नयाँ दिल्ली । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारतको राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सहायता घोषणा गरेका हुन्।
दुई देशबीच जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार भारतले १५ हजार करोड भारु अर्थात् नेपाली रुपैयाँ २ खर्ब ४० अर्ब बराबरको सहायता उपलब्ध गराउनेछ। यसमध्ये ३ हजार ५ सय करोड भारु (नेपाली रुपैयाँ ५६ अर्ब) अनुदान हुनेछ भने ११ हजार ५ सय करोड भारु (नेपाली रुपैयाँ १ खर्ब ८४ अर्ब) ऊर्जा क्षेत्रका आयोजनाका लागि भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ।
अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार आयोजना निर्माणमा खर्च गरिनेछ। ऊर्जा क्षेत्रका परियोजनामा ऋण परिचालन गरिने भए पनि कुन आयोजना छनोट गर्ने र सहायता उपलब्ध गराउने प्रक्रिया भने दुवै देशबीचको परामर्शबाट टुंगो लगाइनेछ।
प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा, व्यापार, पारवहन, रेलमार्ग, सडक तथा सीमापार पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, प्रविधि र जलस्रोतलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारी भएको छ।
भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाइने
नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। अहिले एकतर्फी रहेको बी३४५ हवाई रुटलाई दुवैतर्फ सञ्चालन गर्न सकिने बनाइने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
यसका लागि दुवै देशका प्राविधिक टोलीले आवश्यक प्रक्रिया र सञ्चालनको मोडालिटी टुंग्याउनेछन्। हवाई सम्पर्क विस्तार तथा द्विपक्षीय आर्थिक गतिविधि बढाउने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा पनि छलफल जारी राख्ने सहमति भएको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा अन्तर्राष्ट्रिय उडान विस्तारका लागि पश्चिमतर्फको हवाई प्रवेश मार्ग महत्त्वपूर्ण मानिँदै आएको छ। रुट दुईतर्फी बनेमा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि थप सहजता हुनेछ।
कन्डला बन्दरगाहबाट ट्रान्जिट व्यापार, पारादीपमा पूर्वाधार बनेपछि पहुँच
भारतले नेपाललाई गुजरातस्थित दीनदयाल बन्दरगाह (कन्डला) बाट तेस्रो मुलुकसँगको ट्रान्जिट व्यापारका लागि नयाँ सुविधा उपलब्ध गराउने भएको छ। त्यस्तै, आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहबाट पनि नेपालले पहुँच पाउनेछ।
यसअघि नेपालले भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको थियो। नयाँ सुविधाले नेपालको समुद्री व्यापारका लागि थप विकल्प उपलब्ध गराउनेछ।
कन्डला बन्दरगाहबाट ट्रान्जिट सुविधा उपलब्ध हुने निर्णय तत्काल कार्यान्वयनमा आउन सक्ने देखिए पनि पारादीप बन्दरगाहको पहुँच भने आवश्यक पूर्वाधार निर्माण भएपछि मात्रै उपलब्ध हुनेछ।
जनकपुर–अयोध्या रेल सेवा उद्घाटन
प्रधानमन्त्री शाह र मोदीले अयोध्या र जनकपुरधाम जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेका छन्। यो सेवाले भारतको अयोध्या र नेपालको जनकपुरधामबीच रेल सम्पर्क विस्तार गर्नेछ।
रेल सेवाबाट धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन हुनुका साथै रामायण सर्किटसँग जोडिएका क्षेत्रबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ। दुई देशबीचको सभ्यतागत तथा सांस्कृतिक सम्बन्ध थप बलियो बनाउन पनि यसले योगदान गर्ने विश्वास गरिएको छ।
दुवै प्रधानमन्त्रीले बौद्ध तथा शिवशक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न अन्य समान सम्पर्क विस्तारका सम्भावना खोज्ने सहमति गरेका छन्।
रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण टुंगियो
रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्ग निर्माणका लागि फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको दुवै देशले घोषणा गरेका छन्। यस रेलमार्गको विकासमा सहकार्य अघि बढाउने विषयलाई दुई देशले महत्त्व दिएका छन्।
त्यस्तै, नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि भारतले सहकार्य गर्ने भएको छ। यसले नेपालको आन्तरिक रेल सञ्जाल विस्तार तथा सीमापार रेल सम्पर्कलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
बनबासा नयाँ आईसीपीको शिलान्यास, भैरहवा र सुनौलीमा निर्माण जारी
भारत र नेपालबीच सीमापार व्यापार तथा आवागमन सहज बनाउन बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको संयुक्त रूपमा शिलान्यास गरिएको छ।
भैरहवा, सुनौली र दोधारा–चाँदनीमा आईसीपी निर्माणको प्रगतिलाई पनि दुवै प्रधानमन्त्रीले स्वागत गरेका छन्। भारत र नेपालबीच यसअघि तीनवटा आईसीपी सञ्चालनमा छन्।
सीमामा व्यापारिक सामानको जाँच, भन्सार प्रक्रिया, यात्रु आवागमन तथा सुरक्षा व्यवस्थापनलाई व्यवस्थित बनाउन आईसीपी निर्माण महत्त्वपूर्ण मानिन्छ।
धार्चुला–दार्चुला मोटरेबल पुल उद्घाटन
भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार मोटरेबल पुल उद्घाटन गरिएको छ। दुई प्रधानमन्त्रीले संयुक्त रूपमा पुल उद्घाटन गरेका हुन्।
पुल सञ्चालनमा आएपछि पश्चिम नेपालको भारतसँगको प्रत्यक्ष सडक सम्पर्क थप सहज हुनेछ। सीमावर्ती क्षेत्रका स्थानीयको आवागमन, व्यापार तथा अन्य आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीमा स्तम्भ मर्मतमा प्रगति, बाँकी विवाद टुंग्याउन निर्देशन
नेपाल र भारतबीच सीमा स्तम्भको मर्मत तथा व्यवस्थापनका लागि संयुक्त रूपमा भइरहेको फिल्ड कार्यको प्रगतिलाई दुवै प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएका छन्।
बाँकी सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई काम अघि बढाउन निर्देशन दिइएको छ। सीमा विवादलाई कूटनीतिक संयन्त्रमार्फत समाधान गर्ने प्रक्रियालाई अघि बढाउने समझदारी भएको छ।
पेट्रोलियम पाइपलाइन विस्तार, झापामा टर्मिनल निर्माण
नेपाल–भारत सीमापार पेट्रोलियम पूर्वाधार विस्तारअन्तर्गत मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाली जनताका लागि समर्पण गरिएको छ।
दुवै प्रधानमन्त्रीले नेपालमा झापास्थित पेट्रोलियम टर्मिनल निर्माणको भर्चुअल शिलान्यास गरेका छन्। त्यस्तै, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्य छिट्टै सुरु गर्नुपर्नेमा जोड दिएका छन्।
भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावना खोज्ने सहमति पनि भएको छ।
तल्लो अरुणको शिलान्यास, पञ्चेश्वरको डीपीआर टुंग्याउन निर्देशन
ऊर्जा क्षेत्रमा भइरहेको द्विपक्षीय प्रगतिप्रति दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन्। भारत–नेपाल ऊर्जा सहकार्यको साझा दृष्टिपत्र तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुसार जलविद्युत् क्षेत्रमा सहकार्य अघि बढाउने सहमति भएको छ।
भारतीय कम्पनीले नेपालमा निर्माण गरिरहेका जलविद्युत् आयोजनाको काम छिटो सम्पन्न गर्न दुवै पक्षले जोड दिएका छन्। यसै अवसरमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ।
त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो टुंग्याएर कार्यान्वयन अघि बढाउन पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई निर्देशन दिइएको छ।
सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने कामलाई पनि तीव्रता दिने सहमति भएको छ। जलस्रोतको पारस्परिक लाभका लागि उपयोग तथा बाढीको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले यी आयोजनालाई अघि बढाउन दुवै देशले जोड दिएका छन्।
दुई सीमापार प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनमा प्रगति
नेपाल र भारतबीच उच्च क्षमताका दुई सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने प्रक्रियामा प्रगति भएको छ।
इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी कम्पनी गठनसम्बन्धी काम अघि बढेको दुवै देशले उल्लेख गरेका छन्।
यी प्रसारण लाइन निर्माण भएपछि नेपालबाट भारततर्फ विद्युत् निर्यात तथा आवश्यकताअनुसार विद्युत् आयातको क्षमता थप विस्तार हुनेछ।
नेपालमा अफसोर आईआईटी स्थापना गर्ने
भारतले नेपालमा अफसोर आईआईटी क्याम्पस स्थापना गर्ने भएको छ। यसलाई नेपालको शिक्षा क्षेत्रको क्षमता विस्तार, प्राविधिक जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा सहयोग पुर्याउने पहलका रूपमा लिइएको छ।
दुवै प्रधानमन्त्रीले स्टार्टअप, डिजिटल सेवा, प्रविधि तथा वित्तीय सम्पर्क विस्तारका क्षेत्रमा नेपाल–भारत सहकार्य बढ्दै गएकोमा स्वागत गरेका छन्।
त्यस्तै, एक देशका नागरिक अर्को देशमा बस्दा बैंकिङ तथा दूरसञ्चारलगायत सेवा सहज रूपमा प्राप्त गर्न दुवै पक्षले सहजीकरण गर्ने आवश्यकता स्वीकार गरेका छन्।
चितवनमा कृषि औद्योगिक पार्क स्थापना
भारतको अनुदान सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गरिने भएको छ। दुई प्रधानमन्त्रीले यस घोषणालाई स्वागत गरेका छन्।
कृषि उत्पादनको प्रशोधन, औद्योगिक विकास, रोजगारी सिर्जना तथा कृषि क्षेत्रको मूल्य शृंखला विस्तारमा पार्कले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, नेपालमा भारतको सहयोगमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको प्रगतिलाई पनि दुवै प्रधानमन्त्रीले स्वागत गरेका छन्। उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत सञ्चालन भइरहेका आयोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरिएको छ।
आठ समझदारीपत्र आदानप्रदान
भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्। ती समझदारी शिक्षा, अनुसन्धान, सुरक्षा, प्रशासनिक क्षमता विकास, स्वास्थ्य, आयुर्वेद, अन्तरिक्ष प्रविधि, सहरी विकास तथा कृषि र पशुपालनसँग सम्बन्धित छन्।
समझदारीपत्रका क्षेत्रहरू :
१. भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य।
२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य।
३. भारतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता विकास तथा तालिम कार्यक्रम।
४. आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीमा सहकार्य।
५. भारतको अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) र नेपालको सञ्चार तथा सूचना मन्त्रालयबीच दक्षिण एसिया उपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी।
६. दिगो सहरी विकास क्षेत्रमा प्राविधिक सहकार्य।
७. स्वास्थ्य तथा औषधि क्षेत्रमा सहकार्य।
८. पशुपालन तथा मत्स्य विकास क्षेत्रमा सहकार्य।
यी समझदारीले नेपाल र भारतबीच सरकारी संस्थाहरूको क्षमता विकास, प्रविधि हस्तान्तरण, अनुसन्धान तथा सेवा प्रवाहमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
‘विकसित भारत र समुन्नत नेपाल’ साझा दृष्टिपत्र
दुवै प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ नामक साझा दृष्टिपत्र अपनाएका छन्। यसले नेपाल र भारतबीच भविष्यमा हुने साझेदारीको मार्गचित्र प्रस्तुत गर्नेछ।
दृष्टिपत्रमा आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत, जनस्तरको सम्बन्धजस्ता परम्परागत सहकार्यलाई विस्तार गर्ने तथा जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनजस्ता नयाँ क्षेत्रमा सहकार्य बढाउने विषय समेटिएको छ।
नेपालमा रसुवा–भोटेकोशी बाढीपछि भारतले दिएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गरेका छन्। मोदीले नेपालको विकास यात्रामा भारतले नजिकको मित्र तथा छिमेकीका रूपमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरेका छन्। उनको भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।
दुई देशबीच गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान, जनस्तरको सम्बन्ध तथा आर्थिक र विकास साझेदारी रहेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।