नेभिगेशन
सबै कुरा

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

काठमाडौँ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“पर्दा बेग्लै झ्याल उही

Ncell
Extreme Energy

खोपडी बेग्लै ख्याल उही

जिब्रो बेग्लै र्‍याल उही

छाला बेग्लै स्याल उही

सत्र साल भाग दुई !” 

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त  कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उनकाे यात्रा अविरल बगिरहेको छ । 

खराब प्रवृत्तिलाई आफ्ना शब्दका माध्यमबाट ताकेर प्रहार गर्ने उहाँका कलमले भ्रष्टाचार, कुशासन, विकृति र विसङ्गतिका पहाडहरुलाई हल्लाइरहेको हुन्छ । जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सङ्कल्प बोकेर चुनावमा होमिएका र जितेर शासन सत्तामा पुगेकाहरुले बाचाअनुसार काम नगरेको वा गर्न नचाहेको देखेर होला कवि पराजुलीका कलम नरोेकिएका हुन् । उस्तै परे दिनमा दुई/तीन वटासम्म व्यग्ङ्य कविताका हस्तलिखित तस्बिर उहाँले सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आउनुभएको छ ।  ती रचनाहरुमाथि क्रिया–प्रतिक्रिया र चर्चाको क्रम चलिरहेको हुन्छ । 

समालोचक प्रा डा रामप्रसाद ज्ञवालीले ‘जनमत’ साहित्यिक मासिक पत्रिकामा २०६३ असोजमा लेखेका छन्, “कवि अर्जुन पराजुली जीवन भोगाइले घनीभूत भएर, अनुभूतिले परिपक्व भएर बनेका स्रष्टा हुन् । कुनै वाद वा सिद्धान्त पढेर, त्यसबाट प्रभावित भएर वा त्यसप्रतिको प्रतिबद्धता र अभिप्रेरणाले नभई आफ्नै जीवन सङ्घर्षको सम्प्रेषणले बनेका कविका रूपमा उनलाई लिनुपर्छ ।

आर्थिक रूपमा विपन्न परिवारमा जन्मेका अर्जुन पराजुली अन्धविश्वास, अज्ञानता र कुरीतिहरूको आदर्श बोकेको पछौटे समाजमा जन्मी, कुटो कोदालो, घाँस, वन जङ्गल, दाउरा, मेलापातको ग्रामीण परिवेशमा, धार्मिक आडम्बर बोकेको आध्यात्मिक परिवेशमा, दुई छाक खानका निम्ति कल्पिनुपर्ने अवस्थामा बाल्यकाल बिताएर हुर्केका व्यक्ति हुन् । यिनै दुःख, दर्द, अभाव, अपमान र जीवन पीडाले उनलाई सानैदेखि भावुक, दयालु र मानवीय बनाएका हुन् ।” सार्वजनिक मञ्च, भाषण, सम्मान वा लोकप्रिय हुने नाममा दिइने अन्तर्वार्ताहरुबाट टाढा रहन रुचाउने काभ्रेपलाञ्चोकको ज्याम्दीमा जन्मिएका कवि पराजुलीले मुलुककको वर्तमान परिस्थित र जनाकाङ्क्षाबारे खुलेर कुरा गरेका छन् । 

मुलुकले १७ औँ गणतन्त्र दिवस मनाएरहँदा मध्यवानेश्वरस्थित पाठशाला स्कुलको परिसरमा फूर्तिलोरुपमा संवाद गर्दै कवि पराजुलीले गणतन्त्र आउनु ठूलो परिवर्तन भए पनि त्यस अनुसार काम हुन नसकेकामा राजनीतिक दल र नेताहरुप्रति तीव्र असन्तुष्टि व्यक्त छाडेनन् । जनताका हितका पक्षमा काम नभएकाले जिम्मेवारी लिनेहरुले गर्न नसकेको भन्दै उहाँ जवाफ दिने क्रममा आक्रामक देखिए । 

