नेभिगेशन
सबै कुरा

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु । दशैँका घमाइला दिन, जताततै रमाइलो । दशैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उनी फूलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिएका छन् । उमेरले २४ वर्षमात्रै पुगेका राईलाई दशैँले भन्दा बढी जिम्मेवारीले थिचेको छ । त्यसैले होला फूलपातीका दिन सबैजना घर फर्किँदा उनी भने घर छोडेर भारीको खोजीमा उकालो चढेका छन् ।

Ncell
Extreme Energy

‘हामीलाई के दशैँ, के तिहार १ सधैँ यस्तै हो, हाल खुम्बुमा पर्यटकीय सिजन छ, साथीहरूले विदेशी लिएर आएका छन् रे, त्यसैले भारी बोक्न हिँडेको’, लामो सुस्केरा हाल्दै राईले भने,’काम नगरी हुँदैन । घरमा आमा बुवा, भाइबहिनी पाल्नै र्‍यो, यतिबेला दशैँ मनाउन भनेर बस्यो भने घर कसरी चल्छ ? अब खुम्बुमै भारी बोक्दै दशैँ मनाउने हो ।’

जिल्लाका तल्लो भेगका अधिकांश युवा यति बेला काम खोज्दै खुम्बु पुगेका छन् । अन्य समयमा अध्ययनमा व्यस्त हुने विद्यार्थीहरूसमेत दशैँ बिदाको मौकामा पर्यटकको भारी बोक्न लुक्ला पुग्ने गरेका छन् । उनीहरूले भारी बोकेर दैनिक दुई हजारसम्म कमाउने गरेको लुक्लाका पर्यटन व्यवसायी अमृत मगरले बताए ।

सल्लेरीमा बसेर क्याम्पस पढ्दै गरेका माप्यदुधकोशीका रमेश विक बिदाको समयमा अहिले नाम्चे पुगेका छन् । अन्य समयमा कलेज जानुपर्ने भएकाले दशैँ, तिहारको बिदामा पर्यटकको भरियाका लागि खुम्बु आएको विकले बताए ।

उनी भन्छन्, ‘पढाइ खर्च जोहो गर्ने सिजन नै यही हो, विदेशीको भारी बोक्दा भएको आम्दानीले पढाइ खर्च चलाउने गरेको छु ।’

दशैँ मनाउन अन्य क्षेत्रमा घर फर्कनेको लर्को लागिरहँदा खुम्बु क्षेत्रमा भने भरियाको चहलपहलले दशैँ नै बिर्साउने गरेको छ ।

भारी बोकेर उकालो चढ्दै गरेका गोराखानीका प्रदीप मगरले भने,’हामीलाई दशैँको कुनै वास्ता छैन् । यही बेला काम नगरेर बाँकी समयको गर्जो टार्न सकिँदैन । हरेक वर्ष खुम्बुमा पर्यटकको आवागमन हुने भएकाले बर्सेनि यसैगरी यहाँ आउने गरेको छु । दशैँ नमनाएको पनि पाँच/वर्ष नै भयो । विदेशीहरू यही बेला आउँछन्, विदेशी डुलाउनु पर्छ । कसरी दशैँ मनाउनु त !’

संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुखुम्बुको खुम्बुक्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएको छ । त्यसैले पर्यटन व्यवसायीहरू पनि दशैँतिहार जस्ता चाडपर्वलाई छोडर ट्रेकिङमा जाने गरेका छन् । खुम्बुमा हाल दैनिक तीन सय जनासम्म विदेशी पर्यटक भित्रिने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्याङ्क छ ।

त्यसैले पर्यटन व्यवसायमा लागेका युवाहरूमा चाडपर्वको सट्टा पर्यटक आवगमनले थप उत्साह भर्ने गरेको लुक्लाका अमृत मगर बताउँछन् ।

‘वर्षदिनमा मनाइने दशैँ जस्ता महत्वपूर्ण चाडपर्व सबैको लागि विशेष नै हुन्छन् तर चाडपर्वमा रमाउने कार्यले मात्रै घरपरिवार धान्न सकिँदैन । त्यसैले साथीसँगी मिलेर विदेशीलाई खुसी पार्न यहाँ आउँछौँ । उहाँहरूको खुसीमा आफ्नो खुसी बिर्साउनुपर्छ’, उनले भने ।

पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन् । भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन सुरु भएसँगै युवाहरू चाडपर्व नभनी व्यवसायमै व्यस्त छन् । खुम्बुमा वर्षको दुईपटक पर्यटकयाम हुन्छ । पहिलो फागुन, चैत, वैशाख र असोज, अर्को कार्तिक र मंसिर । त्यसैले यसपटक पनि खुम्बु क्षेत्र हाल स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ छ ।

सगरमाथासहितका हिमश्रृङ्खला अवलोकनका लागि आएका पर्यटकहरूले खुम्बु भरिएसँगै पर्यटकको भारी बोक्ने तथा पथप्रदर्शकका लागि युवाहरूसमेत यहाँ आउने गरेको सेर्कासिङका पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए ।

‘यहाँ वर्षको करिब छ महिना मात्रै पर्यटक सिजन चल्ने भएकाले दशैँको भन्दा व्यवसाय चलाउने चटारो हुन्छ, यही व्यवसायबाट घर खर्चदेखि सबै गुजरा चलाउनुपर्ने भएकाले मन हुँदाहुँदै पनि चाडपर्वमा घर बस्न पाउँदैनौँ’, उनी सुनाउँछन् ।

करिब दुई दशकदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका दर्नालले हरेक वर्ष यसरी नै बित्ने गरेको बताए । ट्रेकिङ कम्पनीहरूले अन्य समयमा घर पठाउने र यस सिजनमा बोलाउने भएकाले चाडपर्वलाई थाँती राखेर व्यवसायमा हिँड्नुपरेको उनको भनाइ छ ।

हाल लुक्लामा दैनिक दुई सयभन्दा बढी हवाइ उडान हुने गरेको र दैनिक एक हजार बढी पर्यटकहरू हवाइमार्गबाट खुम्बु भित्रिरहेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीले बताए ।

पर्यटकको चाप बढेसँगै खुम्बुका होटल तथा लजहरू भरिभराउ भएका छन् । जसकारण व्यवसायीहरूमा पनि निकै व्यस्तता बढेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए ।

‘अन्य समयमा खाली हुने होटलहरू यतिबेला खचाखट भरिएका छन् । बास पाउन मुस्किल छ’, उनले भने ।

पर्यटकको आागमन बढ्दा यहाँका कर्मचारीलाई पनि निकै चटारो छ । लुक्लास्थित गाउँपालिकाको जाँचकेन्द्र तथा जोरसल्लेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोइन्टका कर्मचारीहरूमा पनि व्यस्त छन् ।

निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले पर्यटकको आगमन बढ्दा कर्मचारीले पनि दशैँ मनाउन पालो लगाएर जानुपरिरहेको बताए ।

उनले भने, ‘थोरै कर्मचारीले धेरै पर्यटकहरूको तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरण गर्नुपर्ने भएकाले सबैले घर जान पाउँदैनौँ । के गर्नु काम गर्नैपर्छ । यसैमा रमाइरहेका छौँ ।’

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ई-पासपोर्ट छपाई खरिद ठेक्का अनियमितता प्रकरणमा प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप नभएको प्रष्टीकरण दिएका छन् ।
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ आयोजनाहरुको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...

भर्खरै