नेभिगेशन
सबै कुरा

‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’

अर्घाखाँची । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन् । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उनलाई ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विदेश जाने भनेर घरबाट निस्किएका उनी विदेश पुग्न त पाएनन्, झण्डै यस संसारबाटै सदाको लागि बिदा हुनुपरेको थियो । विदेशमा गएर धन कमाएर परिवारलाई सुखसँग पाल्ने उनको सपना त पूरा भएन नै । विदेश जान हिँडेकै कारण स्वदेशमै बसेर गरिखाने खुट्टा पनि गुमाउनुप¥यो । भाग्यले बाँचेका ऋषि अहिले आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा छन् । दुईवटा वैशाखीको भरमा उनको जिन्दगी चलिरहेको छ ।

Extreme Energy
citizen life

विदेश जानका लागि उनी काठमाडौँ पुगिसकेका थिए । २०७२ वैशाख १४ गते उनको उडान थियो । हवाई टिकट र मेडिकल रिपोर्ट पनि आइसकेको थियो । दिउँसो नयाँबानेश्वरमा साथी भेट्ने योजना बनिसकेकाले बिहान होटलमा खाना खाएर बाहिर निस्कनै लाग्दा सिङ्गो घरै घुम्न थाल्यो । रिङ्गटा लागेर भाउन्न भएजस्तो भयो । खै के भएको हो कुरा नबुझ्दै उनी बसेको गोङ्गबु नयाँबसर्पाकस्थित सयपत्री होटलको भवन गर्ल्याम्मै ढल्यो ।

अलिपछि थाहा पाउँदा ऋषि खनाललाई कुनै अँध्यारो गुफाभित्र बसेजस्तो भयो । अनि देब्रे खुट्टा शरीरबाट छुट्टिएजस्तो लाग्यो । अँध्यारोमा छामछाम छुमछुम गर्दा छेवैमा कोही भेटिएजस्तो लाग्यो, तर बोली कसैको आएन । आफू बसेको होटल लडेको र आफू त्यसमै च्यापिएको उनलाई थाहा भयो । उनी सम्झन्छन्, “सक्दो चिच्याए । तर अहँ कसैले सुनेन ।” अवस्था सुन्ने खालको पनि त थिएन ।

वैशाख १२ गतेको भूकम्पमा गोङ्गबु क्षेत्रमा धेरै घर भत्किएका थिए । अवस्था कस्तो थियो भने उहाँ होसमा आएको केही घण्टामा मोबाइल बज्यो तर मोबाइल झिक्न हात गोजीसम्म पु¥याउन सक्ने अवस्था नै थिएन । भोक प्यासको कुनै सीमा नै थिएन । बाँच्नका लागि हरसम्भव उपाय गर्दा पनि कुनै विकल्प थिएन । मर्नुभन्दा बौलाउनु निको भनेझैँ उनले कतिपटक त आफ्नै पिसाब पिएर पनि प्यास मेट्नुप¥यो ।

जतिबेला होसमा आएको थियो, त्यसपछि बाहिर निस्कन अनेक कोसिस गर्दा सम्भव थिएन । विस्तारै केही आवाज आएजस्तो सुनिन्थ्यो । अब त बाँचिन्छ कि भन्ने आश पलाउँथ्यो, उनी गुहार माग्दै चिच्याउँथे तर बाहिर कसैले सुन्न सक्ने अवस्था थिएन । पछि थाहा भयो, त्यो आवाज घर भत्काउन आएको डोजरको थियो । डोजरको आवाज सुन्दा पनि उनलाई भगवान् आएजस्तो लाग्थ्यो ।

दिनरात कुनै याद भएन । उनको अनुमानमा दुई दिनपछि केही शव गन्हाउन थालेका थिए । तर विस्तारै नाकले गन्ध पनि खुट्याउन छोडेको थियो । बेलाबेलामा त दिमागले पनि काम नगरेजस्तो भयो । पुरिएका बेला सबैभन्दा धेरै याद आमा र छोराको आएको उनी बताउँछन्। पुरिएको तीन दिनसम्म पनि आफ्नो उद्धार गर्न आउने मानिसको चाल नपाएपछि उनलाई बाँच्ने आश मरिसकेको थियो । उनलाई अब कोही उद्धार गर्न आउँछन् भन्ने पनि लाग्न छाडेको थियो ।

