधन परिवर्तन गर्ने गरेको छ। त्यस्तै, जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका आधुनिक हतियार खरिद गर्ने तयारीसमेत गरेको प्रहरीको दाबी छ। हाल समूहका अन्य सदस्यहरूको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।