नेभिगेशन
समाज

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँ । पछिल्लो समय सुन तस्करी सेलाएको थियो। त्यसो त यसअघिको सरकारले सुन तस्करीको जालो तोडेको दाबी गरेको थियो। तर बिहीबार राति २१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेपछि भित्रभित्रै सुन तस्करी भइरहेको त छैन, या सुन तस्करहरू फेरि सलबलाउन थालेका पो हुन् कि भन्ने आशंका पैदा भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका मुख्य नाइकेको निर्देशनमा कारोबार सञ्चालन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Ncell
Extreme Energy

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालस्थित घरबाट पक्राउ परेका तीन चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा ह्याङ फेई, झौ लोङ क्विन र वाङ जियाङ जिआङ छन्। तीनै जना चिनियाँ नागरिक हुन्।

प्रहरीले उनीहरूबाट ठोस र अर्धठोस गरी २१ किलो ७५० ग्राम सुन बरामद गरेको बताएको छ। बरामद सुनको अनुमानित बजार मूल्य ५४ करोड ६० लाख ७ हजार रुपैयाँ रहेको कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रहरीका अनुसार घरमा सुन प्रशोधन गर्न प्रयोग गरिने मेसिन तथा उपकरणसमेत फेला परेका छन्। बरामद सुनमध्ये १० किलो ९९७ ग्राम तयारी अवस्थामा रहेका ११ वटा टुक्रा थिए। बाँकी १० किलो ७५२ ग्राम अर्धठोस अवस्थामा थियो। अर्धठोस सुन प्लास्टिकमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा चिनियाँ समूहले बूढानीलकण्ठको उक्त घर गत साउनदेखि भाडामा लिएर सुन प्रशोधन तथा कारोबार गर्दै आएको खुलेको छ। घरधनी विष्ट थरका व्यक्ति रहेको र घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ सम्झौता भएको प्रहरीले जनाएको छ।

चिनियाँ नागरिक सु क्यानले २०८३ साउन ८ देखि चार महिनाका लागि घर भाडामा लिएका थिए। र, त्यसबापत १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको एसएसपी खड्काले पत्रकार सम्मेलनमा बताए।

प्रहरीका अनुसार सु क्यानले चीनमा रहेका आफ्ना मुख्य नाइके जेन जिया ललाई घरको साँचो सुम्पेका थिए। त्यसपछि जेनले ह्याङ फेई र झौ लोङ क्विनलाई घरको साँचो दिएर नेपाल पठाएको अनुसन्धानबाट खुलेको छ।

यसले सुन कारोबारमा संलग्न व्यक्तिहरूबीच चीन र नेपालमा रहेर काम बाँडफाँट गरिएको हुन सक्ने देखाएको छ।

वीच्याटबाट गर्थे कारोबार सञ्चालन

प्रहरी अनुसन्धानअनुसार यस समूहका मुख्य नाइके जेन जिया ल चीनको ग्वान्झाउमा छन्। उनी नेपाल आउँदैनन्। उनकै निर्देशनमा वीच्याटमार्फत सुनको अवैध कारोबार र ओसारपसार सञ्चालन हुने गरेको एसएसपी खड्काले जानकारी दिए।

प्रहरीले विशेष सूचना पाएपछि सुन प्रशोधन भइरहेको घर र त्यसमा संलग्न व्यक्तिमाथि निगरानी थालेको थियो। करिब १० दिनसम्म निगरानी गरेपछि बिहीबार घरमा छापा मारेर तीन जनालाई पक्राउ गरिएको हो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार गिरोहको सञ्जाल र कारोबारमा संलग्न अन्य व्यक्तिको पहिचान गर्न निगरानी गरिएको थियो। सुन बरामद गर्नुका साथै त्यसको कारोबारको संरचना पत्ता लगाउनु पनि अनुसन्धानको उद्देश्य रहेको प्रहरीले बताएको छ।

पक्राउ परेका चिनियाँ नागरिकसँग सोधपुछ गर्न दोभासेको व्यवस्था गरिए पनि उनीहरूले अनुसन्धानमा असहयोग गरिरहेको प्रहरीले जनाएको छ।

अहिलेसम्म खुलेको छैन नेपालीको संलग्नता 

प्रहरीका अनुसार हालसम्म यो प्रकरणमा कुनै पनि नेपालीको संलग्नता खुल्ने आधार भेटिएको छैन।, घर भाडामा लिने, त्यसमा सुन प्रशोधन गर्ने र कारोबार सञ्चालन गर्ने प्रक्रियामा संलग्न व्यक्तिबारे भने थप अनुसन्धान भइरहेको छ।

प्रहरीले बरामद सुन कहाँबाट नेपाल ल्याइएको थियो, त्यसको स्रोत के हो र प्रशोधनपछि कहाँ पठाउने योजना थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। विमानस्थल वा अन्य कुन नाकाबाट सुन भित्र्याइएको हो भन्नेबारे पनि अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ।

नेपालमा यसअघि पनि ठूलो परिमाणमा सुन तस्करीका घटना सार्वजनिक भएका थिए। त्यतिबेला ठूलो लहरो बाहिर आएको थियो। २०७४ सालमा सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा एउटै समूहले चार वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको विवरण सार्वजनिक भएको थियो। त्यसैगरी, २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरिसकेको अवस्थामा ‘ब्रेक सु’भित्र लुकाइएको ६० किलो सुन बरामद भएको थियो।
बूढानीलकण्ठमा बरामद भएको सुनको स्रोत, कारोबारको वास्तविक स्वरूप र चीनमा रहेका भनिएका मुख्य नाइकेसहित अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीको अपेक्षा छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...

भर्खरै