बेला–बेलामा आउने आवाजको पनि विश्वास लाग्न छाड्यो । शरीर पूरै सेतो भइसक्यो, छाम्दा पनि छाला नै आउँलाजस्तो लाग्थ्यो । “मानिस एकदिन मर्छ भन्ने सबैलाई थाहा छ । तर अब म मर्दैछु भन्ने अनुभूति हुँदा पनि केही गर्न नसक्दाको पीडा निकै कष्टदायी हुने रहेछ”, उनी भनछन् ।

तीन दिनपछि अचानक कतैबाट उज्यालोका किरण उनको आङसम्म परे । कस्तो अचम्म । अब मर्दैछु भनेर आशै मारिसकेको जीवनले नयाँ किरण देख्न पाउँलाजस्तो भयो । उनी सम्झन्छन्, “म बोल्न सक्ने अवस्थामा थिइन । विस्तारै जीवनका किरण छिराएको त्यो प्वाल अलि ठूलो भयो । कोही बोल्यो, ‘ए ए यहाँ त कोही जिउँदै भेटिएला जस्तो छ । लाइट ल्याउ, लाइट ल्याउ, अक्सिजन ल्याउ’ आदि–आदि ।”

अलिबेरमा उनलाई एउटा पाइपबाट अक्सिजन आयो । अक्सिजन आउन थालेपछि खाना खाएजस्तो लागेको उनी सम्झन्छन् । सशस्त्र प्रहरी र नेपाली सेनाले बनाएका प्वाल केहीबेरमा ठूलो भयो । कसैले उनको मुखसम्म पानी पु¥यायो । झण्डै ८२ घण्टासम्म घरभित्र च्यापिएर बसेको मानिस जसले केहीपल्ट आफ्नै पिसाब पियो उसको मुखमा पानी पर्दा कस्तो अनुभव हुँदो हो रु यसको केवल अनुमान मात्र गर्न सकिन्छ ।

वैशाख १२ गते पुरिएका ऋषिको १६ गते उद्धार भएको थियो । ऋषिलाई बाहिरी दुनियाँमा आउँदा संसार जितेजस्तो लाग्यो । उनीसँग बाँच्नको लागि पुग्दो आत्मबल थियो । उनी भन्छन्, “खुट्टा नथिचिएको भए दाँतले कोट्याएर भए पनि म बाहिर निस्कन्थे होला ।” ऋषिले राति १२ बजे घरमा फोन गरे । आमाको बोली सुन्दा आवाजै निस्केन । श्रीमतीसँगको फोन वार्तामा पनि मात्र सुकसुक निस्कियो ।

गोङ्गबुमा रहेको भूकम्पले भत्किएको साततले गेष्ट हाउसले च्यापिएका जीवितै उद्धार भएको विभिन्न सञ्चारमाध्यममा समाचार पनि बन्यो । सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरेको थियो । अहिले उनलाई पुर्नजीवन पाएकामा खुसीको कुनै सीमा त छैन नै तर त्यसले मात्रै छाक टर्ने रहनेछ । अहिले बाँचनका लागि पनि उत्तिकै सङ्घर्ष गरिरहनुपरेको छ । अहिले आफूलाई दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्ताले पिरोलिरहेको उनको भनाइ छ । कहिलेकाहीँ त उनलाई लाग्छ, ‘बरु उति नै बेला मरेको भए आजसम्म घरकाले पनि बिर्सन्थे होलान् ।’

