नेभिगेशन
समाज

थानीमाई मन्दिरमा एकै दिन चढाइए ९१ फूलका डोली

दमौली। तनहुँको भानु नगरपालिका–७, बसन्तपुरस्थित थानीमाई मन्दिरमा एकै दिन ९१ वटा फूलका डोली चढाइएका छन्। कात्तिक महिनाका दुई मङ्गलबारमा मात्रै मन्दिरमा ९३ वटा डोली चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका अध्यक्ष जीवन थापाका अनुसार कात्तिकको तेस्रो मङ्गलबार ९१ र चौथो मङ्गलबार दुईवटा फूलका डोली चढाइएका हुन्। उक्त अवधिमा १० हजारभन्दा बढी भक्तजनले मन्दिर पुगेर पूजाआजा गरेका थिए।

Marvel
Extreme Energy

कात्तिकको पहिलो मङ्गलबार महानवमी परेकाले डोली नआएको र दोस्रो मङ्गलबार पनि डोली चढाउने क्रम नभएको थापाले बताए। तेस्रो मङ्गलबार एकै दिन ठूलो सङ्ख्यामा डोली चढाइएपछि मन्दिरमा भक्तजनको उल्लेख्य भीड लागेको थियो। चौथो मङ्गलबार भने तिहारका कारण दुईवटा मात्रै डोली आएको उनले बताए।

थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा यहाँको धार्मिक संस्कृतिको विशिष्ट पक्ष हो। प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार विशेष रूपमा फूलको डोली चढाउने गरिन्छ। ती महिनाका मङ्गलबार देशका विभिन्न ठाउँबाट भक्तजन मनोकामना लिएर मन्दिर पुग्ने गर्छन्।

मन्दिरमा फूलको डोली चढाउँदा मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ। यही विश्वासका कारण भक्तजनले भाकल गर्ने र इच्छा पूरा भएपछि पुनः डोली चढाउन आउने परम्परा रहिआएको अध्यक्ष थापाले बताए।

डोली चढाउने विधि पनि आफ्नै मौलिक धार्मिक परम्पराअनुसार सम्पन्न गरिन्छ। भक्तजनले डोली चढाउनुभन्दा अघिल्लो दिन सोमबार सत्यनारायणको पूजा गरी फूल, तोरणलगायत सामग्री राखेर डोली तयार पार्छन्। भाकलअनुसार तयार गरिएको डोली लिएर उनीहरू मङ्गलबार बिहानै मन्दिर पुग्ने गर्छन्।

पञ्चैबाजाको तालमा मन्दिर परिक्रमा

थानीमाई मन्दिरमा फूलको डोली चढाउने दिनको दृश्य आकर्षक हुने गर्छ। भक्तजन फूलको डोली र पञ्चैबाजासहित नाचगान गर्दै मन्दिरको तीनपटक परिक्रमा गर्छन्। पञ्चैबाजाको ताल, नाचगान र थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जायमान बन्छ।

परिक्रमा गरेपछि मन्दिर परिसरका देवलमा डोलीसँगै लगिएको तोरण तीन फन्को घुमाएर बाँध्ने गरिन्छ। त्यसपछि भक्तजन मन्दिरभित्र प्रवेश गरी थानीमाईको पूजा तथा आराधना गर्छन्।

ध्वजापताका, फूलका माला र पञ्चैबाजासहित मन्दिर पुग्ने भक्तजनका कारण विशेष मङ्गलबार बसन्तपुर क्षेत्र उत्सवमय बन्ने गरेको छ। टाढाटाढाबाट आउने भक्तजनका लागि यो पूजाआजा गर्ने अवसर मात्र नभई पुस्तौँदेखि चल्दै आएको धार्मिक परम्परासँग जोडिने माध्यमसमेत बनेको छ।

मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिन नियमित पूजाआजा हुँदै आएको छ। फूलको डोली चढाउने विशेष महिनाका मङ्गलबार भने भक्तजनको चाप बढी हुने गरेको छ।

धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको आकर्षण

समुद्री सतहबाट करिब एक हजार २०० मिटर उचाइमा रहेको थानीमाई मन्दिर धार्मिक आस्थाको केन्द्रसँगै प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक गन्तव्य हो। मन्दिर परिसरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार र लमजुङको राइनासकोटलगायत आसपासका भूभाग देख्न सकिन्छ। मौसम खुलेका बेला टाढासम्म फैलिएका हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने पर्यटकलाई थप आकर्षित गर्छ।

धार्मिक दर्शनसँगै प्रकृतिको आनन्द लिन चाहनेका लागि पनि यो उपयुक्त गन्तव्य बन्न सक्छ। अग्लो स्थानमा रहेको मन्दिर, वरपरको प्राकृतिक वातावरण र आसपासका भूभागको दृश्यावलोकनले यहाँ पुग्ने पर्यटकलाई फरक अनुभव प्रदान गर्छ।

धार्मिक स्थललाई पर्यटनसँग जोड्ने प्रयास भइरहेका बेला थानीमाई मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ। विशेषगरी फूलको डोली चढाउने दिन हुने भक्तजनको उपस्थिति र सांस्कृतिक गतिविधिले यस क्षेत्रको पहिचान विस्तार गर्न सहयोग पुर्‍याएको छ।

किंवदन्तीसँग जोडिएको इतिहास

थानीमाई मन्दिरको इतिहास स्थानीय जनविश्वास र किंवदन्तीसँग जोडिएको छ। स्थानीयवासीका अनुसार विसं १८२५ देखि यस स्थानमा पूजाआजा सुरु भएको मानिन्छ।

किंवदन्तीअनुसार विसं १८२५ तिर मन्दिर रहेको स्थानमा एक भोटिनी आमा र उनकी छोरी पुगेका थिए। त्यतिबेला ठूलो हावाहुरी चलेपछि उनीहरू एउटा रुखमुनि ओत लागेका थिए। सोही क्रममा आमा र छोरी त्यहीँबाट अन्तर्ध्यान भएको जनश्रुति छ। त्यस घटनापछि उक्त स्थानलाई धार्मिक शक्तिसँग जोडेर पूजा गर्न थालिएको स्थानीयवासीको भनाइ छ।

त्यही समयदेखि थानीमाईको पूजा आराधना सुरु भएको र क्रमशः यो स्थान धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै गएको स्थानीयको विश्वास छ। पुस्तौँदेखि सुनिँदै आएको यस किंवदन्तीले मन्दिरको धार्मिक महत्त्वलाई थप विशेष बनाएको छ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट थानीमाई मन्दिरमा पनि क्षति पुगेको थियो। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त १४ लाख रुपैयाँ र मन्दिरमा चढाइएको भेटीबाट सङ्कलित ६ लाख रुपैयाँ गरी २० लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्।
हिमालको पीडा कोप–३१ को निर्णयमा लेखाउने नेपालको प्रयास

हिमालको पीडा कोप–३१ को निर्णयमा लेखाउने नेपालको प्रयास

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रम, विपद्को जोखिम र त्यसबाट भइरहेको जनधनको क्षतिलाई अन्तर्राष्ट्रिय जलवायु एजेन्डामा स्थापित गर्ने प्रयासमा नेपाल जुटेको छ।
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः परराष्ट्रमन्त्री खनाल

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताएका छन्।
बन्दैछ गच्छे–भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्ने

बन्दैछ गच्छे–भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्ने

लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँची जिल्लाको सिमानासँगै जोडिएको छ। तर, भौगोलिक रूपमा नजिक भएर पनि प्रदेश राजधानी पुग्न जिल्लावासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ।