नेभिगेशन
समाज

बघिनी र पाँच डमरु बचाउन राजकुमारले देहत्याग गरेको किंवदन्तीसँग जोडिएको नमोबुद्ध जात्रा सुरु हुँदै

करुणा र परोपकारको बौद्ध सन्देश बोकेको तीनदिने मेलामा ५० हजार भक्तजन आउने अनुमान, पितृको सम्झनामा रातभर दीप प्रज्वलन गरिने

काभ्रेपलाञ्चोक । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको जीवन बचाउन आफ्नो शरीर अर्पण गरेको बौद्ध किंवदन्तीसँग जोडिएको ऐतिहासिक नमोबुद्ध जात्रा सोमबारदेखि सुरु हुँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक धार्मिकस्थलमा कात्तिक शुक्ल चतुर्दशीदेखि पूर्णिमासम्म तीन दिन मेला लाग्ने परम्परा छ। करुणा, त्याग र परोपकारको सन्देश दिने यस मेलामा स्वदेश तथा विदेशबाट बौद्ध धर्मावलम्बी सहभागी हुने गर्छन्।

Marvel
Extreme Energy

मन्दिर व्यवस्थापन समितिका अनुसार प्रत्येक वर्ष करिब ५० हजार भक्तजन नमोबुद्ध पुगेर दर्शन तथा पूजाअर्चना गर्छन्।

बघिनी र डमरु बचाउन राजकुमारको देहत्याग

नमोबुद्ध जात्राको धार्मिक तथा ऐतिहासिक महत्त्व गौतम बुद्धको पूर्वजन्मसँग जोडिएको छ।

किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमार एक दिन गन्धमान पर्वतको जङ्गलमा पुगेका थिए। त्यहाँ उनले भोकले छटपटाइरहेकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखे।

भोकले कमजोर भएकी बघिनी आफ्नै डमरुलाई समेत खान सक्ने अवस्थामा पुगेको देखेपछि राजकुमारले उनीहरूको जीवन बचाउने निर्णय गरे। उनले आफ्नो शरीरको मासु काटेर बघिनीलाई खुवाए। अन्ततः आफ्नो देहत्याग गरेर बघिनी र पाँच डमरुको जीवन बचाए।

नमोबुद्धका मूल लामागुरु कान्छा लामाका अनुसार यही घटनाको स्मरणमा प्रत्येक वर्ष यहाँ जात्रा लाग्ने गरेको हो।

राजकुमारले जीवनदान दिएको स्थानमा पूजा गर्ने र दीप प्रज्वलन गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार बघिनीलाई लक्ष्मी र उनका पाँच डमरुलाई भिक्षुका रूपमा मानिन्छ।

राजकुमारको देहत्यागपछि राजा र रानीले पनि सोही स्थानमा बाँकी जीवन चैत्यसेवामा बिताएको किंवदन्ती छ। उनीहरू शङ्खेश्वरी अजि–अजिमाका नामले समेत परिचित रहेको कान्छा लामाले बताए।

पितृको सम्झनामा रातभर दीप प्रज्वलन

नमोबुद्ध जात्राको अर्को विशेषता पितृको सम्झनामा गरिने दीप प्रज्वलन हो।

नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो रातभर पितृको सम्झनामा बत्ती बाल्ने परम्परा छ। रातभर दीप प्रज्वलन गर्दा पितृलाई वर्षभरि उज्यालो हुने धार्मिक विश्वासका आधारमा यो परम्परा चलिआएको उनले बताए।

जात्राका क्रममा परम्परागत गीत तथा नृत्यसमेत प्रस्तुत गरिन्छ।

विशेषगरी तामाङ र नेवार समुदायका भक्तजनको सहभागिता रहने मेलामा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ र नुवाकोटलगायत जिल्लाबाट श्रद्धालु पुग्ने गरेका छन्।

स्थानीय राकेश लामाका अनुसार नमोबुद्धमा जात्राका बेला मात्रै नभई वर्षभरि नै स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीको चहलपहल रहने गर्छ।

पनौतीसँग जोडिएको धार्मिक परम्परा

नमोबुद्धमा कात्तिक पूर्णिमाबाहेक भाद्र कृष्ण द्वादशी र चैत कृष्ण द्वादशीमा पनि मेला लाग्छ।