उपचारका लागि उहाँ पटक–पटक काठमाडौँ जानुपरेको थियो । उनको उपचारको क्रममा एउटा खुट्टा काटिएको छ । त्यतिबेला उपचार खर्च त सरकारले व्यहोरेको थियो तर काठमाडौँ आउजाउ, औषधि खर्च गर्दा पाँच लाखभन्दा बढी खर्च लागेको छ । विगत भुल्ने प्रयास गरे पनि ऋषिलाई भविष्यकै चिन्ता छ । उनलाई कुनै सीप सिकेर जीविकोपार्जन गर्न पाए हुन्थ्यो भन्ने लाग्दछ । काठमाडौँमा विभिन्न सङ्घसंस्थाले निःशुल्क सीपमूलक तालिम दिने बताएका थिए तर ती संस्थाले सम्पर्क नै गरेनन्, कसैको आश गर्नुभन्दा स्वावलम्बी भएर बाँच्ने इच्छा छ ऋषिको ।

काठमाडौँमा भाडा तिरेर बस्ने र बिहान बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर आफूजस्तै साथीहरुले सीपमूलक तालिम लिन नसकेको उनले बताए । “खानेबस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर अङ्गभङ्ग भएकाहरुले सीप सिकेर केही काम गरेर खान सक्ने थियौँ”, उनी भन्छन् । सरकारले अपाङ्गहरुलाई केही गरेर भए पनि ढुक्कसँग जीवन जिउने वातावरण मिलाइदिनुपर्ने उनको माग छ ।

उनलाई कतैबाट सहयोग त आएन नै, सामान्य प्रक्रियाबाट पाइने अपाङ्ग परिचयपत्रसमेत उनले अहिलेसम्म पाएको छैन । “अपाङ्ग परिचयपत्र पनि पाउन नसक्ने हामी कति अभागी । ‘क’ वर्गको परिचयपत्र भए चार हजार मासिक त आउने थियो त्यही पनि छैन । कसले हेर्छ र हामीलाई रु सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्छ भनेर भन्छ, खै त हामीलाई सहयोग गरेको रु” आँखाभरि आँसु पार्दै उनले भने ।

उनका दुई छोरा गाउँको बाल शिक्षा माध्यमिक विद्यालयमा पढ्छन् । जेठो छोरा कक्षा ४ मा र सानो छोरा बाल शिक्षा पढ्दैछन् । “मेरो बारेमा प्रचार सामग्री बनाएर धेरैले लाखौँ आम्दानी गरेका छन्”, आफ्नो दुःखकष्ट बेचेर धेरै जना लखपति भए पनि आफूलाई कसैले पनि सहयोग नगरेको ऋषिको गुनासो छ । उनले भने, “भेटेको बेला सबैले सहयोग गर्छौं भन्छन् तर कसैले गर्दैनन् । गाउँमा बसेको छु विदेश पनि जान सकिन । गोरखा भूकम्पले मेरो जीवन अधकल्चो पा¥यो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्वोच्च कै कर्मचारीले पालना गरेनन् नियम

सर्वोच्च कै कर्मचारीले पालना गरेनन् नियम

त्यस दिन बिहान गरिएको छड्के अनुगमनमा बिहान ९ः०० बजेपछि कार्यालय प्रवेश गर्ने कर्मचारीको सङ्ख्या ८२ जना रहेको तथा तोकिएको पोसाक नलगाउने २२ जना (जिन्स, टिसर्टसमेत लगाएका) पाइएको छ...
सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई सोही आवदेखि निर्माण सुरु भएको आयोजनाको हालसम्म ४६ प्रतिशत काम भएको हो ।
गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र...
सिभिल अस्पतालमा कर्मचारीले बेड नपाउने समस्या अन्त्य गर्न सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निर्देशन

सिभिल अस्पतालमा कर्मचारीले बेड नपाउने समस्या अन्त्य गर्न सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निर्देशन

मन्त्री रावलले अस्पतालको सेवा सुधारको लागि विगतमा गरिएका अध्ययन प्रतिवेदन संकलन गरी एक महिनाभित्र, छ महिनाभित्र र एक वर्षभित्र कार्यान्वयन हुने गरी तीन चरणमा विभाजन गरेर सुधार योजना...