कविता वाचन गर्दा औँला ठड्याएर ठूलो ठूलो स्वर निकाले झैँ अन्तर्वार्ताका क्रममा पनि उहाँ उस्तै भावमा प्रस्तुत भए । उनकाे यो आफ्नै शैली पनि हो । उमेरले साठी पुगे पनि जोश, जाँगर र चेतनाले युवा देखिने पराजुलीले गणतन्त्र आउनुलाई सुकुम्बासीले जग्गा पाएको अवस्थासँग तुलना गर्दै घर बनाउन भने अझै बाँकी रहेको टिप्पणी गर्दै भने, “हामी हिजो सुकुम्बासी थियौँ । आन्दोलन गरेर घडेरी जोड्यौँ । टेक्ने जमिन पाइयो तर घर बनाउन सकिएन । घर बनाउने जिम्मा लिएकाहरुले बनाउन सकेनन् वा बनाउन चाहेनन् । हामी अझै घरबारविहीन छौँ ।”

कुनै बेला सरकारी कर्मचारी रहेका पराजुलीले आफूभन्दा नराम्रा मान्छेको मुन्तिर बसेर काम गर्न नसकिने ठानेर र कर्मचारीतन्त्रभित्रका विकृतिबाट वाक्क भएर जागिरे जीवन छा८े । २०४६ सालको जनआन्दोलनमा पूर्णरुपमा नागरिक अभियान र साहित्यसँग जोडिनुभएका उहाँको अनुभवमा ‘धेरै पटक प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेकाहरुले मुलुक बनाउने जिम्मा अब युवा पुस्तालाई सुम्निुपर्छ । युवा पुस्ता र साँच्चीकै काम गर्ने इमान्दार निःस्वार्थी र सक्षमलाई नेतृत्व सुम्पनुपर्छ ।’ 

लामालामा दाह्री र पातलो अनि अग्लो शरीरको पहिचान बोेकेका पराजुलीले छोटाछोटा, प्रश्नात्मक र बिम्बात्मक उत्तर दिने गर्छन । सिस्नुपानी नेपालका संस्थापकसमेत रहेका उनले थपे, “हाम्रो गाई बाँझो रहेको हामीले पत्ता लगाइसकेका छौँ, यो अब ब्याउन सक्दैन । फेरि यसलाई कति पटक गोरु लगाउने ? यहाँ त ब्याउनसक्ने गाईहरुलाई थुनेर राखिएको छ, उनीहरुलाई छाडिदिनुपर्छ ।”

“जो खेती गर्दैन ऊ किसानको नेता !

जो मजदूरी गर्दैन

ऊ मजदूरको नेता !

जो पढाउँदैन

ऊ प्राध्यापकको नेता !

जो पढ्दैन

ऊ विद्यार्थीको नेता !

जो सबैभन्दा बुढो छ

ऊ युवाको नेता !”

“यो मेरो आक्रोस होइन, समाजको यथार्थ हो । मलाई त केही पद वा लाभ चाहिएको छैन । म कसैलाई केही भनसुन गर्न पनि जान्न । मैले तर आवाजविहीन जनताको आवाज मात्रै बोकेको हुँ । उनीहरुको दिमागमा चेतना भर्न मात्रै कलम चलाउने गरेको हुँ ।” पराजुली भन्छन् । 

तपाईंका कतिपय कवितामा अलि बढी नै पूर्वाग्रह पाइन्छ नि ? भन्ने प्रश्नमा सजिलै उत्तर दिए, “एउटा भित्तोमा टाँसिएर हेर्दा पूर्वाग्रह लाग्न सक्छ । तर पूर्वाग्रह घुमिरहन्छ । कुनै कुरामा पूर्वाग्रह देख्नेले उसले विपक्ष देखेकालाई प्रहार गर्दा ठीक मान्न सक्छ । मैले त जो बदमासीको शिरमा छ उसलाई हान्ने हो । अर्को कुरा पनि के हो भने अरु बेला विवाद र तमासा गरे पनि देशलाई लुट्न पल्किएकाहरु खाने र लुट्ने विषयमा एक हुन्छन् । त्यस्ता स्वार्थीहरुलाई म छाड्दिन । गरिब जनताका लागि मेरा कविताहरु औषधि बन्न सकुन् भन्ने ठान्छु । त्यसैले मलाई वा मेरा रचनालाई टाढाबाट हेरेर बुझ्न सकिँदैन । नजिकै आएर छाम्नुपर्छ ।”

