नेभिगेशन
समाज

हुलाकी सडकले फेरिँदै बाँकेका दुर्गम गाउँको मुहार

कुनै बेला भारतको बाटो हुँदै सदरमुकाम पुग्नुपर्ने नरैनापुरका बासिन्दालाई अहिले सहज आवागमन, ग्रामीण क्षेत्रमा व्यापार र पर्यटन गतिविधि बढ्दै

राँझा (बाँके) । कुनै बेला भारतीय बाटो प्रयोग गरेर सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाँकेको नरैनापुर क्षेत्रका बासिन्दा अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सक्छन्। हुलाकी सडक निर्माणसँगै वर्षौंदेखि दुर्गम मानिँदै आएका बाँकेका गाउँको आवागमन सहज भएको छ। सडकले दूरी मात्रै घटाएको छैन, ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि र व्यावसायिक अवसरसमेत बढाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हुलाकी सडकले राप्ती सोनारी गाउँपालिकाको बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका क्षेत्रलाई नेपालगञ्जसँग सीधै जोडेको छ।

Marvel
Extreme Energy

नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवका अनुसार पहिले नेपालगञ्ज पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। अहिले हुलाकी सडक बनेपछि यात्रा छोटिएको छ।

“पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उनले भने, “हुलाकी सडक नरैनापुरवासीका लागि जीवनरेखा बनेको छ।”

उनका अनुसार बाँकेमा राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्वतर्फ १० किलोमिटर हुलाकी सडक निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज भएको हो।

सडकसँगै बढ्यो व्यापार व्यवसाय

हुलाकी सडक निर्माणपछि राप्ती नदीपारिका बैजापुर, बिनौना र फत्तेपुर क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि बढेका छन्।

राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीका अनुसार सडक निर्माणपछि स्थानीयले विकासको अनुभूति गर्न थालेका छन्। मानिसको आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसाय पनि विस्तार भइरहेका छन्।

“हुलाकी सडक बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन्। व्यावसायिक कारोबार बढेको छ,” उनले भने, “मानिसको आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसाय पनि फस्टाउँदै गएका छन्।”

सडक सञ्जाल विस्तारले स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन तथा दैनिक उपभोग्य वस्तु र सेवा सहज रूपमा गाउँसम्म ल्याउनसमेत मद्दत पुगेको छ।

हुलाकी सडकसँगै अन्य पूर्वाधार निर्माणले पनि यस क्षेत्रको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याएको राप्ती सोनारी गाउँपालिका–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्ट बताउँछन्।

धार्मिक तथा पर्यटकीयस्थलमा चहलपहल

सडक निर्माणपछि राप्तीपारिका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आवागमनसमेत बढेको छ।

बैजापुरस्थित प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी, बिनौनास्थित धुमैया उद्यान र नवनिर्मित राप्ती पुल घुम्न जानेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष चौधरी बताउँछन्।

यसअघि सडक पहुँच सहज नहुँदा ओझेलमा परेका स्थानीय धार्मिक तथा पर्यटकीयस्थलमा अहिले आन्तरिक पर्यटक पुग्न थालेका छन्। यसले स्थानीयस्तरमा होटल, पसल तथा अन्य सेवामूलक व्यवसायको सम्भावना पनि बढाएको छ।

कोहलपुर हुँदै अगैया पुग्नेभन्दा छोटो मार्ग

नेपालगञ्ज–बघौडा हुलाकी सडकसँगै राप्ती सोनारी गाउँपालिका–६ को कुण्डादेखि नारायणपुर हुँदै अगैयामा पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक विस्तार भएपछि साना तथा ठूला सवारीसाधनको आवागमन बढेको छ।

नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्गको तुलनामा यो मार्ग छोटो पर्ने भएकाले सवारीसाधनले समेत हुलाकी सडक प्रयोग गर्न थालेका छन्।

स्थानीय अगुवा जमानसिंह वलीका अनुसार हुलाकी सडकसहितका पूर्वाधार निर्माणले राप्ती सोनारी क्षेत्रमा व्यावसायिक गतिविधि बढाएको छ। सडकले लामो समयदेखि विकासको पहुँचबाट टाढा रहेका बाँकेका बासिन्दालाई विकासको अनुभूति गराएको उनको भनाइ छ।

हुलाकी सडकले बाँकेको ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने काम मात्रै गरेको छैन, स्थानीयको दैनिक जीवन, व्यापार, पर्यटन र सामाजिक सम्बन्धमा समेत परिवर्तन ल्याउन थालेको छ। वर्षौंदेखि भौगोलिक विकटताका कारण पछाडि परेको राप्तीपारिको क्षेत्र सडक पहुँच विस्तारसँगै नयाँ आर्थिक सम्भावनातर्फ अघि बढिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशका विभिन्न भागबाट २१ जना किन परे पक्राउ ?

देशका विभिन्न भागबाट २१ जना किन परे पक्राउ ?

प्रहरीले देशका विभिन्न १० जिल्लाबाट लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ।
१८ वर्ष विदेश बसेर फर्किएका मीनबहादुर गाउँमै रमाउँदै, घ्यू बेचेर वार्षिक तीन लाख बचत

१८ वर्ष विदेश बसेर फर्किएका मीनबहादुर गाउँमै रमाउँदै, घ्यू बेचेर वार्षिक तीन लाख बचत

१८ वर्ष कतार र कुवेतमा बिताए। परिवारबाट टाढा रहेर पसिना बगाए। तर, विदेशको कमाइभन्दा आफ्नै गाउँमा परिवारसँगै बसेर केही गर्ने रहर बलियो भएपछि कास्कीका मीनबहादुर क्षेत्री स्वदेश फर्किए।
बघिनी र पाँच डमरु बचाउन राजकुमारले देहत्याग गरेको किंवदन्तीसँग जोडिएको नमोबुद्ध जात्रा सुरु हुँदै

बघिनी र पाँच डमरु बचाउन राजकुमारले देहत्याग गरेको किंवदन्तीसँग जोडिएको नमोबुद्ध जात्रा सुरु हुँदै

भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको जीवन बचाउन आफ्नो शरीर अर्पण गरेको बौद्ध किंवदन्तीसँग जोडिएको ऐतिहासिक नमोबुद्ध जात्रा सोमबारदेखि सुरु हुँदैछ।
डलर, युरो र पाउन्डको भाउ घट्यो, यस्तो छ आजको विदेशी विनिमयदर

डलर, युरो र पाउन्डको भाउ घट्यो, यस्तो छ आजको विदेशी विनिमयदर

एकै दिनमा अमेरिकी डलरको खरिददर ७२ पैसा घट्यो, युरोको ९९ पैसा र पाउन्डको ८८ पैसा गिरावट