भाद्र कृष्ण द्वादशीका दिन नमोबुद्धको खट पनौतीस्थित राजदरबारमा ल्याएर दुई दीपङ्कर बुद्ध र अजि–अजिमासहित जात्रा गर्ने परम्परा छ।

राजकुमारको जन्मघर पनौतीस्थित तलेजु भवानी मन्दिरनजिक रहेको काशीवर्ण महावीरलाई मानिन्छ। यसले नमोबुद्ध र पनौतीबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्धलाई समेत देखाउँछ।

गन्धमान पर्वतको टुप्पोमा राजकुमारको अस्थिपञ्जर सङ्कलन गरी स्तूप (चैत्य) निर्माण गरिएको अभिलेख संवत् ९७४ को रहेको बताइन्छ। पर्वतमा राजकुमारले बघिनीलाई आफ्नो शरीरको मासु खुवाइरहेको दृश्य कुँदिएको मूर्तिसमेत स्थापना गरिएको छ।

धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य

नमोबुद्ध क्षेत्रमा विशाल गुम्बा, मन्दिर, चैत्य तथा ढुङ्गाबाट निर्मित बुद्धका मूर्ति छन्। यहाँका गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालनमा छ।

काठमाडौँबाट करिब ३२ किलोमिटर पूर्व र धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा रहेको नमोबुद्ध पुग्न पनौतीबाट शङ्खु उपत्यका हुँदै वा धुलिखेलबाट पदयात्रा गर्न सकिन्छ।

यहाँबाट पनौतीका हरियाली बस्ती, पूर्व र उत्तरतर्फका हिमशृङ्खला तथा पहाडी भूभागको दृश्यावलोकन गर्न सकिन्छ।

बौद्ध दर्शनमा करुणा र सबै प्राणीप्रतिको दयाभावलाई महत्वपूर्ण मानिन्छ। आफ्नो जीवनसमेत त्यागेर अरू प्राणीको रक्षा गरेको राजकुमारको कथाले नमोबुद्धलाई धार्मिक आस्थाको केन्द्र मात्रै नभई त्याग, करुणा र परोपकारको सन्देश बोकेको ऐतिहासिक गन्तव्यका रूपमा स्थापित गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशका विभिन्न भागबाट २१ जना किन परे पक्राउ ?

देशका विभिन्न भागबाट २१ जना किन परे पक्राउ ?

प्रहरीले देशका विभिन्न १० जिल्लाबाट लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ।
१८ वर्ष विदेश बसेर फर्किएका मीनबहादुर गाउँमै रमाउँदै, घ्यू बेचेर वार्षिक तीन लाख बचत

१८ वर्ष विदेश बसेर फर्किएका मीनबहादुर गाउँमै रमाउँदै, घ्यू बेचेर वार्षिक तीन लाख बचत

१८ वर्ष कतार र कुवेतमा बिताए। परिवारबाट टाढा रहेर पसिना बगाए। तर, विदेशको कमाइभन्दा आफ्नै गाउँमा परिवारसँगै बसेर केही गर्ने रहर बलियो भएपछि कास्कीका मीनबहादुर क्षेत्री स्वदेश फर्किए।
हुलाकी सडकले फेरिँदै बाँकेका दुर्गम गाउँको मुहार

हुलाकी सडकले फेरिँदै बाँकेका दुर्गम गाउँको मुहार

कुनै बेला भारतीय बाटो प्रयोग गरेर सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाँकेको नरैनापुर क्षेत्रका बासिन्दा अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सक्छन्। हुलाकी सडक निर्माणसँगै वर्षौंदेखि दुर्गम मानिँदै आएका बाँकेका गाउँको...
डलर, युरो र पाउन्डको भाउ घट्यो, यस्तो छ आजको विदेशी विनिमयदर

डलर, युरो र पाउन्डको भाउ घट्यो, यस्तो छ आजको विदेशी विनिमयदर

एकै दिनमा अमेरिकी डलरको खरिददर ७२ पैसा घट्यो, युरोको ९९ पैसा र पाउन्डको ८८ पैसा गिरावट