देशका नेताहरुले ‘सरकारमा तँ किन गएको, म जानुपथ्र्यो, मलाई छोड’ भन्ने कुरामा हानथाप गरेर जनताका लागि काम नगरे पनि देश बिगार्ने काम नगरिदिए हुन्थ्यो भन्ने सोचका कवि पराजुली राजनीतिक दल र नेताहरु सच्चिएर जनताका पक्षमा काम गर्नुको विकल्प देख्दैनन् । समाजको विकासमा अरुको पनि भूमिका हुन्छ तर राज्यले नै नेतृत्व लिनुपर्ने भएकाले अरुले गरेर पार नलाग्ने अनि सरकार इमान्दार भएमा जनताले साथ दिने उनकाे भनाइ छ । बागमती सुधार अभियानका क्रममा वर्षौ काम भए पनि नदी शुद्ध नभएको उदाहरण दिँदै उनले मुहान नै शुद्ध हुनुपर्ने तर्क प्रस्तुत गरे । 

राजनीतिक दलका नेतृत्वकर्ताले सँधै आफूले नेतृत्व लिने र जनताका काम नगर्ने हो भने देश र गणतन्त्रको हालत झन् खराब हुने चिन्ताले पराजुलीको टाउने दुखिरहन्छ । उनलाई माइग्रेन्टको समस्या पनि छ । “दलहरुभित्रका युवा र इमानदारहरु ढुङ्गाले थिचेको पहँलो दूबो भएर रहेका छन् । ढुङ्गा हटाइदिने हो भने दूबोले हरियो भएर निस्कन पाउँथे ।” चित्त नबुझे साहित्य र पत्रकारिता क्षेत्रमाथि पनि प्रहार गर्न पछि नपर्ने स्रष्टा पराजुलीले भने, “हिजो आन्दोलनमा नेतृत्व गरेको थिएँ भन्दैमा त्यसलाई उपदानका रुपमा खान पाउनुपर्छ भन्ने सोच्नु हुँदैन । युवाहरु देशमा दाल, भात खान नपाएर विदेशमा काम गर्न लाइन लागेर गइरहेका छन् । जनता भोकै बसेर हिजोका त्यागीका पूजा मात्रै गरेर बस्न सक्दैनन् । सानो उपलब्धि भए पनि खुसी हुने जनतालाई आधारभूत आवश्यकता पूरा गर्न हाम्रा नेताहरु सक्षम हुनुपर्छ ।”

स्वतन्त्र र सार्वभौम नेपाललाई विकसित हुन नदिने कुनै विदेशी तत्व भए पनि त्यसलाई नेताहरुले जनताको साथ लिएर चिरेर अघि बढ्न आग्रह गर्ने कवि पराजुली गणतन्त्रको लटरम्म फल लाग्ने बेला बालीमा असिना परेर सबै बाली नष्ट भए जस्तो आउन नहुनेमा सचेत छन् । अन्त्यमा उनले जनतामा चेतनाका शक्ति कायम रहनुपर्ने आह्वानसहित सटिक जवाफ दिए, “हामीले हाम्रो टाउको लाई टाउको रहन दिनुपर्यो । दिमागलाई विकृतिको कन्टेनर बनाउनु भएन । जसले जे भने पनि पत्याउनु भएन । सत्य र गलत पहिचान गरेर देश बचाउन लाग्नुपर्यो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

सभापति गगनकुमार थापाले हिजो र आज गरी इतरपक्षका दुई नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको विवाद समाधानबारे छलफल गरेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो...
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम...