नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

६० किलो सुन प्रकरणमा एक सातादेखि प्रतिवादीकाे बहस जारी, डा भिमार्जुन सहित वरिष्ठ अधिवक्ताहरू सुन तस्करको प्रतिरक्षामा

१५ असोज, काठमाडौँ । ६० किलो सुन प्रकरणका अभियुक्तहरूको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा एक साता देखि जारी छ । जिल्ला न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा सरकारी वकिलको बहस सकिएपछि गत बुधबारबाट प्रतिवादीतर्फको तर्फबाट बहस सुरु भएको थियो ।

वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका ५ जना अधिवक्ताहरूले बहस गरेका थिए ।

Dish Home
Global Ime Bank

काठमाडौँ जिल्ला अदालतका अनुसार सोमबार सम्म १४ जना प्रतिवादीका तर्फबाट २५ जनाले बहस गरेका छन् । सोमबार प्रतिवादी यादव पराजुलीका तर्फबाट अधिवक्ता डा भिमार्जुन आचार्य सहित अधिवक्ताहरू गोकुल भण्डारी र विक्रम भण्डारीले बहस गरेका थिए ।

त्यस अघि प्रतिवादी सुदर्शन गौतमका तर्फबाट अधिवक्ता यादव प्रसाद ढुंगाना र ज्ञानेन्द्र प्रसाद अधिकारीले बहस गरेका थिए । यस्तै बेल्जियम नागरिक दावा छिरिङका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामनारायण श्रेष्ठ र अधिवक्ता कुमुद प्रसाद भट्टराईले बहस गरेका छन् । यस्तै एलेक्स भनिने याहो पुचेङ सहितका चिनियाँका प्रतिरक्षामा वरिष्ठ अधिवक्ता चक्र विक्रम शाह, अधिवक्ता शिवकुमार श्रेष्ठ, कुशुम कँडेलले बहस गरेका छन् । 

यस्तै टासी भनिने थुप्तेन छिरिङका तर्फबाट वरिष्ठ अधिवक्ता केदार कार्की र बम बहादुर कटुवालले बहस गरेका छन् । भने सुमन खरेलका तर्फबाट सुनिता रावतले बहस गरेका छन् ।

हर्कराज राईका तर्फबाट वरिष्ठ अधिवक्ता केदार कार्की सहित बोम कटुवाल, सुसिल अधिकारी र कृष्णप्रसाद दाहाल बहस गरेका छन् । २९ जना प्रतिवादी मध्ये ३ जना फरार छन् । थुनामा रहेका प्रतिवादीतर्फको बहस सकिन अझै केही दिन लाग्ने देखिएको छ । भदौ ३१ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ अदालतमा मुद्दा दर्ता गराएको थियो ।

कार्यालयले २९ जनालाई प्रतिवादी बनाई अभियोजन दर्ता गरेको थियो । कार्यालयले ३०४ पृष्ठ लामो विस्तृत अभियोगपत्र दर्ता गरेको हो । कार्यालयले याओ पुचेङ, दावा छिरिङ, थुप्टिङ छिरिङ, हर्कराज राई, कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पारजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सरार्फ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठ, रुक्मिना सुब्बा, भोला साह सोनार, जीवन चलाउने र अमला रोकालाई प्रतिवादी बनाई अभियोग दर्ता गरेको हो ।

जसमध्ये भोला साह सोनार, जीवन चलाउने र अमला रोका फरार छन् । उनीहरुलाई अवैध रुपमा सुन भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक अन्तर्गतको कसूर तथा संगठित अपराधमा कारबाही गर्न माग गरिएको छ । 

कार्यालयले प्रतिवादीहरुबाट ३ अर्ब ५० करोड ३० लाख बिगो दावी गरेको छ । सुन प्रकरणमा ३२ जना पक्राउ परेका थिए । तर ३ फरार सहित सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध मात्र अभियोग दर्ता गरेपछि ६ जना भने आजै छुट्ने भएका छन् ।

 नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुन पैठारी तथा संगठित अपराधमा अनुसन्धान गरी भदौ २७ गते बुधबार राय सहितको प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज अभियोजन दर्ता गरेको हो । गत साउन २ गते सिनामंगलबाट ब्रेक शुमा लुकाएर ल्याइएको सुन बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट बरामद गरेको थियो ।

 १५५ किलो सेट बे्रक शु भित्र रहेको सुन पगाल्दा सुनको परिमाण ६० किलो ७१६ ग्राम भएको थियो । राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान प्रधानमन्त्रीको आदेशमा साउन २१ गते सीआईबीको जिम्मा लगाइएको थियो । 

यो प्रकरणमा सीआईबीले ३२ जनालाई पक्राउ परेका थिए । जसमा २३ नेपाली र ९ विदेशी छन् । पक्राउ परेका नेपालीहरूमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक र कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना, कम्पनी खडा गरी माल वस्तु व्यवस्थापन गर्ने २ जना र सुनको कारोबारमा संलग्न ११ जना छन् । जसमध्ये २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

उनीहरूलाई भन्सार ऐन, संगठित निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता ऐन, नेपाली नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐन अनुसार कारवाही गर्न राय पेश गरेको थियो ।

 यो समूहले ७ ओटा कम्पनी दर्ता गरेर कारोबार गरेको देखिएपनि समय अभावका कारण एउटा मात्र कम्पनी रेडी ट्रेडले गरेको कारोबार सम्बन्धमा मात्र अनुसन्धान गरेको सीआईबीले जनाएको छ । सीआईबीको अनुसन्धानमा रेडी ट्रेडबाट मात्र ३०२।६२ किलो सुन भन्सार छलेर भित्र्याइएको देखिएको छ । जसको बजार मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबर हुन्छ ।

तस्करहरुले ब्रेक शु सहित बिभिन्न इलेक्ट्रिक सामानहरुमा आएको सुन टोखा र लाजिम्पाटमा रहेको फ्याक्ट्रिमा पगाल्ने गरिएको थियो । उक्त फ्याक्ट्रिबाट १० ओटा सुन गाल्ने मेसिन समेत बरामद गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation

भर्खरै