नेभिगेशन
समाज

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताका मुख्य खेल मंसिर ८ गतेदेखि सुरु हुँदैछन् भने औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन कर्णाली प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभिन्न व्यवस्थापन समितिहरू तयारीमा जुटेका छन्। खेलाडी, प्रशिक्षक, अफिसियल, अतिथि तथा दर्शकको स्वागतका लागि वीरेन्द्रनगरका विभिन्न स्थानमा स्वागतद्वार निर्माण थालिएको छ भने बजार क्षेत्रमा प्रतियोगिताको प्रचारप्रसार भइरहेको छ।

Marvel
Extreme Energy

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालालाई प्रतियोगिताको मुख्य केन्द्र बनाएर तयारीका बैठक तथा व्यवस्थापनका काम भइरहेका छन्। प्रदेश सरकार प्रतियोगिता सफल बनाउन पूर्वाधार, आवास, सुरक्षा र अन्य व्यवस्थापकीय पक्षमा केन्द्रित छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही पनि प्रतियोगिताको तयारी तथा व्यवस्थापनसम्बन्धी विभिन्न बैठक र छलफलमा सहभागी हुँदै आएका छन्। उनले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार तयार भइसकेको र खेलस्थलहरू सामान्य मर्मतबाहेक प्रतियोगिता सञ्चालन गर्न तयार रहेको बताए।

‘पूर्वाधार सामान्य मर्मत गर्नेबाहेक सबै खेल स्थान प्रतियोगिताका लागि तयारी भइसकेका छन्, कतिपय खेल सामग्री आइसकेका छन्, कति आउने क्रममा छन्,’ मुख्यमन्त्री शाहीले भने।

प्रतियोगिता नजिकिएसँगै विदेशमा रहेका खेलाडी स्वदेश फर्कन थालेका छन्। कतिपय खेलाडी बन्द प्रशिक्षणमा जुटिसकेका छन्। घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिइने दसौँ राष्ट्रिय खेलकुदलाई कर्णालीले ‘महाकुम्भ’का रूपमा स्वागत गर्ने तयारी गरेको छ।

सात जिल्लामा प्रतियोगिता, सुर्खेतमा २३ खेल

दसौँ राष्ट्रिय खेलकुदमा सात जिल्लामा प्रतियोगिताका खेल सञ्चालन हुनेछन्। सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन्। लुम्बिनी प्रदेशका नेपालगन्ज र बर्दिया तथा कर्णाली प्रदेशका सल्यानमा दुई-दुई खेल सञ्चालन हुनेछन्। दैलेख, कालीकोट र पश्चिम रुकुममा एक-एक खेल आयोजना गरिनेछ।

प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट समावेश छन्। सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीले सहभागिता जनाउनेछन्।

प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन्।

१ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा

दसौँ राष्ट्रिय खेलकुदमा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य पदक वितरण गरिनेछ।

औपचारिक उद्घाटनअघि नै १० खेल सञ्चालन हुने प्रतियोगिता संयोजक मोनालिसा खम्बुले जानकारी दिइन्।

प्रतियोगितामा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक विजेताले २० हजार रुपैयाँ, रजत विजेताले १५ हजार र कास्य विजेताले आठ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। टोली स्पर्धामा स्वर्ण विजेताले १५ हजार, रजतले १० हजार र कास्य विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताका लागि २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक परिचालन हुनेछन्। त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल संघका ९६ प्रतिनिधि पनि प्रतियोगितामा खटिने राखेपले जनाएको छ।

सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन

प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। मुख्यमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा अधिकारीहरूको बैठकले सुरक्षा कमजोरी हुन नदिन सुरक्षाकर्मी परिचालन बढाउने र सीसीटीभीबाट निगरानी गर्ने निर्णय गरेको छ।

प्रतियोगिताको सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। प्रतियोगितास्थल, मुख्य चोक तथा नगरका विभिन्न क्षेत्रमा २०० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएका छन्।

खेलाडी, प्रशिक्षक, अतिथि तथा खेलप्रेमीलाई आवासको समस्या नहोस् भनेर होटलहरूमा पर्याप्त कोठाको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित बनाउन राष्ट्रिय खेलकुद परिषद्को टोली पनि सुर्खेतमा खटिएको छ। विभिन्न उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको दसौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुले जानकारी दिइन्।

चार खेल लुम्बिनी प्रदेशमा

दसौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन्। बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल आयोजना हुनेछन्।

नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ सञ्चालन हुनेछ। बर्दियाको ठाकुरबाबा नगरपालिका–भूरीगाउँस्थित कभर्ड हलमा खोखो र गुलरियास्थित कभर्ड हलमा टेनिस खेल हुनेछ।

ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापन भइसकेको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए।

पोखराबाट कर्णालीसम्म राष्ट्रिय खेलकुदको यात्रा

नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालमा काठमाडौंमा पहिलोपटक आयोजना भएको थियो। त्यसपछि २०४० सालमा पोखरा, २०४२ सालमा वीरगन्ज, २०५५ सालमा नेपालगन्ज, २०६५ सालमा काठमाडौं, २०६८ सालमा सुदूरपश्चिम, २०७३ सालमा पूर्वाञ्चल र २०७५/७६ मा लुम्बिनीमा आठौँ राष्ट्रिय खेलकुद आयोजना भएको थियो।

नवौँ राष्ट्रिय खेलकुद २०७९ कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो। त्यसपछि हुन लागेको दसौँ राष्ट्रिय खेलकुदले राष्ट्रिय प्रतियोगिताको आयोजनाको जिम्मेवारी कर्णालीमा ल्याएको छ।

दसौँ राष्ट्रिय खेलकुदको समापन मंसिर २७ गते सुर्खेतमा हुनेछ। प्रतियोगिताको मिति नजिकिएसँगै कर्णालीमा खेलकुदको उत्साह बढेको छ। खेलाडीको प्रतिस्पर्धा, दर्शकको सहभागिता र प्रदेशको आतिथ्यले कर्णालीलाई राष्ट्रिय खेलकुदको केन्द्र बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा हिजोको तुलनामा परिवर्तन भएको छैन ।
गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा पछिल्लो समय बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्। सडक पहुँच विस्तार, पदमार्गमा होटल तथा लजको सुविधा...
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...